लकडाउनका कारण फेदीखोलाका किसान मर्कामा परे। उनीहरूको उपज विक्री भएन। उपभोक्ताले किन्न पाएनन्। फेदीखोला गाउँपालिकाले यो समस्या समाधान गर्न ‘कृषि एम्बुलेनस’ सञ्चालनमा ल्यायो। कृषि एम्बुलेन्सले किसानको खेतबारीमा पुगेर तरकारी उठायो, व्यापारी, उपभोक्ताको घरमा लगेर विक्री वितरणको व्यवस्था मिलायो।
गाउँपालिकाले यो काम चैत १९ देखि थालेको थियो। अहिलेसम्म ३२ जना किसानको १ लाख ५० हजार रकमको कृषि उत्पादन बजार लगेर बेचेको गाउँपालिकाका कृषि प्राविधिक शिशिर पण्डितले बताए।
उनका अनुसार २२ केजी पनिर, २६० मुठा तोरीको साग, ३०० केजी काउली, ५१ केजी गोलभेंडा, १२७ केजी फर्सी, १७४ मुठा रायो साग, ४०० केजी बन्दा, २ केजी बेथे साग र १२० केजी बकुल्ला किसानको खेतबारीबाट कृषि एम्बुलेन्सले विक्री गरेको गर्यो। जसको मूल्य किसानले पाइसकेका छन्।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाभित्र चार हजार उपभोक्ता माझ किसानको उपज पुर्याएको बताए।
‘किसानले आफूसँग भएको उत्पादन हामीलाई जानकारी गराउँछन्’, उनले भने, ‘गाउँपालिकाले कृषि एम्बुलेन्समार्फत् किसानको उपज उठाउँछ।’
बिरामीलाई एम्बुलेन्स जस्तै तरकारी पनि नरोकियोस् भनेर यस्तो व्यवस्था गरेको उनले बताए।
बजारमा तरकारी अभाव भइरहेको बेला गाउँपालिकाभित्रकै पसलमा किसानसँग लिएकै मूल्यमा विक्री गर्न व्यापारीलाई भनेको उनले सुनाए। नबिकेको तरकारी कृषि एम्बुलेन्समार्फत् पोखरा पठाएको समेत उनको भनाइ छ।
फेदीखोला गाउँपालिकाले जेठ-असारमा मात्र वितरण गर्ने सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिसकेको छ। लकडाउनका बेला वितरण गर्दा जेष्ठ नागरिक र लक्षित वर्गलाई राहत महशुस होस् भनेर वैशाख पहिलो साता नै वितरण गरिसकेको अध्यक्ष सुवेदीले बताए।
गाउँपालिकामा रहेका २ हजार १ सय ३५ जना सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई तेस्रो चौमासिकको भत्ता बापत ९९ लाख ६४ हजार ८ सय रुपैयाँ वितरण गरेको उनले बताए।
फेदीखोला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने २ सय ४५ जना दलित जेष्ठ नागरिक र बालबालिका रहेका छन् भने १ हजार १ सय ३ जना अन्य जेष्ठ नागरिक, ४ सय ७२ जना एकल महिला रहेका छन्।
यस्तै, ६५ जना आंशिक र ४१ जना पूर्ण अपांगता भएका नागरिकले पनि भत्ता बुझिसकेका छन्।
भत्ता वितरण गर्न जनप्रतिनिधि, बैंकका कर्मचारी र महानगरका कर्मचारी खटिएका थिए। उनीहरूले मोबाइल बैंकिङको माध्यमबाट टोल– टोलमा पुगेर भत्ता वितरण गरेको अध्यक्ष सुवेदीले बताए।
‘सामाजिक सुरक्षा भत्ता राज्यले लक्षित वर्गलाई सहुलियत होस् भनेर दिएको हो, भिक्षा मागेर दिएको होइन’, अध्यक्ष सुवेदीले भने, ‘यही गाह्रो परेको बेला दियो भने राहत पनि हुन्छ भनेर हामीले छिट्टै वितरण गर्यौं।’
लकडाउनको मर्कामा परेका नागरिकको अर्को समूह हो, दीर्घरोग।
उनीहरूको समस्या पनि फेदीखोला गाउँपालिकाले सम्बोधन गरेको छ। लकडाउनका कारण यातायात अवरूद्ध भएकाले औषधि लिन जान नसक्ने र बिरामी उपचारमा जान नसक्नेलाई राहत दिन गाउँपालिकाले छुट्टै समिति बनायो।
गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी गणेश गौतम, कर्मचारी सुजन पोख्रेल र औषधि व्यवसायी भरत गौतम सम्मिलित समितिले गाउँपालिकामा रहेका ७ सय ६८ जनालाई घरघरै औषधि पुर्याएको गाउँपालिकाका स्वास्थ्यकर्मी गौतमले बताए।
उनका अनुसार १ वर्षदेखि ४० वर्षसम्मका ५८ जना, ४० देखि ६० वर्षका ३ सय ५४ जना र ६० वर्ष माथिका ३ सय ६४ जनाले यसरी घरमै औषधि पाए। यसरी औषधि नियमित सेवन गर्नेहरूमा धेरैजसो प्रेसर, सुगर, थाइराइड, मानसिक रोग जस्ता दीर्घरोगको औषधि सेवन गरेको पाइएको गौतमले जानकारी दिए।
यही मेसोमा गाउँपालिकाभित्र भएका दीर्घ रोगीको तथ्यांक संकलन र पहिचान समेत गरेको छ। उनीहरूको तथ्यांक गाउँपालिकाले बनाएको सफ्टवयरमा इन्ट्री गरेर राख्ने गौतमले बताए।
‘औषधि व्यवस्थापन गर्न र वितरण गर्ने काम निकै जटिल रहेछ’, गौतमले भने, किड्नी ट्रान्सप्लान्टको औषधि नपाएर पोखराका मेडिकल पसल र अस्पतालमा भौतारिनुपर्यो।’
पोखरामा गएर औषधि ल्याउनु पर्ने भए पनि लकडाउनमा गाउँपालिकाले नै औषधि ल्याइदिएको फेदीखोला २ का मिनेन्द्र नेपालीले बताए।
गाउँपालिकाले नियमित उपचारका लागि बिरामीलाई सवारीको व्यवस्था समेत मिलाइदिएको छ। पोखरामा उपचार हुन नसक्ने ३ जना बिरामीलाई काठमाडौं पठाएको औषधि व्यवस्थापन समितिका सदस्य भरत गौतमले बताए।
गाउँपालिकाले घरमै बसेर खाद्यान्नको सामग्री अर्डर गर्ने र यसरी अर्डर गरेको सामग्री नजिकको पसलबाट उपलब्ध हुने व्यवस्था पनि मिलाएको छ। बजार बन्द भएको अवस्थामा खाद्यान्नको अभाव हुन नदिन यस्तो व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष सुवेदीले बताए।
खाद्यान्न वितरण प्रभावकारी बनाउन गाउँपालिकाले अनलाइन खाद्यान्न व्यवस्थापन प्रणालीबाट खाद्यान्नको व्यवस्था मिलाएको छ।
‘पालिकाका सबै वडामा इन्टरनेट सेवा उपलब्ध गराएकाले पनि यो योजना प्रभावकारी भएको सुवेदीको भनाइ छ।
उनका अनुसार, आवश्यक खाद्य सामग्री अर्डर गर्न गाउँपालिकावासीले अनलाइन फर्ममा आफ्नो नाम, वडा, सम्पर्क नम्बर लेख्नुपर्छ। गाउँपालिकाको सूचना प्रविधि शाखाले आवश्यक डाटा इन्ट्री गरिसकेपछि आफूलाई पायक पर्ने पसल छान्नुपर्ने र आफूलाई आवश्यक खाद्यान्न र मात्रा इन्ट्री गर्नुपर्ने सूचना प्रविधि अधिकृत दीपक ओझाले बताए।
उनका अनुसार खाद्यान्नको अर्डर हेर्न सबै वडाको युजर लगइन खाता बनाइएको छ। अर्डर हेरेर सम्बन्धित पसलमा सिफारिस गर्ने गरेको ओझाले बताए। खाद्यान्न पसलमा लाग्ने भीड हटाउन पनि अनलाइन अर्डर प्रभावकारी भएको उनले बताए।
गाउँपालिकाले खाद्यान्न खरिद– विक्री प्रणाली व्यवस्थित गर्न पाँच वटै वडामा गरी २७ वटा पसल तोकेको छ। बजारमा कृत्रिम अभाव र कालोबजारी रोक्नका लागि गाउँपालिकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ। समितिले नियमित रूपमा अनुगमन गर्ने गरेको शर्माले जानकारी दिए।
