अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ३ गतेदेखि हराएका दुई नेपालीको शव फेला परेको छ।
काठमाडौंस्थित पिक गाइड नेपालमार्फत ४ जना कोरियाली पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका पर्यटक सहयोगी ५१ वर्षीय मेमबहादुर तामाङको शव फेला बुधबार फेला परेको हो।
उनी धादिङको गंगाजमुना गाउँपालिका-११ का बासिन्दा हुन् ।
बिहीबार उनको शव नेपाली सेनाको हेलिकप्टरले पोखरा ल्याएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि शव लगिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए। पोष्टमार्टम पश्चात मृतकका परिवारलाई पोखरामै शव बुझाउने उनले बताए।
स्थानीवासी, पर्यटक प्रहरी र नेपाल प्रहरीले गरेको खोजीमा उनको शव फेला परेको अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरूङले जानकारी दिए। उनका अनुसार खोजीका क्रममा ३ वटा झोलासमेत फेला परेका छन्। तामाङ र अर्का पर्यटक सहयोगी छिरिङ भोटे ९ जना पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका थिए।
जसमध्ये ५ जना कोरियनले हिमपहिरोबाट ज्यान जोगाउन सफल भएका थिए।
उक्त समूहका नेपाली पर्यटक सहयोगी छिरिङ अहिले पनि बेपत्ता छन्। उनीहरूसँगै बेपत्ता हुने कोरियाली पर्यटकहरूमा लि मिन सु, जोङपिल बोङ, किम सोक जा र चोइ जो वोन रहेका छन्।
सोही समूहसँगै हिमपहिरोमा परेका चिनियाँ पर्यटकका नेपाली गाइड सरोज नेपालीको भने यसअघि नै शव फेला परिसकेको छ। उनको गत चैतमा शव फेला परेको थियो।
अन्नपूर्ण आधार शिविर पदमार्गको हिँकु केभनजिकै अन्नपूर्ण दक्षिण हिमालबाट झरेको हिमपहिरो र आँधीमा परेर उनीहरू हराएका थिए। हिमपहिरोमा हराइरहेका पर्यटक तथा उनीहरूका सहयोगीको खोजी भइरहेको वडाध्यक्ष गुरूङले बताए।