स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ।
यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ। कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गरिन थालिएको जानकारी दिए। उनका अनुसार कोभिड–१९ का कारण अरू देशमा मानिसको ज्यान गइरहेको अवस्थामा नेपालमा भने सङ्क्रमितको अवस्थामा सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो।
उक्त अध्ययनका लागि नेपालमा रहेका भाइरोलोजीमा काम गरिरहेका जिनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरेको छ।
'अहिलेसम्मको अध्ययनले यहाँ कोभिड–१९ को लक्षण बिना नै सङ्क्रमण देखिएको छ। कुन जिनले मानिसमा सङ्क्रमण भइरहेको छ, त्यसको अध्ययन गर्न थालेका हौं,' उनले भने।
परिषद्ले सङ्क्रमितहरुकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने हो। अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड– १९ सम्बन्धित प्रयोगशाला सल्लाहकार समितिका सदस्यसमेत रहेका खनालले जानकारी दिए।
उनका अनुसार सङ्क्रमित ८२ जनाको स्वाब संकलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ। उनले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेसमेत बताए।
जिन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उनको भनाइ छ।
'इटाली, वुहान र अमेरिकामा संक्रमण देखिएका मानिस मरिरहेका छन् तर यहाँ त मरेका छैनन,' उनले भने, 'मानिसको मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ड्रोम) छैन। मान्छे देख्दा सामान्य छ तर संक्रमण देखिएको छ। यो जिनको कारणले हो।'
मन्त्रालयले नेपालभित्रका वैज्ञानिकमार्फत नै ती जिनको वर्गीकरण गर्नेछ। चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जिनबारे अनुसन्धान सुरू गरिसकेका छन्। उनले संक्रमणले मानिसको रगतमा कुन कुन चिज उत्पन्न भएको छ त्यो पत्ता लगाउने बताए।
जिनको अध्ययनका लागि मन्त्रालयले काठमाडं विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा रहेको जेनेटिक ल्याबमा अनुसन्धान गर्नेछ।