अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हराएका ४ कोरियालीसहित सातै जनाको शव फेला परेको छ।
जसमध्ये ५ जनाको शव यसअघि नै फेला परेको थियो भने नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोलीले शुक्रबार बाँकी रहेका एक कोरियाली र एक नेपाली गरी २ जनाको शव फेला पारेको छ।
एबिसी पदमार्गको हिँकु केभनजिकै पदयात्राका क्रममा गत माघ ४ गते आएको हिउँपहिरो र आँधीमा परेर उनीहरु बेपत्ता भएका थिए।
शुक्रबार फेला परेको शव ल्याउन पोखरा विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहे पनि मौसम खराब भएका कारण ल्याउन नसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।
‘मौसम खुल्नासाथ हामी शव ल्याउँछौं, पोष्टमार्टम गरेर परिवारजनलाई बुझाउँछौं’, प्रवक्ता केसीले भने, ‘फेला परेको शव बुझाउन सम्बन्धित व्यक्तिको परिवारलाई जानकारी गराइसकेका छौं।’
पदमार्गमा हराइरहेका कोरियाली पर्यटकको शव फेला परेकोबारे काठमाडौंस्थित कोरियाली दूतावासलाई जानकारी गराएको उनले बताए।
हिमपहिरो र हिमआँधीका कारण कोरियाली पर्यटकहरू लि मिन सु, जोङ पिल बोङ, किम सोक जा र चोइ जो वोन हराएका थिए। यस्तै, ३ जना नेपाली पर्यटक गाइड तथा पोर्टर हिमपहिरोमा परेका थिए।
जसमध्ये धादिङको गंगाजमुना गाउँपालिका ११ का ५१ वर्षीय मेमबहादुर तामाङको शव वैशाख ४ गते फेला परेको थियो भने अर्का नेपाली पर्यटक गाइड सरोज नेपालीको शव चैत पहिलो साता फेला परेको थियो। अर्का नेपाली छिरिङ भोटेको शव गत साता फेला परेको थियो।
हिमपहिरोमा कोरियाली पर्यटक हराएपछि नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिक र हराएका कोरियालीका आफन्त गत माघमै हेलिकप्टरबाट घटनास्थल पुगेका थिए।
कोरियाली खोज तथा उद्धार टोलीसहित घटनास्थल पुगे पनि त्यतिबेला उनीहरू फेला पर्न सकेका थिएनन्।
उनीहरूले खोज उद्धारमा आवश्यक सामग्रीका साथै हेलिकप्टरबाट समेत खोज्न सकिने ‘डिटेक्टर’ मेसिन साथमै ल्याएका थिए। जब उनीहरू अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकुमा झरे, त्यसपछि अवस्था ‘सोचे भन्दा खराब’ रहेको भन्दै फर्केका थिए।
समुन्द्री सतहदेखि ३२३० मिटर उचाइमा अन्नपूर्ण दक्षिण हिमालबाट झरेको हिमपहिरोमा हराएको ३ महिनापछि मात्र उनीहरूको शव फेला परेको हो।
हिमपहिरोमा झरेको हिउँ पग्लेपछि हराइरहेका पर्यटक र तिनका नेपाली सहयोगीलाई खोज्न सजिलो भएको प्रहरीले बताएको छ। यसअघि निरन्तर हिउँपहिरो झरिराख्ने र घाम धेरै नलाग्ने खोंच भएकाले हिउँ धेरै समयसम्म रहने अवस्थाका कारण खोज्न समय लागेको पर्यटक प्रहरी पोखराका प्रमुख इन्स्पेक्टर गणेश खनालले बताए।
हिमपहिरोमा बेपत्ता भएका ती कोरियाली टोली अन्नपूर्ण अधार शिविर पदयात्रामा गए पनि अत्यधिक हिमपातका कारण गन्तव्यमा नपुगी बाटोबाटै फर्किएका थिए।
अचानक मौसममा खराबी आएर माघ ३ गतेदेखि हिउँ पर्न थाल्यो। हिमपात हुँदा पदमार्गको देउराली र हिमालय क्षेत्रमा रहेका ति पर्यटक गन्तव्यमा पुग्न नसक्ने अवस्था आएको थियो। अन्नपूर्ण गाउँपालिका ११ छोमरोङका वडाअध्यक्ष हिमबहादुर गुरुङका अनुसार त्यसपछि उनीहरु अन्नपूर्ण हिमालको आँगन अन्नपूर्ण बेस क्याम्प नपुगी फर्किने निधो गरेका थिए।
माघ ४ गते अघिल्लो दिनको भन्दा बाक्लो हिउँ परिरहेको थियो। ९ जना कोरियाली पर्यटक र एक जना चिनियाँ पर्यटक हिमपातकै बीच फर्कन थाले। जब उनीहरु हिँकु ग्ल्यासिएरमा आइपुगे, हिमपहिरोमा परे। त्यतिबेला हिम पहिरोमात्र नभएर मान्छै नै उडाउला जसरी हिमआँधी समेत चलेको हिमपहिरोमा घाइते भएका नेपाली पर्यटक सहयोगी जगदिश खत्रीले सम्झिए।
यसरी फर्किएका एक चिनियाँ पर्यटक र ९ जनाको समूहमा रहेका ५ जना कोरियाली पर्यटक भने हिउँपहिरो र आँधीबाट जोगिन सफल भएका थिए।
त्यतिबेला एबिसी पदयात्रामा गएका कोरियाली पर्यटक उनीहरुका २ जना नेपाली सहयोगी काठमाडौंस्थित ट्राभल नेट इन्टरनेशनलमार्फत् एबिसी पदयात्रामा गएका थिए भने एक चिनियाँ महिला कोनिको नामक कम्पनीमार्फत् पदयात्रामा गएका थिए। ती चिनियाँ पर्यटक हिमपहिरोबाट जोगिए पनि उनका नेपाली सहयोगी सरोज परियार हिमपहिरोमा परेका थिए।
पदमार्गको देउराली–हिमालय क्षेत्रमा होटल सञ्चालन गरेका वडाध्यक्ष गुरुङले उक्त स्थान पदमार्गकै जोखिम क्षेत्र भएको बताए।
‘यहाँ हिउँ पर्दा हिउँपहिरो झर्छ, पग्लँदा बाढी आउँछ,’ गुरुङले भने,‘यो क्षेत्र अन्नपूर्ण सेन्चुरी पदमार्गकै जोखिम क्षेत्र हो।’