अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्राका क्रममा गत माघ ३ गते हिउँपहिरो र आँधीमा परेर हराएका थप २ जनाको शव फेला परेको छ।
स्थानीयबासी, नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कर्मचारीले शनिबार थप २ जनाको शव फेला पारेका हुन्।
शवको पहिचान हुन नसकेको पर्यटन प्रहरी पोखराका प्रमुख इन्स्पेक्टर गणेश खनालले बताए। ‘शव हेरेर मात्र पहिचान गर्न सकिने अवस्था छैन’ उनले भने, ‘पोष्टमार्टम गरेपछि कसको शव भन्ने खुल्ला कि।’
फेला परेको शव हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ। पर्यटन प्रहरी इन्स्पेक्टर खनालले काठमाडौंको टिचिङ अस्पतालमा उनीहरुको पोष्टमार्टम गरिने बताए।
नेपाली सेनाको हेलिकप्टरबाट शव ल्याउने भनिएपनि मौसममा आएको परिवर्तनका कारण हेलिकप्टर उड्न सकेको छैन।
हिमपहिरोमा हराएका ७ जनामध्ये यसअघि २ जना नेपालीको शव फेला परेको थियो। जसमध्ये धादिङको गंगाजमुना गाउँपालिका ११ का ५१ वर्षीय मेमबहादुर तामाङको शव बैशाख ४ गते फेला परेको थियो भने अर्का नेपाली पर्यटक गाइड सरोज नेपालीको शव चैत पहिलो साता फेला परेको थियो।
दुई जना नेपालीको शव भेटिएपछि बाँकी एक नेपाली र ४ जना कोरियाली पर्यटक बेपत्ता थिए। शनिबार भेटिएको शव नेपालीको होकी होइन भन्ने यकिन नभएको इन्स्पेक्टर खनालले बताए। हिउँपहिरोमा परेर हराएका बाँकी ३ जनाको खोजी पनि तीब्र पारेको उनको भनाइ छ।