गाउँपालिका भित्रका किसानको उब्जनी पनि सकेसम्म यिनै पसलबाट विक्री वितरणको व्यवस्था मिलाएको उनले जानकारी दिए।
पोखराबाट जाँदा स्याङ्जाको प्रवेशद्वारमै पर्ने फेदीखोला गाउँपालिकाले प्रवेशद्वार कुभिण्डेमा लकडाउन ‘हेल्थ डेस्क’ स्थापना गरेको छ। यो नाकाबाट हालसम्म स्याङ्जा जाने ३६ हजार ८०० जनाको स्वास्थ्य परीक्षण गरिसकेको छ। गाउँमा स्यानिटाइजरको माग बढेपछि ५३ लिटर स्यानिटाइजर बनाएर वितरण गरेको छ।
यस्तै, गाउँपालिकाले बनाएको क्वारेन्टाइनका लागि ५० लिटर ‘डिसइन्फेक्सन स्प्रे’ उत्पादन गरेर छर्किएको अध्यक्ष सुवेदीले बताए।
उनका अनुसार, गाउँपालिकाले बनाएको ५० बेडको क्वारेन्टाइनमा बाहिरबाट आएका ११ जनालाई क्वारेन्टाइनमा राखेर १७ दिनपछि घर पठाएको छ।
उनीहरूलाई क्वारेन्टाइनमा बस्दा खानको व्यवस्था समेत गाउँपालिकाले मिलाइदिएको छ। बाहिरबाट आएपछि गाउँपालिकाको क्वारेन्टाइनमा बसी दिएर ‘सामाजिक उत्तरदायित्व’ पूरा गरेको भन्दै गाउँपालिकाले १/१ हजार रुपैयाँ प्रोत्साहन भत्ता समेत दिएको अध्यक्ष सुवेदीले बताए।
‘कोही पनि फेदीखोला गाउँपालिका आएर नलुकोस् भनेर प्रोत्साहन भत्ता दिएका हौं’, उनले सेतोपाटीलाई भने,‘ बाहिरबाट आएका र कोरोना संक्रमणको सम्भावित सबैलाई खान बस्न र भत्ताको व्यवस्था गरेका छौं।’
गाउँपालिकामा यस अवधिमा भित्रिएका ३६ जनाबाहेक बाँकीलाई भने घरमै क्वारेन्टाइनमा राखिएको बताइएको छ। उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा नियमित ‘फलो अप’ गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । गाउँपालिकाले शंकास्पद १५ जनाको पिसिआर र ३७ जनाको एन्टीबडी परिक्षण गरेको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका कर्मचारी गौतमले बताए ।
गाउँपालिकाले यही अवधिमा आरुखर्कको राम्चेदेवी आधारभूत विद्यालय र दामगाडे माविमा हेलिप्याड समेत बनाएको छ। गाउँपालिकाले नै हेल्थ डेक्स, क्वारेन्टाइन र स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था मिलाएको प्रशासकीय अधिकृत शर्माले बताए।
उनका अनुसार, गाउँपालिकाभित्र काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायतलाई ५० थान पिपिई, २ हजार थान मास्क र ९ वटा थर्मोगन जुटाएको छ। गाउँपालिकाका सुरक्षाकर्मी र निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई समेत पिपिई प्रदान गरेको उनले बताए।
गाउँपालिकाले नेपालकै विभिन्न जिल्ला र भारतबाट आएका १८० जना असंगठित मजदुरलाई राहत प्रदान गरेको छ। सर्वदलीय र सरोकारवालासँग छलफल गरेर गाउँपालिका भित्रका ३ सय ५२ परिवारलाई राहत प्रदान गरेको अध्यक्ष सुवेदीले बताए।
उनका अनुसार, गाउँपालिकाले पैदल यात्रामा रहेका २०० जना मजदूरलार्य स्याङ्जा प्रवेश नाकामा खाना बनाएर नि:शुल्क खुवाएको छ।
वडा तहका जनप्रतिनिधि, टोल सुधार समिति, शिक्षक, रेडक्रस र युवा क्लबलाई परिचालन गरेर कोरोना सचेतना अभियान र शौक्षिक अभियान समेत चलाएको अध्यक्ष सुवेदीले बताए।
