तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले थालेको सशस्त्र युद्धका बेला विद्यालयहरूमा संस्कृत विषयको पढाइ बन्द गरियो।
कक्षा ६ देखि पढाइ हुने संस्कृत विषयलाई परम्परागतवादी भाषा भएको भन्दै माओवादीहरूले पढाउन रोक लगाएका थिए।
देशभरिका विभिन्न जिल्लामा माओवादीले विद्यालयमा संस्कृत पढाइ हुन रोकेपछि सरकारले नै उक्त विषय पाठ्यक्रमबाट हटाइदिएको थियो।
संयोग नै मान्नुपर्छ, माओवादीसमेत मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शिक्षा मन्त्री भएका बेला फेरि संस्कृत पढाइ सुरू हुने भएको छ।
पाठ्यक्रम विकास केन्द्रले संस्कृत पठनपाठनका लागि नमूना किताबसमेत तयार पारिसकेको छ।
‘इच्छुक विद्यालयले यही शैक्षिक सत्रदेखि कक्षा १ मा संस्कृत पठनपाठन गर्न सक्नेछन्,’ पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले सेतोपाटीसँग भने, ‘नमूना किताब तयार छ, इच्छुक स्थानीय तहले छपाउन सक्छ।’
कक्षा १ मा पाँच विषय पठनपाठन हुन्छ। नेपाली, अंग्रेजी, गणित र मेरो सेरोफेरो केन्द्रबाट तय भएका पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छन्।
संघीयतासँगै स्थानीय तहमा पनि शिक्षाको अधिकार दिइएको छ। जसअनुसार एक विषय मातृभाषा वा स्थानीय शिक्षा विषय पठनपाठन गर्न सकिन्छ।
‘मातृभाषा वा स्थानीय विषयको पाठ्यक्रम तयार पार्न नसकेका स्थानीय तहले सम्भव छ भने संस्कृत पढाउन सक्छन् भनेर हामीले विकल्पका रूपमा नमूना किताब तयार पारेका हौं। यो स्थानीय तहले गर्नुपर्ने काम केन्द्रले गरिदिएको हो,’ भट्टराईले भने।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत माघ २ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले यो शैक्षिक सत्रदेखि कक्षा १ मा संस्कृत पठनपाठनको बाटो खोलिदिएको हो।
केन्द्रले २६ मातृ भाषा विद्यालयमा पठनपाठन गर्न सकिने पनि बताएको छ। यतिमात्र होइन, भाषा आयोगले सरकारलाई गरेको सिफारिसअनुसार केन्द्रले शास्त्रीय भाषालाई पनि विद्यालयमा पठनपाठन गर्न आग्रह गरेको छ।
भट्टराईका अनुसार भाषा आयोगले संस्कृत, पाली र हिमाली भोट भाषा पनि विद्यालय तहमा पठनपाठन गर्न सुझाव दिएको थियो।
‘तीन वटा शास्त्रीय भाषामध्ये अहिले संस्कृतको नमूना किताब तयार भएको छ,’ उनले सेतोपाटीसँग भने।
संस्कृत पठनपाठन सामुदायिक वा संस्थागत विद्यालयले गर्न सक्छन्। तर अनिवार्य भने छैन।
‘संस्कृत अनिवार्य पढाउनु पर्ने होइन। जहाँ संस्कृत पठनपाठन गर्न सक्ने जनशक्ति (शिक्षक) छन् र स्थानीय तह वा विद्यालयले आवश्यकता महशुस गर्यो भने पढाउन सकिन्छ,’ केन्द्रका निर्देशक भट्टराईले थपे।
कक्षा १ मा सातामा पाँच घण्टा संस्कृत पढाइ गर्नुपर्छ। संस्कृतलाई अनिवार्य विषयमा समेटिएको छैन। यो ऐच्छिक विषयअन्तर्गत समावेश छ।
कक्षा १ मा पठनपाठन गर्नुपर्ने चार विषयको पुस्तक केन्द्रबाट तयार हुन्छ। स्थानीय तहको खातामा पैसा जान्छ उनीहरूले किताब किनेर विद्यार्थीलाई नि:शुल्क वितरण गर्छन्।
संस्कृतलगायत शास्त्रीय भाषा वा मातृभाषा वा स्थानीय शिक्षाका किताब स्थानीय तहले बनाउने हो भने उनीहरू आफैंले छपाइको खर्च व्यहोर्नुपर्छ।
‘विद्यालयस्तरका किताब सरकारले नि:शुल्क वितरण गर्छ। संस्कृत पठनपाठन गराउने स्थानीय तहले आफैंले किताब छपाइ गर्नुपर्छ,’ भट्टराईले भने, ‘शिक्षक व्यवस्थापन केन्द्रले गर्दैन, स्थानीय तहबाटै हुनुपर्छ।’
अहिलेसम्म सात सय ५३ स्थानीय तहमध्ये एक सय २५ वटाले मात्रै मातृभाषाका किताब तयार पारेको जानकारी केन्द्रमा आएको उनले बताए।
‘हामीले संस्कृत भनेर पूरै संस्कृत मात्र पढाउँदैनौं। त्यहाँ नेपाली, अंग्रेजी र संस्कृत गरि तीन भाषा समेटिएको छ,’ भट्टराईले सेतोपाटीसँग भने।
यसअघि विद्यालय तहमा कक्षा ४ देखि माथि केही विद्यालयहरूले संस्कृत विषय पठनपाठन गरिरहेका थिए। अब आवश्यकता हुनेहरूले विद्यालय तहका सबै कक्षामा संस्कृत पठनपाठन गर्न सक्नेछन्।