सुर्खेतको पञ्चपुरी नगरपालिकाले सञ्चालन गरिरहेको क्वारेन्टाइनमा एक महिलाले छोरा जन्माएकी छिन्।
पञ्चपुरीको विद्यापुर क्याम्पसमा सञ्चालन गरिएको क्वारेन्टाइनमा तीन दिनदेखि रहेकी कमला नेपालीले सोमबार राति छोरालाई जन्म दिएकी हुन्।
सुत्केरी व्यथा लागेपछि उनलाई सालकोट क्वारेन्टाइनबाट स्वास्थ्य चौकी पुर्याइएको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिए। उनका अनुसार अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
पञ्चपुरी नगरपालिका–६ छाप्रेकी कमला श्रीमानसँगै चितवनमा रहेर ठेलामा मःमः बनाएर विक्री गर्ने काम गर्थिन्।
चितवनबाट वीरेन्द्रनगर हुँदै आइतबार राति कमला र उनका श्रीमान पञ्चपुरी पुगेका थिए। नगरप्रमुख थापाले कमलालाई अब होम क्वारेन्टाइमा राखिने बताए।