जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एउटा गम्भीर अपराधको अभियुक्तसम्बन्धी गोप्य सूचना आयो।
सूचनामा ‘हत्याका फरार अभियुक्त दिनभर जंगल र राति-राति घर आउँछन्’ भन्ने थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले ती अभियुक्तको फाइल खोजे। जसलाई अदालतले ४१ वर्षअघि नै जन्मकैदको सजाय सुनाएको थियो।
जिल्ला प्रहरी कार्यालयले ती अभियुक्तलाई पक्राउ गर्न एउटा विशेष टोली पठायो।
सोमबार बिहान ५ बजे नै टोली अभियुक्तको घरतर्फ लागे। बिहान ६ नबज्दै पुग्दा अभियुक्त घरमै भेटिए।
प्रहरीले पक्राउ गरेर जिल्ला अदालत स्याङ्जामा बुझाए। अदालतले कैद भुक्तानीका लागि जेल चलान गरेको छ।
जन्मकैद पाएर पनि ४१ वर्ष लुकेर बस्न सकेका अभियुक्त थिए, चापाकोट नगरपालिका ८ (तत्कालीन रत्नपुर गाउँ पञ्चायत वडा नं. ८) बस्ने ६७ वर्षीय डिल्लीबहादुर घर्ती।
उनले प्रहरी समक्ष यतिका वर्ष कहिले भारत त कहिले भारतसँग सीमाना जोडिएका अन्य जिल्लामा लुकेर नै यतिका वर्ष बिताएको बताएका छन्।
उनी संलग्न अपराधमा अदालतले पञ्चायतकालमै जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैद पाएका घर्ती र उनका समूहको त्यो अपराधिक घटना फिल्मी फाइटभन्दा डरलाग्दो छ।
स्याङ्जाको चापाकोट नगरपालिका ८ स्थित कालिगण्डकी नदी किनारको खोरियाघाटमा वर्षेनी चैते दसैंको ‘पूर्णिमा मेला’ लाग्छ। २०३३ साल वैशाख २ गते पनि यो मेला लाग्दैथियो। उनीहरू मेला हेर्न नदी किनार गए।
त्यतिबेलै पाल्पाको गोदारछाप गाउँ पञ्चायत २ बस्ने भारतीय सेनामा सिपाही दर्जामा कार्यरत २४ वर्षीय जीतबहादुर राना घर छुट्टीमा आएका थिए। राना पनि त्यो प्रख्यात चैते दसैं पूर्णिमा मेला हेर्न गए। मेला चलिरहेको थियो। त्यही बेला रत्नपुर गाउँ पञ्चायत तथा सेखाम गाउँ पञ्चायतका युवाहरूको समूहले रानालाई निर्घात कुटपिट गरे।
युवाहरूको समूहले कुटेर मात्र छाडेनन्। रानालाई निर्घात कुटेर कालीगण्डकी नदीमा फालिदिए। राना बेपत्ता भए। घटनाको तीन दिनपछि २०३३ साल वैशाख ५ गते रानाको शव घटनास्थलभन्दा झण्डै ५ सय मिटर तल कालीगण्डकी नदीमा फेला पर्यो।
शव फेला परेको भोलिपल्टै वैशाख ६ गते मृतकका दाजु दलबहादुर रानाले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ‘कर्तव्य ज्यान’ सम्बन्धी उजुरी दिए।
दलबहादुर आफ्ना भाइको हत्या गरेको भन्दै १३ जना युवालाई विपक्षी बनाएर किटानी जाहेरी दिएका थिए।
एक जनालाई १३ जना मिलेर कुटेर हत्या गरेको उनले उजुरीमा दाबी गरे। प्रहरीले घटनाको अनुसन्धान गर्यो। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा मुद्दा दर्ता गरायो।
जिल्ला अदालत स्याङ्जाले घटनामा संलग्न दाबी गरेको प्रतिवादीलाई तारेखमा राखेर पुर्पक्षमा राख्यो।
अदालतले अन्ततः २०३६ माघ १७ गते फैसला दियो- सबै कसूरदारलाई जन्मकैद।
