सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालले नै सञ्चालन गर्नेगरी एक महिनाभित्र धनगढीमा ५० शैयाको कोरोना उपचार भवन बनाउन शुरु गरेको छ ।
प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा कोरोनाका बिमारीसँगै अन्यको उपचारमा समस्या हुने भएपछि पछिल्लो सातादेखि विकल्पहरु अपनाउन थालेको थियो । जस अन्तर्गत कोरोनाका विरामीको उपचारकै लागि जिल्ला समन्वय समितिको जमिनमा छुट्टै भवन निर्माणको काम शुरु गरेको हो।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट बजेटको अख्तियारी दिएर एक महिनाभित्रै भवन तयार हुने गरी काम भैरहेको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।
उनले भने ‘कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि एक÷एक करोड जतिको बजेटमा कोरोनाकै लागि छुट्टै अस्पताल भवनको निर्माण शुरु भएको छ।’
धनगढीमा सेती प्रादेशिक अस्पतालले र महेन्द्रनगरमा महाकाली अस्पतालले नै कोरोना विशेष अस्पताल भवन सञ्चालन गर्ने उनले बताए। महेन्द्रनगरमा पनि ५० शैयाको कोरोना विशेष अस्पतालको निर्माण प्रकृया अघि बढिसकेको छ।
आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा बन्ने प्रिफ्याब भवनको स्थलगत निरीक्षण गर्दै यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए।
यस्तै सरकारले कोरोना भाइरस रोगको उपचार, नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिकार्य, उद्धार, समन्वय र सहजीकरण गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा रहने गरी निःशुल्क हटलाइन नं. ११४८ संचालनमा ल्याएको छ ।