वैशाख शुक्ल पूर्णिमाका दिन बिहानै लहान, छरापट्टीका स्थानीय महिला नुहाइधुवाइ गरेर उदाउँदो सूर्यलाई पानी अर्पण गरी उपवास बसे।
दिनभरि भने उनीहरू दैनिक दिनचर्या मै व्यस्त भए।
जब साँझ पर्दै गयो उनीहरू वस्तु भाउलाई घर फर्काएर पूजासामग्री तयार पार्न थाले।
हातमा पानीको अंखरा र टाउकोमा पूजा सामग्रीको टोकरी बोकी छरापट्टीमा रहेको राजदेवी मन्दिरमा उनीहरू लस्करै पुगे।
राजदेवी मन्दिरमा सात दिदी बहिनीको बसोबास रहेको किम्बदन्ती छ। देशमा जुनसुकै संकट र महामारी आउँदा यहाँका स्थानीय राजदेवीको पूजा गर्ने चलन छ। यसका साथै हरेक वर्ष वैशाख पूर्णिमामा पनि यहाँ पूजा गर्ने गरिन्छ।
यो पालि एक महिनामा तीनचोटि पूजा भइसक्यो।
देशमा कोरोना भाइरस महामारीको बेला यहाँका महिला पूर्णिमाको दिन उपवास बसी राजदेवी माईसँग क्षमा याचना गर्दै आफ्नो परिवार र सबैका लागि स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
देशभर लकडाउन छ। त्यसैले यसपालि भने बुद्ध पूर्णिमाको अरूबेला जस्तो रौनक देखिएन।
बालन नदी किनारामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर उनीहरूले व्रत सम्पन्न गरे।
हरेक वर्ष वैशाख जेठ महिनाको समयमा तराईमा गाईवस्तु बिमारी हुने, मानिसहरूमा हैजाको प्रकोप र विभिन्न खालका महामारी उत्पन्न हुने गरेकोले उनीहरू व्रत बस्ने गर्छन्।
तस्बिरहरू: