काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन्।
अदालतको आदेशपछि अग्रवाल रिहा भएलगत्तै बिहीबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
‘सम्पत्ति शुद्धीकरण विभागले उहाँलाई छानबिन गर्ने भनेकाले पक्राउ गरिएको हो,’ ज्ञवालीले भने।
यसअघि कालोबजारी आरोपमा अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।
मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।
तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।
सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो।
उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो।
अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्।