सुर्खेतको भेरीगंगा नगरपालिका–६ लोदेमा रहेको क्वारेन्टिनबाट बुधबार ९ जनालाई घर पठाइएको छ। क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि बुधबार उनीहरुलाई घर पठाइएको हो।
तर घर पठाइएका ९ जनामध्ये दुई जनाको मात्र आरडिटी (र्यापिड डाईग्नोस्टिक टेस्ट) परीक्षण गरिएको छ। किट अभावका कारण बाँकी सात जनालाई यत्तिकै घर पठाइयो।
भेरीगंगा–६ झिङ्नीमा रहेको क्वारेन्टिनमा कार्यरत अहेव ओम शर्माका अनुसार क्वारेन्टिनमा बसेकालाई १४ दिनसम्म राखेर विना परीक्षण घर पठाउने गरिएको छ।
‘तोकिएको १४ दिनसम्म क्वारेन्टिनमा राख्छौं, उहाँहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपछि पठाउने गरेका छौं,’ शर्माले भने, ‘किट अभाव हुँदा परीक्षण गरी पठाउन सकेका छैनाैं, यदी सबैको परीक्षण गर्न पाए ढुक्क हुन्थ्यो।’
आरडिटी परीक्षणका लागि आवश्यक पर्ने किट र पिसिआर (पोलिमरेज चेन रियाक्सन) परीक्षणका लागि आवश्यक ल्याव सामग्री नहुँदा क्वारेन्टिनमा बसेकाहरु समेत ढुक्क भएर घर फर्किन सकेका छैनन्।
क्वारेन्टाइनमा बसेको १४ दिन बितेपछि विना परीक्षण नै अधिकांंस व्यक्ति फर्किने गरेका छन्। कर्णाली प्रदेशका १० जिल्लाका क्वारेन्टिनमा साढे चार हजार भन्दा धेरै मानिसहरु रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ।
यसअघि संघीय सरकारले पठाएका ८ हजार आरडिटी किट सकिएपछि कर्णाली प्रदेशमा अभाव देखिएको छ। संघीय सरकारले दुई चरणमा गरी पठाएका किटमध्येबाट ५ हजार जनाको परीक्षण गरिएको छ। बाँकी किट जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पिसिआर परीक्षण रोकियो
प्रयोगशालामा आवश्यक पर्ने सामग्रीको अभाव हुँदा कर्णाली प्रदेशमा रहेको पिसिआर मेसिनबाट गरिने परीक्षण समेत रोकिएको छ।
कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्काका अनुसार भिटिएम र आरएनए किट सकिएकाले आरटी पिसीआर मेसिनबाट गरिने परीक्षणको काम रोकिएको छ।
भिटिएम किट स्वाब संकलनका लागि आवश्यक हो भने आरएनए एक्सप्रेसन किट परीक्षण गर्नेक्रममा आवश्यक पर्छ।
कर्णाली प्रदेशमा तीन वटा पिसीआर मेसिन छन्। सुरुमा कर्णाली प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा आरटी पिसिआर मेसिन जडान गरिएको थियो। उक्त मेसिनको क्षमता कम भएपछि अरु दुईवटा ठूला क्षमताका मेसिन ल्याइएको थियो।
प्रदेश सरकारले २८ लाख लागतमा एउटा र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २७ लाख रुपैयाँ खर्च गरेर अर्को पिसिआर मेसिन खरिद गरी जडान गरेका थिए।
कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खड्काका अनुसार परीक्षण बन्द हुनुअघिसम्म प्रदेशभरका १ हजार ९६ जनाको पिसिआर परीक्षण गरिएको छ।
कर्णाली प्रदेश अस्पतालको प्रयोगशालाबाट मात्र ३०० जनाको परीक्षण गरिएको उनले जानकारी दिए। ‘हामीलाई प्रयोगशालामा आवश्यक पर्ने भिटिएम र प्रोसेसिङका लागि चाहिने किट प्राप्त हुन नसकेपछि अहिले मेसिनबाट गरिने परीक्षण रोकिएको छ’ डा. खड्काले भने।
प्रदेश सरकारले पछि खरिद गरी ल्याएको मेसिनबाट १६२ जनाको नमूना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशालयले जनाएको छ।
मेसिन खरिद गरेसँगै प्रदेश सरकारले आवश्यक प्रयोगशाला सामग्री खरिद गर्न खोजे पनि संघीय सरकारले स्वीकृति नदिँदा रोकिएको थियो।