'ज्यूँदाको जन्ती, मर्दाको मलामी' भन्ने उखानले विवाह र मृत्यु संस्कारमा सामाजिक सहभागिताको महत्व झल्काउँछ। तर, के कोरोना महामारी बेला यो महत्व कायम रहला?
अझ कसैको मृत्यु कोरोनाकै कारण भइदिए सामाजिक सहभागिताको संस्कार कसरी पूरा होला?
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने कोरोनाका कारण मृत्यु भएका मानिसको विधिवत् दाहसंस्कार हुन नपाएका समाचार इटाली लगायत देशबाट आइरहेका छन्। धेरै देशमा मृतकको शव खाल्डा खनेर सामूहिक रूपमा गाडिएका छन्। कतिपय देशमा परिवारलाई समेत छुन नदिई सुरक्षाकर्मीले नै शव व्यवस्थापन गरेका उदाहरण छन्।
नेपालमा समुदायअनुसार दाहसंस्कार विधि फरक छन्। ब्राह्मण-क्षत्री र जनजाति समुदायका आ–आफ्नै दाहसंस्कार परम्परा छ। श्रद्धाञ्जलि अर्पण गर्ने भिन्नाभिन्नै तरिका छन्। मृत्यु भएका मानिसका आफन्त, समाज (गुठी) का सदस्य भेला हुने, मुख हेर्ने, मलामी जाने, जलाउने वा गाड्ने र किरिया बस्ने विधि भने साझा छन्।
के कसैको कोरोनाका कारण मृत्यु भए यी विधि पूरा गर्न पाइन्छ त?
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र सेनाको टोलीले गत सोमबार मुख्यमन्त्री कार्यालयको प्रांगणमा कोरोनाका कारण मृत्यु भएको शव कसरी व्यवस्थापन गर्ने भनी पूर्वाभ्यास गरेको थियो। यस क्रममा एक जना सैनिकलाई कोरोना लागेर मृत्यु भएको शवका रूपमा बेडमा पल्टाइयो। त्यसपछि अस्पतालको बेडदेखि चितामा राख्दासम्म कुन विधि कसरी गर्ने भनी प्रदर्शन गरियो।
शव व्यवस्थापन क्रममा परिवार, स्वास्थ्यकर्मी र समुदायलाई सुरक्षित राख्न पूर्वाभ्यास गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताएका छन्।
उनका अनुसार, कोरोना लागेर मृत्यु भएका व्यक्तिको शव सबभन्दा पहिला अस्पतालमै स्यानिटाइज गरिएको सेतो पारदर्शी प्लास्टिकमा बेरिन्छ। नेपाली समाजमा मृतकको मुख हेर्ने चलन छ। यही चलनले सेतो पारदर्शी प्लास्टिक प्रयोग गरेको डा. शर्माले बताए।
त्यसपछि शवलाई पिपिई लगाएका स्वास्थ्यकर्मी लगायतको टोलीले शववाहन वा एम्बुलेन्समा राखेर घाट लगिन्छ। कोरोनाका कारण मृत्यु भए मलामी जान पाइँदैन।
घाटमा परिवारका सदस्य कसैलाई शव नजिक जान दिँइदैन। उनीहरूले तीन मिटर टाढाबाटै मृतकको मुख हेर्छन्। त्यसपछि दाहसंस्कार विधि अगाडि बढ्छ। दाहसंस्कार गर्दा पनि तीन मिटर दुरी कायम राख्नुपर्छ।
डा. शर्माका अनुसार, कोरोनाका कारण कसैको मृत्यु भए स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि दाहसंस्कार गर्ने ठाउँसम्म पुग्नुपर्ने व्यवस्था गरिएको छ। परिवारका सबै सदस्यलाई आउन दिइँदैन। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा तीन जना सदस्यलाई मात्र घाटमा लगेर दाहसंस्कार गराइन्छ।
ती तीन जनाले अनिवार्य रूपमा पिपिई लगाएको हुनुपर्छ। उनीहरूबाटै सुरक्षित रूपले दागबत्ती दिएर शव जलाउने वा गाड्ने विधि पूरा गराइन्छ।
दाहसंस्कार बेला बाहुन लगाउने वा आ–आफ्नो जातीय संस्कारअनुसार पुरेत लगाउने चलन छ। यस्ता बाहुन वा पुरेतलाई पनि शव नजिक जान दिइँदैन। उनीहरूले कम्तिमा शवबाट तीन मिटर टाढै बसेर मन्त्रोचरण र अन्य पूजा विधि सम्पन्न गर्नुपर्छ।
'मृतकलाई परिवारका सदस्यदेखि अरू कसैले शव छुन पाउँदैनन्,' डा. शर्माले भने, 'रोग नफैलियोस् भनेर उच्च सतर्कता अपनाउन दाहसंस्कार विधिमा हामीले संशोधन गर्नु जरूरी छ।'
पूर्वाभ्यास क्रममा शवलाई सेतो प्लास्टिकले बेर्ने, सवारी स्यानिटाइज गर्ने, समुदायलाई टाढै राखेर दाहसंस्कार गर्ने लगायत विधि प्रदर्शन गरिएको थियो।
नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण ४७ जना संक्रमित छन्। तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा छ। उदयपुर-३, भुल्केमा ११ जनामा कोरोना संक्रमण देखिएपछि नेपाल तेस्रो चरणमा गएको हो। कुनै संक्रमितको मृत्यु भए चौथो चरणमा प्रवेश गर्ने स्वास्थ्यकर्मीको भनाइ छ।