राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी नेपालबीच एकतापछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुन समय लाग्ने भएको छ।
बिहीबार दल दर्ता गर्न राजपा र समाजवादीका शीर्ष नेता निर्वाचन आयोग पुगे पनि उनीहरूले आवश्यक कागजपत्रको जोहो गर्न सकेनन्।
दल दर्ता गर्ने निवेदन दिन बिहीबार १० बजे नै कान्तिपथस्थित आयोगको कार्यालयमा राजपा-समाजवादीका नेताहरू पुगेका थिए।
सांसदसमेत रहेका समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र राजपा प्रवक्ता केशव झाले पार्टी एकीकरण गर्ने सहमति पत्रसहित नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिए।
केहीबेरमा आयोगले दल दर्ताका लागि परेको निवेदन दर्ता गर्यो।
‘दल दर्ता गर्न निवेदन दियौं, आयोगले १३८८ नम्बरमा दर्ता गरेको छ,’ नेता राजेन्द्र महतोले पत्रकारहरूसँग भने।
महतोका अनुसार दल दर्ता गर्न आवश्यक काजगात लकडाउन खुलेपछि आयोगमा पेश गरिनेछ।
‘बाँकी प्रक्रिया लकडाउनपछि सुरू हुन्छ। आयोगले भनेअनुसार सबै दस्तावेज बुझाउँछौं,’ महतोले भने।
राजनीतिक दलसम्बन्धी नियमावलीमा दुई पार्टी एक हुँदा विभिन्न कागजात बुझाउनुपर्छ।
दलको विधान, नियमावली तथा घोषणापत्र, दलको झण्डा तथा चिन्ह (लोगो) को नमूना, साविकको दलका केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन समर्थन गरी हस्ताक्षर गरेको समर्थनपत्र र कम्तीमा एक्काइस सदस्य भएको केन्द्रीय समितिको व्यवस्था र आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात बुझाउनु पर्छ।
राजपा र समाजवादी पार्टीबीच हतारहतार बुधबार मध्यराति एकता गर्ने सहमति भएको थियो। तर दुबै पार्टीले केन्द्रीय समितिबाट एकता गर्ने निर्णय पारित गरेका छैनन्।
नेता महतोले राजपा र समाजवादी मिलेर देशमा नयाँ विकल्प दिएको बताए।
‘एकीकरण प्रक्रिया एक वर्षदेखि चलिआएको थियो, तर हिजो टुंग्याइयो,’ उनले भने।
पार्टी एकीकरणका लागि उपेन्द्र यादवलाई पहिले सरकार छाड्न आफूहरूले भनेको र सरकार छाड्न ढिलाइ हुँदा एकीकरण पनि ढिलो भएको उनले बताए।
सरकारले ल्याएका संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकतन्त्र कमजोर पार्ने महतोको भनाइ छ।
‘लोकतन्त्र कमजोर गर्ने, अस्थिरता निम्त्याउने, निरंकुशता लाद्न अध्यादेश ल्याइएको हो,’ महतोले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सी जोगाउन अध्यादेश ल्याएको महतोको आरोप छ।
‘आफ्नो कुर्सी बचाउन ल्याएको हो अध्यादेश,’ उनले थपे, ‘एकतावद्ध हुने बेला पार्टी फुटाउने कुरा किन गर्या?’
उनले पार्टीभित्र असन्तुष्टि नरहेको पनि दाबी गरे।
‘ढुक्क भएर बस्नू, कुनै फुट हुन्न,’ महतोले भने।
आयोग पुगेका अर्का नेता उपेन्द्र यादवले पनि प्रधानमन्त्रीको आलोचना गरे।
‘ओलीजीले राम्रो सपना देख्नू,’ उनले भने, ‘किन पार्टी फूटाउने कुरा गर्नुहुन्छ?’
सांसदहरू रेणु यादव, मोहम्मद इस्तियाक राईलगायत नेता असन्तुष्ट रहेकोबारे उनले भने, ‘उहाँहरू पार्टीकै काममा हुनुहुन्छ। सबैजना यहाँ (आयोग) किन आउनुपर्यो, जुलुस निकाल्नु पर्ने छैन।’
नयाँ बनेको पार्टीमा पदाधिकारी छिट्टै टुंग्याइने उनले बताए। ‘सबै कुरा टुंगिएर यहाँहरूसमक्ष छिटै आउँछ,’ यादवले भने।
अर्का नेता शरदसिंह भण्डारीले पार्टी एकता छिटो भएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए।
‘उहाँले फुटाउन कोशिस गर्नुभएको थियो। तर हामीले एकता गर्यौं,’ भण्डारीले भने।
लकडाउनपछि केन्द्रीय समिति बैठक बसेर आयोगमा आवश्यक पर्ने सबै कागजपत्र पेश गरिने उनले बताए।