हरियो हुडी लगाएर साइडमा हेरिरहेको आफ्नो फेसबुक प्रोफाइल फोटो नवराज पराजुली घरिघरि नियाल्छन्। आफ्नै आँखा, नाक, ओठ, अनुहार हेरेर उनी आफैं दंग पर्छन्।
यसरी बेलाबेला आफूलाई नियाल्नु कवि नवराजको बानीजस्तै हो। ऐनाअगाडि उभिएर पनि आफूलाई घन्टौं हेरी बस्छन्।
'आफैंलाई धेरै हेर्छु भन्दा मान्छेलाई हाँसो उठ्छ होला है,' उनी आफ्नो गतिविधिप्रति अचम्मित हुन्छन् कहिलेकाहीँ, 'तर, आफैंलाई मन पराउनु सबैभन्दा सुन्दर कुरा रहेछ। तपाईंले पछिल्लोपटक आफूलाई नियालेर कहिले हेर्नुभएको थियो?'
'समग्र संसारलाई छाडेर आफ्नो बारेमा कहिले सोच्नुभएको थियो? जवान भएपछि सानो बालकजसरी नसोचेको कति भयो? बुढेसकालमा दाँत थोते भइसकेपछि कस्तो देखिन्छु होला भनेर नसोचेको कति भयो?' उनी दार्शनिकजस्तै प्रश्नमाथि प्रश्न सोध्छन्।
हामी धेरै समय हतारमा बाँच्यौं। अहिले लकडाउन बेला यस्ता प्रश्न आफैंलाई सोध्न फुर्सदै फुर्सद छ। त्यसैले त नवराज भन्छन्, 'लकडाउनमा बाहिर जानुहुन्न, आफूभित्र छिर्नुपर्छ। आफूले आफैंलाई चिन्ने मौका यही त हो।'
नवराजलाई भने यस्तो मौका पाउन लकडाउन पर्खन पर्थेन। पूर्णकालीन स्वतन्त्र लेखनमा लागेका उनको घर कार्यालयजस्तै हो। फरक यत्ति हो, लकडाउनअघि उनी चाहेका बेला बाहिर जान, साथीहरू भेट्न सक्थे। अहिले घर नै उनको संसार।
'यो समयले मलाई खासै फरक पारेको छैन। पहिले दिनभरि के गर्ने भनेर योजना बनाइन्न थियो। अहिले बनाउन थालेको छु,' उनले भने।
बिहान उठेर योग गर्ने, बाँकी समय लेख्ने, पढ्ने र फिल्म हेर्ने उनको दैनिकी हो। कीर्तिपुर मच्छेगाउँ बस्ने उनी साँझतिर नजिकैको जंगलमा हिँड्न निस्कन्छन्। केही महिनाअघि श्रीमती र छोरी झापा घर गएकाले एक्लै कोठामा बसिरहेका छन्। आफैंसँग रमाउने भएकाले एक्लो महशुस नगरेको उनी बताउँछन्।
धेरैलाई कोरोनाले यो वर्ष सकसपूर्ण होला भन्ने लागिरहेको छ। उनी भने सकारात्मक ऊर्जातर्फ संकेत गर्दै 'यो वर्ष जादू गर्नुपर्छ ल' भन्छन्।
उनले भनेको जादू कस्तो होला?