सीमानामा चेकिङका लागि सुरक्षाकर्मीसँगै नेपाल स्काउट र स्वयंसेवी समेत परिचालित भएका छन्।
कोरोना भाइरस रोकथामका लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३० लाख रुपैयाँ र जिल्ला विपद व्यवस्थापन कोषमा ३ लाख रुपैयाँ जम्मा गरेको छ।
लकडाउनका बेला आइपर्ने समस्या समाधान गर्न गाउँपालिका अध्यक्षको संयोजकत्व र वडा तहमा वडा अध्यक्षको संयोजकत्वमा ‘क्विक रेस्पोन्स’ टोली समेत गठन भएका छन्।
यो टोली गठन गर्दा गाउँपालिकाले कार्यविधि समेत बनाएको छ।
यही कार्यविधि अनुसार काम गरेको भन्दै गाउँपालिका अध्यक्ष सुवेदीले थपे, ‘लकडाउनका कारण हाम्रा कोही पनि नागरिकले दु:ख नपाओस् भनेर काम गरिरहेका छौं।’
फेदीखोला गाउँपालिकाले गरेको अर्को काम हो, तथ्यांक संकलन।
गाउँपालिकाले ६ महिना अघि मात्र सकेको घरधुरी सर्वेक्षणले अहिले राहत प्रदान गर्न सजिलो भएको छ। अति विपन्न नागरिकलाई राहत दिन सर्वेक्षणले सघाएको उनले बताए।
राहत लगायतका निर्णय गर्दा गाउँपालिका स्तर र वडा स्तरमा समेत स्थानीय राजनीतिक दल र टोल सुधार समितिका अध्यक्षसहितको बैठकले निर्णय गराएको सुवेदीले बताए।
‘हामीले यहाँका सबै दलसँग भिडियो कन्फरेन्सबाट पहिलो बैठक बस्यौं’, उनले भने, ‘सबै यहाँका राजनीतिक दलका साथीहरूसँग सल्लाह गरेर नै यी काम गरेका हौं।’
गाउँपालिकाले विदेशबाट फर्किएका र कोरोना रोकथामपश्चात फर्किने युवाको समेत अहिले तथ्यांक संकलन लिइरहेको छ। विदेशबाट फर्कने युवालाई सामूहिक कृषिमा लाग्न प्रोत्साहन दिने गाउँपालिकाले नीति लिएको उनले बताए।
गाउँपालिकाले कृषि बिउ र मलमा अनुदान लिने योजना समेत बनाएको छ। गाउँपालिकाले बनाएको ‘युवा रोजगारी बैंक’ मार्फत् विदेशबाट फर्कने युवालाई व्यवसायिक कृषिमा लाग्न सहयोग गर्ने योजना बनाएको छ।
यसरी समूहमा काम गर्दा समूहमा कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने प्रावधान राखेको छ। यस योजनामा कम्तीमा ५ लाख रुपैयाँ विना ब्याज र बिना धितो प्रदान गर्ने गरेको अध्यक्ष सुवेदीले बताए।
उक्त योजना अन्तर्गत १२ वटा कृषि समूहले अहिलेसम्म ६० लाख रुपैयाँ लगेका छन्।
आम्दानीका आधारमा ५ वर्षमा गाउँपालिकालाई उक्त रकम फिर्ता गर्ने र पालिकाले अर्को समूहमा लगानी गर्ने गरेको समेत सुवेदीले बताए।
‘कोरोना भाइरस रोकथाम गर्न अमेरिका, चीन, इटाली जस्ता विकसित देशलाई त हम्मे हम्मे परेको बेला हामीकहाँ आयो भने के गर्ने भनेर लागेको हुँ’, सुवेदीले सेतोपाटीलाई भने, ‘फागुन १९ गते कार्यपालिकाको बैठक बसेर समिति बनायौं र लागिपर्यौं।’
कोरोना सचेतनाका लागि फेदीखोला गाउँपालिकाका ४ वटा विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी लगायतको समूहले गाउँ/गाउँमा लघु नाटक प्रदर्शन गर्ने, पर्चा वितरण समेत गरेको उनले बताए।
गाउँपालिकाप्रतिको आफ्नो कर्तव्य मात्र पूरा गरेको बताएका अध्यक्ष सुवेदीले भने, ‘लकडाउन कहिलेसम्म हुन्छ थाहा छैन, हामी अरू बेला जस्तै कोरोनाबाट सचेत हुँदै अब नियमित काम पनि अघि बढाउँछौं।’