त्रिभुवन विश्वविद्यालयले लकडाउन अवधिमा अनलाइन माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको छ।
कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र सरकारले लकडाउनको समयावधि बढाइरहेको अवस्थामा शिक्षण क्रियाकलापलाई जारी राख्न अनलाइनबाट कक्षा सञ्चालन गर्न लागिएको हो।
त्रिविका केही संकायमा यसअघि नै अनलाइन माध्यमबाट पठनपाठन भइरहेका छन्। त्रिविले विद्युतीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्चालन निर्देशिकासमेत बनाइसकेको छ।
त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकाले कक्षा सञ्चालनका लागि आवश्यक पूर्वतयारी, कक्षा सञ्चालनका चरण, आचारसंहिता र कारवाहीबारे आवश्यक व्यवस्था गरेको छ।
'कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल र क्याम्पसले गुणस्तरीय इन्टरनेट, ल्यापटप तथा कम्प्युटर/फोन, वैकल्पिक बिजुलीसमेतको व्यवस्था गर्न लगाउने' निर्देशिकामा भनिएको छ।
अनलाइन कक्षा प्रभावकारी बनाउन विज्ञ समूहको व्यवस्था गर्ने, विद्यार्थीसँग इन्टरनेट पहुँच/भए नभएको सर्भे गर्नेलगायत काम पूर्वतयारीमा राखिएको छ।
सम्बन्धित विभाग प्रमुखको निर्देशन र नियन्त्रणमा रहने गरी अनलाइन कक्षा सञ्चालनको व्यवस्थापन मिलाउन पनि निर्देशिकाले भनेको छ।
विभाग/क्याम्पस र स्कुलहरूले गत चैत १० गतेदेखि नै लिएका अनलाइन कक्षालाई समेत नियमित कक्षा सरह पाठ्यभारमा गणनाको व्यवस्थापन गर्न पनि निर्देशिकामार्फत् कार्यकारी परिषदले आग्रह गरेको छ।
'अध्ययनरत विद्यार्थीको लागि अनलाइन कक्षा तालिका तथा विद्यार्थी जानकारी सिट अग्रिम रूपमा तयार गर्ने,' निर्देशिकामा भनिएको छ, 'सम्बन्धित शिक्षकले अनलाइन कक्षा वा सेसनको सञ्चालन गर्ने।'
शिक्षकहरूले आफ्नो सहजताका आधारमा जुम, गुगल क्लास, एमएसटिमलगायत प्रयोग गर्न/गराउन सक्ने निर्देशिकाले बाटो खोलिदिएको छ।
'सम्पूर्ण विद्यार्थीको हाजिरी रेकर्ड सम्बन्धित निकायको अनलाइन कक्षा केन्द्रले राख्नुपर्नेछ,' निर्देशिकामा भनिएको छ। सेमेस्टर प्रणालीमा विद्यार्थीको हाजिरीलाई पनि निश्चित नम्बर छुट्टाइएको हुन्छ।
'शिक्षकले कक्षा लिएको रेकर्डका आधारमा हाजिरी गणना गर्नुपर्नेछ,' निर्देशिकामा भनिएको छ, 'कक्षा कुनै कारणले रेकर्ड नभए सम्बन्धित केन्द्र प्रमुखले जाँच गरी प्रमाणित गर्नुपर्नेछ।'
हाजिरीलाई यति महत्व दिनुका कारण विद्यार्थीलाई दिइने नम्बर मात्र होइन, यसैका आधारमा शिक्षकले पनि पारिश्रमिक पाउँछन्। अनलाइनमा काम गर्ने कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम लगाए अतिरिक्त पारिश्रमिकको व्यवस्थाका लागि निर्देशिकाले बाटो खोलिदिएको छ।
त्रिविले अनलाइन कक्षाको रेकर्ड राख्ने पनि तयारी गरेको छ।
'प्रत्येक अनलाइन कक्षाको रेकर्ड गर्नुपर्नेछ र सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेलबाट पठाउनुपर्नेछ,' निर्देशिकाले भनेको छ।
विद्यार्थीलाई गृहकार्यबारे पनि निर्देशिकाले प्रष्टाएको छ।
'विद्यार्थीलाई गृहकार्य प्रदान गर्नका लागि विभिन्न विद्युतीय माध्यम जस्तै एक्सल सिट, गुगल ड्राइभ, वर्डलगायतको प्रयोग गर्न सक्नेछन्,' निर्देशिकामा भनिउको छ।
कुनै कारणले कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई पछि शैक्षिक सामग्री उपलब्ध गराउनु पर्ने त्रिविको निर्देशिकामा उल्लेख छ। भर्ना भएका तर कक्षा सञ्चालन नभएका कार्यक्रमको अनलाइनबाट अभिमुखीकरण गरी कक्षा सञ्चालन गर्न पनि त्रिविले आग्रह गरेको छ।
निर्देशिकाले कडा आचारसंहिता तोकेको छ।
'विद्यार्थीले शिक्षकसँग संवाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ। अनलाइन कक्षा सम्बन्धित शैक्षिक सामग्री, भिडिओलगायतको प्रतिलिपी अधिकार सम्बन्धित शिक्षक र नियकायमा निहित हुनेछ। वौद्धिक चोरी गर्ने कार्य गर्नु हुँदैन,' निर्देशिकामा आचारसंहिताबारे भनिएको छ।
यतिमात्र होइन, शिक्षक/कर्मचारी वा विद्यार्थीले व्यक्तिको गोपनियताको हकको पालना गर्नुपर्ने, शैक्षिक सामग्रीहरू शिक्षक र विद्यार्थीले फेसबुकलगायत अरू सामाजिक सञ्जाल, सूचना माध्यममा स्वीकृतिविना राख्नु हुँदैन भनिएको छ।
पूर्णकालीन शिक्षकलाई अरू अनलाइन कक्षामा सहभागी हुन रोक लगाइएको छ।
'कुनै पनि पूर्णकालीन शिक्षकले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पसबाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुनु हुँदैन। तर गेष्ट लेक्चर लिन पाइने व्यवस्थामा भने रोक लगाएको छैन,' निर्देशिकाले थप प्रष्टाएको छ।
निर्देशिकाले आचारसंहिता उलंघन गरे कडा कारवाही गर्ने पनि बताएको छ। विश्वविद्यालयको नियमअनुसार कारवाही हुने निर्देशिकामा उल्लेख छ।
त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालका अनुसार कोरोनाभाइरस महामारीले गर्दा प्रत्यक्ष कक्षा सञ्चालनमा समस्या आइपरेको छ।
'प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकोले विद्यार्थीहरूको शैक्षिक वर्षमा असर नपरोस् भन्ने ध्येयले त्रिविका स्वीकृत सबै कार्यक्रम र विषयहरू लाई अनलाइनबाट समेत अध्ययन/अध्यापन गर्न सकिने व्यवस्था प्राज्ञिक परिषदबाट भएको हो,' रजिष्ट्रार दाहालले भने।
उनकाअनुसार प्रयोगात्मक कक्षा भने अनलाइनबाट सञ्चालन गर्न सकिँदैन। उनले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशिका सबै डिन कार्यालयमा पठाइसकिएको पनि जानकारी दिए।
'आ-आफ्नो डिन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्यम (अनलाइन) बाट कक्षा सञ्चालन गर्नू/गराउनु हुन त्रिविका सबै आंगिक क्याम्पस, स्कुल, विभाग तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक/विद्यार्थीहरूको जानकारी गराउँछौं,' रजिष्ट्रार दाहालले भनेका छन्।
हेर्नुस् त्रिविको निर्देशिका: