बिहीबार भोजपुर हतुवागढीका २६ वर्षीय कोरोना संक्रमित युवकलाई विराटनगरको कोरोना अस्पतालमा पठाइने भएको छ।
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले युवकलाई अस्पताल पुर्याउन सदरमुकाम भोजपुरबाट एम्बुलेन्स हिँडिसकेको बताए।
'बिरामीलाई यहाँबाट दुधकोसी वारि चुहारमा पुर्याउँछौं। पारिबाट फेरि अर्को एम्बुलेन्सबाट विराटनगर पुर्याउने भन्ने कुरा छ,' उनले भने।
गाउँपालिकाले संक्रमित युवकको सम्पर्कमा आएकाको आजैदेखि परीक्षण गर्ने तयारी गरे पनि सामग्री अभावले गर्दा कठिनाइ भएको अध्यक्ष राईले बताए।
'स्वाब झिक्नलाई सामग्री नै छैन। जिल्लामा पनि छैन रे। त्यहीँ १५ वटा पठाउने भनेको छ' उनले भने, 'आज दिउँसो १५ जनाको परीक्षण गर्छौं। थप सामग्रीको लागि मुख्यमन्त्रीसँग पनि कुरा गरेका छौं।'
उनले आज संक्रमित परिवारका नौ जना सदस्य र नजिकका सम्पर्कमा आएका ६ जनाको परीक्षण गरिने बताए।
यसअघि परिवारका सदस्यको र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिएको थियो।
अध्यक्ष राईले र्यापिड टेस्टसँग भर नपर्ने भन्दै परिवारका सदस्यको पुनः पिसिआर परीक्षण गरिने बताए।
अहिलेसम्म युवकको सम्पर्कमा आएकाको संख्या ७५ पुगेको भन्दै उनले दुई सय बढी मानिसको परीक्षण गर्नुपर्ने जनाए।
गत फागुन १० गते साउदीबाट आएका संक्रमित युवक इटहरी, धरानस्थित नातेदारकोमा बस्दै श्रीमती र बच्चा भएको ठाउँ चतरा पुगेका थिए।
त्यसपछि पनि उनी उदयपुरको मैनामैनी ससूराली पुगे।
ससूरालीमा झन्डै एक साता बसेर उनी साथीसँग बाइकमा चैतको दोस्रो साता हतुवागढी घर पुगेको भन्ने खुलेको छ।
घर पुगेर पनि उनी भलिबल खेल्ने, साथीभाइसँग घुलमिल गरेको, मलामी गएको भन्ने छ।
संक्रमित युवक धेरै ठाउँमा घुलमिल भएको भन्दै अध्यक्ष राईले गाउँमा जोखिम बढेको बताए।
'हामी सम्पर्कमा आएकाहरूको थप विवरण लिने काम गरेका छौं। सामग्री आइपुग्न साथ सबैको परीक्षण गर्छौं,' उनले भने।