भक्तपुर अस्पतालमा दैनिक १५ देखि २० जनाको कोरोना परीक्षण भइरहेको छ। परीक्षण टोलीका अनुसार एकैदिन ५६ जनाको परीक्षण भएको रेकर्ड पनि छ। यस्तै लकडाउन उल्लंघन गर्दै भक्तपुर नाकाभित्र छिर्नेको विवरण वडाको सहयोगमा पत्ता लगाई उनीहरूलाई अस्पतालमा सुरक्षित ल्याएर पनि जाँच भइरहेको छ।
अस्पतालमा कोरोना जाँचका लागि आएका बिरामीले सुरूमा हेल्प डेस्कबाट फारम भर्छन्। त्यसपछि उनीहरूको ज्वरो नापिन्छ। अस्पतालको टिकटमा बिरामीको सबै विवरण (नाम, उमेर, ठेगाना, शरीरको तापक्रम) सहित फारम पनि राखिन्छ।
त्यसपछि, ज्वरो क्लिनिकभित्र स्वयंसेवक/ल्याब टेक्नोलोजिस्टले क्रमशः बोलाउँछन्। भक्तपुर अस्पतालमा ज्वरो क्लिनिकभित्र दुइटा डेस्क छन्- एक ल्याब टेक्नोलोजिष्ट भएको र अर्को डाक्टर भएको।
ज्वरो क्लिनिकमा प्रवेश गरेपछि डाक्टर उपलब्ध हुने पहिलो डेस्क अगाडि बसाइन्छ। डाक्टरले उसको यात्रा इतिहास र लक्षणका बारे सोधपुछ गर्छन्। त्यही अनुसार, र्यापिड डायग्नोस्टिक परीक्षण वा पिसिआर/स्वाब परीक्षण हुन्छ।
पिसिआरबाट परीक्षण गर्नुपर्नेछ भने स्थानान्तरण गरी पिपी बुथ प्रयोग गरेर घाँटीबाट स्वाब संकलन गरिन्छ। र्यापिड परीक्षण गर्नुपर्ने भए ल्याब टेक्नोलोजिस्टकहाँ पठाइन्छ र रगतको नमूना निकालिन्छ।
र्यापिड परीक्षण पोजेटिभ देखिए पिसिआरमा पुष्टि गर्न गरिन्छ। र्यापिड परीक्षण पोजेटिभ आएका व्यक्तिलाई पिपिइ लगाएका स्वयंसेवकले आइसोलेसन वार्डमा लग्छन् र राष्ट्रिय प्रयोगशाला, टेकुबाट नतिजा नआएसम्म भर्ना गरेर राखिन्छ।
अहिले भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा यस्ता दुई जना छन्।
तस्बिरमा हेर्नुस् भक्तपुर अस्पतालको परीक्षण प्रक्रियाः