सरकारले कोरोनाभाइरस (कोभिड १९) को परीक्षणको लागि अहिले प्रयोग गरिरहेको र्यापिड डाइग्नोस्टिक किटलाई परिवर्तन गरेर नयाँ किट ल्याउने तयारी गरेको छ।
बुधबार स्वास्थ्य सेवा विभागले १ लाख थान नयाँ र्यापिड टेस्टिङ किट खरिदको लागि विध म्यानेजमेन्ट कम्पनीसँग सम्झौता गरेको छ।
सरकारले यसअघि चीनबाट सात करोड बढी रुपैयाँ खर्चेर ७५ हजार थान र्यापिड टेस्टिङ किट ल्याएको थियो। तर उक्त किटले आइजिएम र आइजिजी छुट्याउन नसक्दा किटको विश्वसनियतामाथि प्रश्न उठेको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नयाँ आउने किटले आइजिएम र आइजिजी दुबै पत्ता लगाउने बताए। प्रयोगशालामै काम गर्ने एक स्वास्थ्यकर्मीले भने, ‘आइजिएम र आइजिजी नै छुट्याउने किट भयो भने संक्रमण पत्ता लगाउन सहज हुन्छ।’
आइजिएम र आइजिजी दुबै कोरोनाभाइरसविरुद्ध लड्ने एन्टिबडी हो। विज्ञहरूका अनुसार आइजिएम संक्रमण भएको पहिलो सातामै उत्पादन हुन्छ र दोस्रो सातासम्म हराएर जान्छ।
त्यसपछि आइजिजी उत्पादन हुन सुरु गर्छ। आइजिजी शरीरमा भाइरस निको भएपछि पनि रहन सक्छ र यो आइजिएम भन्दा बलियो पनि हुन्छ।
यसरी नयाँ आउने किटले आइजिएम र आइजिजी छुट्याउँदा संक्रमण सुरुवात चरणमा हो कि निको भएको अवस्थामा हो भनेर पत्ता लगाउन सहज हुन्छ। अहिले प्रयोग भइरहेको किटले आइजिएम हो कि आइजिजी हो भने छुट्याउँदैन।
‘अहिलेको किट त काम नै छैन। भारतले पनि यो किटबाट परीक्षण बन्द गरेको छ। हाम्रोमा त भगवान भरोसाले चलिरहेको छ,’ प्रयोगशालाका ती स्वास्थ्यकर्मीले भने।
अहिले प्रयोग भइरहेको किटले उदयपुरको भुल्केमा सुरुआतमा देखिएका १६ जना संक्रमितकै नतिजा नेगेटिभ देखाएको थियो। पछि पिसिआरबाट स्वाब परीक्षण गरेपछि मात्र सबैको नतिजा पोजेटिभ देखिएको थियो। यसरी किटको नतिजा उल्टिएपछि यसको गुणस्तरमै प्रश्न उठेको छ।
चीनबाट खरिद गरेर ल्याउनेवित्तिकै किटको गुणस्तर जाँच गर्ने भनेर १ सय ९८ वटा नमूनाको पाइलट टेस्ट गरिए पनि त्यसको नतिजा सार्वजनिक गरिएको छैन। जसले गर्दा किटको गुणस्तरमा अन्यौलता उस्तै छ। ७५ हजार थान किटमध्ये ४५ हजार प्रयोग भइसकेका छन्।
विज्ञहरूले समेत निरन्तर प्रश्न तेर्साएपछि सरकारले किट परिवर्तन गर्न लागेको हो। स्वास्थ्य सेवा विभागले दुई साताअघि नै नयाँ किटको लागि टेन्डर आवहान गरेको थियो।
त्यसमध्ये २४ वटाले आवदेन दिएका थिए। तीमध्ये १० वटालाई सर्टलिस्ट गरेर सबैभन्दा कम मूल्यमा प्रस्ताव गर्ने कम्पनीसँग सम्झौता गरेको व्यवस्थापन विभाग प्रमुख भोगेन्द्र राज डोटेलले बताए।
खरिद गर्न लागेको नयाँ किट यसअघि खरिद गरिएको किटभन्दा सस्तो पनि छ। एउटा किटमै झन्डै ४ सयको फरक छ। नयाँ खरिद गर्ने भनिएको किटको मूल्य प्रति किट ५ सय ६५ रुपैयाँ छ।