नवराजलाई कविताले चिनायो। धेरैको मनमा बसायो। उचाइ पनि दियो। उनले पनि धेरैलाई कविता चिनाए। उपन्यास र आत्मकथाले बजारमा तहल्का मच्चाइरहँदा कवितालाई 'ब्रान्ड' बनाए। लकडाउनको समयमा भने आफ्नो कवि दायरा विस्तार गर्दै फिल्मको स्क्रिप्ट लेखनमा सक्रिय छन्।
राजनीतिक विषयवस्तुमा केन्द्रित फिल्म रंगकर्मी विमल सुवेदीको निर्देशनमा बन्ने उनले जानकारी दिए।
फिल्म लेख्दै गर्दा उनलाई अनुभूत हुन थालेको छ– जुन भावना कवितामा अटाउन सकिँदैन थियो, त्यो फिल्ममा भन्न सकिने रहेछ।
'यसै पनि मेरा कविता लामा हुन्थे। दिमागमा यति धेरै कुरा आउँछन्, त्यो अटाउन ठूलै क्यानभास चाहिने रहेछ। दिमागमा आउने कतिपय सुन्दर भिजुअललाई कतिपटक त म कवितामा व्यक्त गर्न जान्दिनथेँ। यस्तो सुन्दर कुरा अब के हुन्छ होला भन्ने मलाई सुर्ता लाग्थ्यो,' फिल्मले सजिलो बनाएको बताउँदै उनले भने, 'अहिले त्यसलाई व्यक्त गर्ने माध्यम भेटेजस्तो भएको छ। यो मेरो जीवनको नयाँ खोजजस्तै भएको छ।'
उनी अगाडि भन्छन्, 'फिल्म लेख्दा मलाई कविता नै लेखिरहेजस्तो भइरहेको छ। संवाद र प्रत्येक दृश्य कवितात्मक भइरहेको महशुस गरेको छु।'
कविताबाहेक उनी बेलाबेला निबन्ध र ब्लगहरू लेखिरहेका हुन्छन्। ती लेखन धेरै पाठकले कविताजस्तै भएको प्रतिक्रिया दिँदै आएका छन्। लकडाउनकै समय सेतोपाटीमा प्रकाशित 'हावा' शीर्षकको ब्लगलाई धेरैले 'लामो कविता' भन्ने प्रतिक्रिया दिएको उनले बताए।
यो वर्षको जादूमा नवराजले कविताको किताब पनि सोचेका छन्। पछिल्ला दिनमा उनले आफ्ना पुराना कविता सामाजिक सञ्जाल र युट्युबमार्फत् सेयर गरिरहेका छन्। नयाँ लेखिरहेका भए पनि उनी त्यसलाई बाहिर ल्याउन चाहन्नन्। उनलाई लाग्छ– पुराना कविताले जति यात्रा गर्नुपर्ने हो, गरिसकेका छैनन्।
कहिले दिनकै दुई-तीनवटा त कहिले लामो 'ग्याप' मा कविता लेख्ने नवराज 'सगरमाथाको गहिराइ' जत्तिकै मोटो किताब निकाल्ने भए त पुगिसक्यो होला भन्छन्।
यसपटक निकाल्ने किताबबारे उनले सपना पनि देखेका छन्, जसअनुसार उनको दोस्रो किताब एकदम ठूलो हुनेछ। अमेरिकी साहित्यकार माया एन्जेलोको ३०८ पृष्ठ मोटो कविताको किताब 'द कम्प्लिट पोयट्री' जत्तिकै। त्यसको नाम र कभरको रङसमेत सपनामा देखेको उनले बताए।
'नाम त एकदम सामान्य छ। तर त्योभन्दा प्रिय नामै छैन मसँग,' उनी नाम बताउन भने चाहन्नन्, 'किताबको कभरको रङजस्तै माछा रारा ताल भ्रमणमा देखेको थिएँ। पानीभित्र मोबाइल डुबाएर फोटो खिचेँ। त्यो माछाको रङजस्तै कभर मेरो नयाँ किताबको हुनेछ। त्यसमा धेरै कविता हुनेछन्। केही छोटा कविता पनि छन्। लामोमा 'रावण' नामक ४० पेजको कविता छ।'
उनी अगाडि भन्छन्, 'म सन्तुष्ट भइनँ भने दसौं वर्ष पनि किताब निकाल्दिनँ। कविता के हो भन्ने अर्थ अहिले परिवर्तन भइरहेको छ। किताबै निकालेर कवि बन्नुपर्छ भन्ने पनि छैन।'
नवराजले कम कविता लेखेका छन् जुन उनको नजिक, उनी भएरै गएका छन्। यसपालि लेखिएका कविता सबै आफ्नै नजिक भएर गएको उनी बताउँछन्। 'अब आउने किताबले म बूढो भएपछि यसरी बाचेछु है भन्ने गराइरहन्छ होला,' उनले भने।
