भरतपुर कोरोना (कोभिड १९) प्रयोगशालामा पिसिआर परीक्षण गर्ने रिएजेन्ट सकिएपछि आजबाट काम रोकिएको छ। यहाँ दैनिक ३५ देखि ४० जनाको पिसिआर परीक्षण हुँदै आएको थियो।
भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार एक सातादेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग रिएजेन्ट सकिन लागेकाले माग गरिएको भएपनि प्राप्त हुन नसकेपछि आजबाट काम रोकिएको हो। रिएजेन्ट मागेर तीन पत्र पठाइएको छ।
हेटौंडास्थित प्रदेश कार्यालयको प्रयोगशालाबाट रिएजेन्ट ल्याउन कर्मचारी पठाइएकोमा त्यहाँ पनि आइतबार बाँकी नमुनालाई पुग्ने मात्र ल्याइएको तिवारीले बताए। परीक्षण हुन बाँकी आठ नमुनालाई मात्र हेटौडाबाट रिएजेन्ट ल्याइएको उनले बताए।
परीक्षणका लागि आज भरतपुर कोरोना अस्पतालमा मात्र २० जनाको नमूना सङ्कलन गरिएको छ रिएजेन्ट उपलव्ध नभएपछि अन्य अस्पतालबाट नमुना सङ्कलन नगरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। आज र भोलि थप हुने नमूना परीक्षणका लागि काठमाडौं पठाइने छ।
नमुना सङ्कलन गरिएकालाई नतिजा नआएसम्म सम्बन्धित अस्पतालमा राख्ने गरिन्छ। र्यापिड डाइग्नोष्टिक टेष्ट भइरहेको छ। त्यसमा पोजेटिभ आउनेलाई पनि पिसिआर गर्ने गरिएको छ।
चैत २१ गतेबाट शुरु भएको यस प्रयोगशालामा मन्त्रालयले ४ सय नमूना परिक्षण गर्ने गरी रिएजेन्ट पठाएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहोनीले रिएजेन्ट अभाव भएको बताए। थप आउनका लागि १/२ दिन लाग्ने बताइएको छ।
जिल्लामा दुइ जनामा कोरोना पोजेटिभ देखिएको छ। बाहिरबाट आएका झण्डै ७ सय रहेका छन्। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले हालसम्म ६ सय बढीको परीक्षण भइसकेको बताए।
त्यसमध्ये तीनजनामा पोजेटिभ देखिएकोमा एक जनामा पुनः पिसिआर परीक्षणमा पनि पोजेटिभ देखिएको छ। एक जनाको नेगेटिभ देखिएको छ। अर्का एक जनाको नतिजा आउन बाँकी छ।