कोरोनाभाइरस संक्रमणका कारण धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचाररत् युवतीको रिपोर्ट नेगेटिभ आएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार गरिएको स्वाब परीक्षणमा उनको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले बताए।
उनका अनुसार, यसअघि ४ पटकसम्म ती युवतीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
‘अब भोलि पनि स्वाब लिएर टेष्ट गर्न पठाउँछौं,’ गुरौले सेतोपाटीलाई भने, ‘भोलिको रिपोर्ट पनि नेगेटिभ आयो भने डिस्जार्च गछौं ।’ उनका अनुसार कोरोना भाइरस निको हुनलाई कम्तीमा २ पटक कोरोना संक्रमितको स्वाब परीक्षण नतिजा नेगेटिभ आउनुपर्छ।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ती युवतीमा चैत १५ गते राष्ट्रिय जनस्वास्थ्य परिक्षण प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो।
कोरोना संक्रमण देखिएपछि चैत १५ गते साँझबाट नै उनी अञ्चल अस्पताल भर्ना भएकी थिइन्।
बेल्जियमबाट चैत ४ गते उनीसँगै बाग्लुङ पुगेकी अर्की वृद्धा भने यसअघि नै कोरोनालाई जितेर घर फर्किएकी छिन्। सोही फ्लाइटमा फ्रान्सबाट नेपाल आएकी काठमाडौंकी अर्की युवती पनि निको भइसकेकी छिन्।
अहिले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ छ। जसमध्ये ७ जना निको भइसकेका छन्।