नवराज ठान्छन्, कविता भनेको केटाकेटी र बूढाबूढीको भाषा हो। केटाकेटीले त्यस्तो शब्द भन्छन्, जुन त्योभन्दा अगाडि कहिल्यै नसुनिएको हुनसक्छ। उनी मोहन बेगा भन्ने आफ्नो साथीलाई सम्झन्छन्, 'उनको घर जाँदा छोरीले भनेकी थिइन्, आज कस्तो दिउँसै झिलिमिली देउसी रे भएको।'
त्यस्तै विम्बात्मक र बेअर्थी शब्द उनकी छोरी विपत्सनाले पनि बेलाबेला भन्छिन्।
'प्रायः धेरै शब्दको उल्टो भन्नुपर्यो भने हामी 'न' जोड्छौं। जस्तै, जानुको उल्टो नजानु। मेरो छोरीलाई पनि मसँग रिस उठेको छ वा नक्कल पार्न मन लाग्यो भने फोन गर्दा 'हेलो' को सट्टा 'नहेलो' भन्छे। कुरा गरिरहन मन छ भने 'नबाई' भन्छे,' उनी अर्थ्याउँछन्।
बूढाबूढीको सन्दर्भमा त्यस्तै हुन्छ। केटाकेटी र बूढाबूढी आफ्ना कुरा नसोचिकनै बोल्छन्। ती शब्दकोषमा होस् या नहोस्, उनीहरूलाई फरक पर्दैन।
'मलाई अनन्तमा कविता हुन्छ जस्तो लाग्छ। केही रचना गर्दा भयो कि भएन भनेर बाँधिनु हुँदैन,' उनले भने, 'युवाहरू एकदम सोच्ने, हिसाबकिताब गर्ने खालका हुन्छन्। त्यसले कविता निर्माणलाई रोक्छ जस्तो लाग्छ। कविता लेख्न त केटाकेटी र बूढाबूढीझैं आफ्नो मनलाई पछ्याउनुपर्छ। जे पनि भन्न, सोच्न र कल्पना गर्न तयार हुनुपर्छ।'
बिहानीको समय लेख्न गाह्रो बताउने नवराजको लेख्ने निश्चित समय भने छैन। कति समय त उनी लेखनका लागि पर्खन्छन्। जब कुनै कुराले 'हिट' गर्छ, तब लेख्न बस्छन्। धेरै समय त कुराहरूले त्यति बेला 'हिट' गर्छन्, जति बेला उनी लेख्नै नभ्याउने अवस्थामा हुन्छन्। त्यस्तो बेला फोनमा बोलेर रेकर्ड गर्छन्।
'कहिले बाइक दौडाइरहेका बेला आउँछ। रोक्छु र रेकर्ड गर्छु। कहिले गाडी, प्लेन, ट्रेन चढिरहेका बेला आउँछ। एकदम धेरै कुरा म त्यसरी हिँडिरहेका बेला आउँछन्,' उनी आफ्नो अनौठो बानी सुनाउँछन्, 'पछि त्यसलाई सार्छु। सार्दा पनि रेकर्ड गर्दा जुन सोचमा पुगेको हुन्थेँ, त्यसमा जोडिन सक्छु।'
आफ्नो कुरा भन्ने ठिक माध्यम, शब्द र लय भेट्न सकेनन् भने जबर्जस्ती गर्दैनन्। आफूलाई खुला राखेर प्रतीक्षा गरिरहन्छन्।
'म ऊर्जा र देख्न नसक्ने जादूमयी शक्तिमा विश्वास गर्छु। त्यसको संयोजनलाई कलामा कसरी ढाल्ने भनेर सोचिरहेको हुन्छु। अब आउला वा आउँछे भन्दै पर्खिरहन्छु। म त्यस्तो शक्तिलाई जबर्जस्ती गर्न सक्दिनँ, स्वतन्त्र छाडिदिन्छु,' उनले भने।
नवराजलाई आफ्नो लेख कस्तो भनेर थाहा पाउनुपर्छ। भनेजस्तो भयो भने खुसी हुन्छन्, आफैंलाई पुल्पुल्याउन पनि पछि पर्दैनन्।
उनले फिल्म लेख्दै गर्दाको अनुभव सुनाए, 'मैले भागवत् गीता धेरैपटक दोहोर्यार पढेको छु। लेख्दै गर्दा कृष्णले अर्जुनलाई भनेको कुरा मेरो स्क्रिप्टमा कस्तो मज्जाले आयो कि मलाई दौडिन मन लाग्यो। अनि कोठाबाट निस्किएर जंगल हुँदै डाँडामा पुगेँ। त्यसरी हिँड्दा, चलायमान हुँदा मलाई आफू बाँचेको महशुस हुन्छ।'
