नेपाली सेनाले चीनबाट सवा २ अर्ब रुपैयाँ बढी (एक करोड ८४ लाख ४१ हजार ७ सय ६ डलर)मा मेडिकल सामग्री ल्याउन सम्झौता गरेको छ।
सेनाले जि-टु-जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो। सोही सम्झौता अनुरूप चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने मंगलबार सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भिडिओ कन्फरेन्समार्फत् जानकारी दिए।
स्वास्थ्य सामग्री खरिदका लागि आइतबार सेनाले अन्तिम सम्झौता गरेको थियो।
सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए।
३ सय ४२ टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ।
सेनाले हवाई र स्थलमार्ग दुवैबाट स्वास्थ्य सामग्री ल्याउने तयारी गरेको छ।
स्थल मार्गबाट ल्याउनका लागि ढुवानी गर्ने एजेन्टको खोजी भइरहेको सैनिक प्रवक्ता पाण्डेले बताए।
'एउटा वाइड बढीले बढीमा २० टनसम्म सामान बोक्न सक्छ। त्यसैले सुरूको दुई टिप हामी जहाजबाटै ल्याउँछौं,'उनले भने,'अरू सामग्री स्थल मार्गबाट ल्याउने योजना छ। तर औषधिको आवश्यकता बढी भयो भने जहाजबाटै पनि ल्याउनुपर्छ।'
स्थलमार्गबाट सामग्री आइपुग्न झण्डै १० दिन लाग्ने उनले बताए।
स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाली सेनाले चिनियाँ सरकारको लगानी रहेको सिनो फर्मासँग सम्झौता गरिएको छ।
चीनबाट ल्याइएको स्वास्थ्य सामग्री गुणस्तर भए/नभएको परीक्षण गर्नका लागि ग्वान्जाओमा टोली जान सक्ने भन्दै सैनिक प्रवक्ता पाण्डेले नेपालमा आएर समेत गुणस्तर नाप्न सकिने र गुणस्तरहीन भएमा ४ दिनभित्र फिर्ता गर्न सकिने गरी सम्झौता गरिएको बताए।
पहिलो चरणमा पिपिई,पिसिआर रिज्वाइन किट्स,मास्क लगायतका सामाग्री मगाइने सेनाले जनाएको छ।
अहिलेसम्म भेन्टिलेटरका लागि भने सेनाले सम्झौता गर्न सकेको छैन। यद्यपी चीनलाई यसतर्फ ध्यान दिन आग्रह गरिएको पाण्डेले जानकारी दिए।
सेनाले भारतसँग पनि ५३ प्रकारका स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ।
भारतले दिने सामग्री भारतस्थित नेपाली दूतावासमा जम्मा गर्ने जानकारी सेनाले गराएको छ।
'हामीले भारतसँग स्वास्थ्य सामग्रीको भुक्तानी कसरी गर्ने कुन प्रक्रियाबाट गर्ने भनेर भनेका छौं। तर भारतले आफूले दिने स्वास्थ्य सामग्रीका आधारमा मूल्य तय हुने जानकारी गराएको छ,'उनले भने,'चीन सरकारले स्वास्थ्य सामग्री पठाउनुभन्दा पहिला रकम भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो त्यही भएर पैसा पहिला पठायौं। भारतले तत्कालै मागेको छैन माग्नसाथ पठाइन्छ।'
स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी पाएपछि नेपाली सेनाले चीन,भारत,दक्षिण कोरिया,सिंगापुर र इजरायललाई पत्राचार गरेको थियो।
दक्षिण कोरियाले केही कम्पनीहरूको नाम पठाए पनि सिंगापुर र इजरायलले कुनै जवाफ नपठाएको सेनाले जनाएको छ।