सरकारले कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण दायरा बढाएपनि स्वाब राख्ने भाँडो सकिएपछि अब परीक्षण प्रभावित हुने भएको छ।
सोमबारमात्र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब राख्ने भाँडो 'भिटिएम' नभएपछि तीन जना कोरोना शंकास्पद व्यक्तिलाई अस्पतालले परीक्षण नै नगरी घर पठाइदिएको छ।
धरानकै बासिन्दा रहेका उनीहरूलाई स्वाब राख्ने भाँडो आएपछि परीक्षणका लागि बोलाइने भन्दै अस्पतालले घर पठाएको हो।
अस्पतालले स्वाब राख्ने भाँडो प्रदेशमा माग गरिए पनि प्रदेशमै पनि सकिएको जनाएको छ।
'हामीले विराटनगरमा पनि फोन गर्यौं। उहाँहरूले पनि छैन भन्नुभयो। भिटिएम नभएकाले उहाँहरूले पनि केही बिरामीलाई फर्काउनुभएछ,' अस्पताल स्रोतले सेतोपाटीसँग भन्यो।
धरानमा दुई चरण गरेर ९९ वटा भिटिएम पठाइएकोमा आजबाट सबै सकिएको छ। भिटिएम नआए भोलिबाट अस्पतालमा कोरोनाको पिसिआर परीक्षण रोकिनेछ। अस्पतालमा दैनिक १० देखि १५ जना कोरोना परीक्षण गर्ने बिरामी आउने गरेका छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले केन्द्रमै भिटिएम अभाव रहेको बताएका छन्। उनले ४ सयमात्र भिटिएम रहेको भन्दै त्यसको छिट्टै व्यवस्था गरिने जनाए।
'हामी एक-दुई दिनमै भिटिएमको व्यवस्था गर्छौं। परीक्षण रोकिने स्थिति आउँदैन,' श्रेष्ठले भने, 'बुधबारसम्म तिब्बत सरकारले सहयोग गरेको सामग्री पनि आइपुग्छ।'
उनले निजी कम्पनीको स्वास्थ्य सामग्री लिन भोलि जहाज सिंगापुर जाने भन्दै त्यहाँबाट पनि भिटिएम आउने बताए।
सरकारले दैनिक गर्ने पिसिआर परीक्षणको दरलाई हेर्दा अहिले स्टकमा रहेको भिटिएमले भोलिसम्मलाई मात्र थेग्छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ३ सय २४ जनाको पिसिआर परीक्षण गरिएको छ।
चितवनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा पनि भिटिएम सकिएको छ। त्यहाँ भने भोलि नै केही भिटिएम पठाइने महानिर्देशक श्रेष्ठले जनाए।
सरकारले चीनबाट १० हजार वटा स्वाब राख्ने भाँडो 'भिटिएम' ल्याएको थियो। सोमबारसम्म देशभर झन्डै साढे ८ हजारको पिसिआर परीक्षण गरिएको छ।