लकडाउनमा धेरै नयाँ मान्छे कविता लेखनमा सक्रिय भए। नवराज कवि बन्न दुई महिनाको लकडाउन काफी नभएको बताउँछन्। कोठामा बसेर फ्याट्ट लेखिहालौं न त भनेर कवि नभइने उनको बुझाइ छ। उर्दू कवि एवं गजलकार बसीर बद्रको सायरी सम्झन्छन्-
'हर धडक्ते पत्थरको लोग दिल सम्झते हे ... उम्र बीत जाती हे, दिलको दिल बनानेमे।'
कवि बन्न लामो संघर्ष र लगाव चाहिने भए पनि सुरूआत गर्न सही समय भने भएको ठान्छन्। 'मान्छेको सोच्ने र अभिव्यक्त गर्ने बानी हुन्छ। त्यो बानी यो समयका लागि राम्रो हुन्छ,' उनले भने।
उनी आफैंले पनि औपचारिक रूपमा करिब ८ वर्ष लामो कविता यात्रा गरिसकेका छन्। काठमाडौंका कार्यक्रम र विशेषगरी मनु मञ्जिलको कविता वाचन कार्यक्रममा पुग्दा उनलाई आफ्नो अभिव्यक्तिको माध्यम भेटेको महशुस भएछ।
त्यसमाथि राष्ट्रकवि माधव घिमिरेले उनको कविता सुनेपछि भनेका थिए, 'तपाईं कवितामा आउनु भएन भने तपाईंलाई कविताको पाप लाग्छ।'
'मसँग पहिलैदेखि केही थियो, जो भन्नु छ। कसरी भन्नेचाहिँ विस्तारै सिकेँ। सायद यो फर्ममा राम्ररी भन्न जान्छु होला भन्ने लाग्यो,' उनले भने, 'कहिलेकाहीँ कोही मान्छे भेटेपछि तपाईं गज्जब गज्जब कुरा भन्नुहुन्छ नि, कलामा पनि त्यो फर्मसँग राम्ररी भेट भएपछि त्यसमा घुलिने रहेछ।'
कवितामा नवराजलाई 'क्लिसे' शब्द मन पर्दैनन्। जस्तैः पीडाको पहाड, आशाको त्यान्द्रो, जिन्दगीको गहिराइ। सधैं नयाँपन खोजिरहने उनी भन्छन्, 'कविताबाट एकदम घिनलाग्दो कुरा पनि सुन्दर गरी भन्न सकिन्छ। रिस पनि सुन्दर तरिकाले पोख्न सकिन्छ।'
नवराज लेख्नबाहेक किताब, अनलाइन र युट्युबमा कविता खोजीखोजी पढ्न रुचाउँछन्। रुमी, फैज अहमद फैज, गुलजार, गालिब, टैगोर लगायत उनका प्रिय हुन्। केही निश्चित कविता उनी धेरैपटक पढ्छन् पनि।
एकताक उनले फैज अहमद फैजका कविता यति धेरै पढेछन्, उनलाई लाग्न थालेछ, 'म त फैजलाई चिन्छु। जुन ऊर्जाले उनलाई छोएको छ, त्यसले मलाई पनि छोएको छ।'
कविताबाहेक उनी संगीत सुन्छन्। विशेषगरी पुराना नेपाली फिल्मका गीत, बच्चु कैलाश, भक्तराजकादेखि हिन्दी, उर्दू गीत, गजल मन पराउँछन्। 'जिन्दगीमा सबभन्दा धेरै केही गरेको छु भने संगीत सुनेको हुँला,' भन्छन्, 'मलाई गीत राम्रो हुन शब्द राम्रो हुनुपर्छ भन्ने लाग्छ।'
ऊर्जा, हुनु-नहुनु, डर, मृत्यु लगायत उनका कवितामा बारम्बार दोहोरिरहने शब्द हुन्। पछिल्लोपटक अमेरिकी लेखक एलिजावेथ गिलबर्टको 'बिग म्याजिक' किताबका पंक्ति वाचन गर्दै उक्त किताबले आफ्नो डर भगाएको उनले फेसबुकमा सेयर गरेका थिए।
'तपाईंलाई कस्तो कुराको डर लाग्छ?'
जवाफ उनी जान्दैनन्, 'म यसको उत्तर भन्न जान्दिनँ होला। जुन दिन भन्न जान्दछु, त्यो दिन भन्न सक्दिनँ होला। जुन दिन भन्न सक्छु, तपाईंलाई भन्न जान्दिनँ होला। तर एकदम डर लाग्छ।'
उनी फिल्म 'रङ दे बसन्ती' को एउटा गजल सम्झन्छन्– वक्त आने पे बतादेंगे तुझे आशमाँ। हम अभी से क्या बताएँ, क्या हमारे दिल मे है।
'समय आएपछि आकाशलाई भन्दिन्छु। अहिले नै म के भनुँ, के मेरो मनमा छ।'