ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारको नीतिविपरीत लकडाउनका बेला प्रदेश नम्बर ५ का विभिन्न जिल्लाका मानिसलाई घर पठाएका छन्।
सिन्धुपाल्चोक, दोलखा, काभ्रेलगायत जिल्लाका इँटाभटामा मजदुरी गर्दै आएका श्रमिकलाई मन्त्री पुनको अगुवाइमा आइतबार साँझ घर पठाइएको हो।
प्रदेश नम्बर ५ का रोल्पा, सल्यान, दाङलगायत जिल्ला घर भएका करिब तीन सय जनालाई आ-आफ्नो घर पठाइएको हो।
श्रमिकहरूलाई घर पठाउनुअघि मन्त्री पुनले केही बोलेका थिए। भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको मेहनतले यो सम्भव भएको पनि बताए। मन्त्री पुनले बसका चालकहरूलाई सकुशल यात्रुलाई घर पुर्याउन पनि आग्रह गरेका थिए।
‘म सबैसँग सम्पर्कमै थिएँ। सरकारले लकडाउन कडा गर्ने नीति लिएको थियो। जो जहाँ छ त्यहीँ नै व्यवस्था गर्ने भन्ने थियो। अहिले असाध्यै अप्ठेरो भएपछि, यहाँ काम पनि गर्न नसक्ने, बस्नै नसक्नेहरू साथीहरूलाई पठाइराखेका छौं,’ मन्त्री पुनले भने।
मन्त्री पुनले अप्ठेरोमा परेका साथीहरूलाई उद्धार गर्ने नीति सरकारकै भएको पनि बताए।
‘सकेसम्म आफ्नै ठाउँमा बस्ने नीति हो। तर अप्ठेरो परेकालाई उद्धार गर्ने हो,’ मन्त्री पुनले भने।
मन्त्री पुनले नौ वटा सार्वजनिक बस रिजर्भ गरेर ती श्रमिकलाई घर पठाएका हुन्। विभिन्न जिल्लाबाट हिँडेर भक्तपुर जगाती आइपुगेका उनीहरूलाई घर पठाइएको हो।
भक्तपुरका विभिन्न इँटाभटामा काम गर्दै आएका मजदुरलाई दुइटा बस, ललितपुरमा काम गर्ने मजदुरलाई एउटा बस र दोलखा, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाबाट आएकालाई छ वटा बसमा राखेर घर पठाइएको हो।
करिब एक महिना लकडाउन हुँदा उनीहरूले रोजगारी गुमाएका थिए। दैनिक छाक टार्न नै समस्या भइरहेका उनीहरूलाई घर पठाइएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ। हिँडेरै घर जान लागेका मजदुरहरूलाई गाडीमा राखेर घर पठाइएको हो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार सरकारले भनेजस्तो जहाँ श्रमिकहरू आइपुगेका छन् त्यहाँ राख्न सम्भव छैन।
‘तीन/चार सय जना मानिसलाई हामीले कहाँ, कसरी राख्ने?,’ प्रशासन कार्यालय स्रोतले सेतोपाटीसँग भन्यो, ‘खाना, बास, शौचालय, पानीको व्यवस्थापन गर्न सकिँदैन।’
सोमबार दिउँसोसम्म विभिन्न जिल्लाबाट तीन सय जना मानिस हिँडेर भक्तपुर आइपुगेको पनि कार्यालयले जनाएको छ।
‘हिँडेर मानिसहरू आउने क्रम रोकिएको छैन। अहिलेसम्म तीन सय जना पुगिसके। अब बेलुकीपख गाडीमा राखेर उनीहरूलाई घर पुर्याइन्छ। यहाँ राख्न सम्भव छैन। यति ठूलो संख्यामा मानिसहरू राख्दा व्यवस्थापन गर्न नसक्दा झन् रोग फैलिन सक्छ।’