कञ्चनपुरको बेदकोट नगरपालिका १० का इन्द्र लुहारको जीवन धान्ने आधार बनेको छ, भारतको मजदुरी। दुई दशक भयो उनी भारतमै मजदुरी गर्न थालेको।
बेलामौकामा नेपाल आउने जाने उनी अधिकांश समय भारतमै काममा व्यस्त हुन्छन्। भारतमा लेबर काम गर्दै आएका उनले दैनिक ४ सय ५० भारु कमाउँदै आएका थिए।
जब काम गर्ने ठाउँमा लकडाउन भयो। काम रोकियो, खबर नगरी ठेकेदार गायब भए, इन्द्र पनि अलपत्र परे। महिना दिन काम नगरी बस्नुपर्ने भएपछि उनी नेपाल आउन खोजे।
‘काम गरेको पैसा पाइएन, आफूसँग थिएन, पैदल आउनुको विकल्प भएन’ इन्द्रले भने। साथीहरुसहित ११ जना हिँडेरै भएपनि घर आउन तयार भए।
चैत १२ गते चम्पावतबाट व्रमदेवसम्म दुई दिन हिँडेर सीमामा आइपुगे। उनीहरुलाई प्रहरीले सीमाबाटै ल्याएर सुन्दरपुरको क्वारेन्टिनमा राख्यो। उनी ७ दिन क्वारेन्टिनमा बस्दा खानबस्न राम्रो व्यवस्था थियो।
क्वारेन्टिनमा बसेको हप्तादिनमै उनलाई ज्वरो आयो, त्यसपछि धनगढी लगियो। सेती प्रादेशिक अस्पतालमा पुगेपछि बल्ल उनले थाहा पाए, कोरोना संक्रमण भएछ।
आज सीता खुसी छिन्, इन्द्र कोरोनालाई जितेर घर फर्किएका छन्। सीताले भनिन् ‘उहाँ बाँचेर आए जस्तो लागेको छ।’ अस्पतालको आइसोलेसेन वार्डमा १८ दिन बसेपछि स्वस्थ भएर घर फर्किन पाउँदा संसारका सारा खुसी जितेजस्तो अनुभव इन्द्रलाई छ।
तर फेरि लकडाउन खुलेपछि कामका लागि भारत जानुपर्ने बाध्यता रहेको उनी बताउँछन्। अलिकति पैसा जम्मा पारेर अब पक्की घर बनाउने उनको लक्ष्य छ।
भन्छन् ‘त्यसका लागि अवस्था सामान्य भएपछि फेरि काम गर्न भारत नै जानुपर्नेछ।’