प्रतिवादीहरूले बचाउका लागि तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरे। क्षेत्रीय अदालतले पनि बयान लियो। सोधपुछ र मुद्दाको गम्भीरता हेर्यो । क्षेत्रीय अदालतले २०३९ कात्तिक २४ गते जिल्ला अदालत स्याङ्जाले दिएको जन्मकैदकै फैसला सदर गर्यो।
प्रतिवादी अझै रोकिएनन्। जन्मकैदबाट सजाय घटाउन सकिन्छ कि भन्ने उनीहरूको झिनो आशा सर्वोच्चतर्फ मोडियो। प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरे। सर्वोच्चले पनि २०४० माघ ८ गते जिल्ला र क्षेत्रीय अदालतकै फैसला सदर गरिदियो। पुर्पक्षमा बाहिर बसेर मुद्दा लडिरहेका प्रतिवादीहरूलाई सर्वोच्चको यो फैसला पश्चात जाने ठाउँ रहेन।
उनीहरूले जन्मकैद सजाय भोग्नै पर्ने भयो। त्यसपछि उनीहरूको भागा–भाग सुरू भयो। कोही भागेरै भारत पुगे त कोही अन्य जिल्लामा गएर लुकीछिपी बसे। अदालतले दिएको सजाय भुक्तानी नभई अभियुक्त लुकेर, भागेर बस्ने गरेको लिष्ट बढ्दै जाँदा सर्वोच्च अदालतकै फैसला कार्यान्वयन इकाईले अभियुक्तलाई पक्राउ गर्न र अदालतले तोकेको सजाय भुक्तानी गर्न सरकारको नाममा आदेश दिएको थियो।
प्रहरीले पनि पुराना अभियुक्त पक्राउ गर्ने अभियान चलाइराखेको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यस घटनाका अभियुक्तलाई पक्राउ गर्न थाल्यो। अदालतले घटनामा संलग्न १३ जनालाई नै जन्मकैदको सजाय तोके पनि उनीहरू कैदमा थिएनन्। घटनाको अभियुक्तहरू घटना घटेको र अदालतले फैसला दिएको लामो समयपछि पक्राउ पर्न थालेका छन्।
यस घटनामा संलग्न प्रतिवादी तत्कालीन रत्नपुर गाउँ पञ्चायत ७ निवासी ७० वर्षीय भक्तबहादुर कुमाल २०७१ माघ ६ गते पक्राउ परे। उनलाई इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी अधिकृतसहितको टोलीले पक्राउ गरेको थियो । कुमालले अहिले कास्की कारागार पोखरामा कैद भुक्तानी गरिरहेका छन् ।
सोही घटनामा संलग्न अर्का अभियुक्त रत्नपुर गाउँपञ्चायत ८ कै ६५ वर्षीय देवीबहादुर घर्ती २०७५ साल भदौ २१ गते पक्राउ परेका छन्।
जिल्ला कारागार स्याङ्जाबाट स्थानान्तरण भई जिल्ला कारागार पाल्पामा उनले कैद भुक्तानी गरिरहेका छन्। घटना अघि उनले स्याङ्जाकै चापाकोट सिँचाइ आयोजनामा कार्यालय सहयोगी पदमा जागिर खाएका थिए।
स्याङ्जाका प्रहरी प्रवक्ता डिएसपी भण्डारीले यस घटनाका अभियुक्त हालसम्म ३ जनामात्र पक्राउ परेका छन्।
जिल्लादेखि सर्वोच्च अदालतले दिएको फैसला अनुसार अझै १० जना अभियुक्त पक्राउ पर्न बाँकी छन्।
घटना भएको ४४ वर्ष र अदालतले जन्मकैद फैसला गरेको ४१ वर्षसम्म पनि प्रहरीले अपराधमा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन ।
‘हामीले फरार रहेका अरू अभियुक्तलाई पनि खोजी रहेका छौं’, डिएसपी भण्डारीले भने, ‘अपराधमा संलग्न भएर जतिसुकै उम्कन खोजे पनि ढिलोचाँडो कानुनी दायरामा आउनैपर्छ।’