केही दिनअघि प्रदेश ५ मा कोरोनाभाइरस परीक्षण गर्न पिसिआर टेष्ट किट सकियो।
गुल्मीमा विदेशबाट आएका ६९ जनाको स्वाब संकलन गरिएको थियो। उनीहरूको स्वाब परीक्षण गर्न बुटवलको साटो पोखरा पठाइयो। गुल्मीबाट आएका ६९ वटै स्वाब परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला बिहान १२ बजेदेखि रातको झन्डै ११ बजेसम्म परीक्षणमा ल्याब विज्ञसहित प्राविधिकहरू खटिए।
झण्डै ७ घन्टा पिपिई लगाएका ल्याब प्राविधिकहरूले पानी पिउन र पिसाब फेर्न पनि पाएनन्।
ल्याब टेक्निसियन शंकर भण्डारीका अनुसार पिपिई लगाउँदा केही पनि गर्न मिल्दैन।
स्वाब परीक्षणमा दिनहुँ लामो समय खटिनुपरेका शुभद्रा दुलाललाई ढाड दुख्ने समस्या देखियो। उनको दुई वर्षको बच्चा छ।
सरकारले पोखरामा कोरोनाभाइरस परीक्षण गर्न पिसिआर मेसिन पठाएपछि यहाँका ल्याब प्राविधिकहरू खटिएका छन्।
चैत १८ गतेदेखि हालसम्म ६ सय ३८ वटा स्वाब परीक्षण गरिसकेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्।
उनका अनुसार, गण्डकी प्रदेशका ११ वटा जिल्ला र प्रदेश ५ का गुल्मीको स्वाब पोखरामा परीक्षण गरिएको छ।
बाग्लुङमा २ जनामा देखिएको कोरोनाभाइरसको परीक्षण सुरूमा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो। पोखरामा स्वाब परीक्षण थालिपछि उनीहरूको पनि फलोअप परीक्षण पोखरामै गरिएको थियो।
‘हामी पोखरामा मेसिन आउनु अघिदेखि नै खटिएका छौं,’ ल्याब टेक्निसियन भण्डारीले भने, ‘त्यतिबेला स्वाब संकलन गर्ने, पठाउनेलगायतका फलोअपका काम पनि हामीले नै गर्यौं।’
कोरोनाभाइरसको स्वाब परीक्षण गर्न कम्तिमा ७ घन्टा लाग्छ। एउटा स्वाब पुन: परीक्षण गर्नुपर्ने भएकाले धेरै समय लाग्ने र २४ घन्टामा मात्र रिपोर्ट दिने गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सुवेदीले बताइन्।
सरकारले अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना विशेष अस्पताल लेभल २ को रूपमा निर्धारण गरेको छ। कोरोना भाइरस परीक्षण गर्न अस्पतालका २ र गण्डकी प्रदेशका २ जना ल्याब प्राविधिक कार्यरत छन् भने उनीहरूलाई सघाउन स्वास्थ्य मन्त्रालयले एक जना जिनेटिक विज्ञ खटाएको छ।
स्वाब संकलन तथा ल्याब सामग्री व्यवस्थापनका लागि अस्पतालका ३ र प्रदेशका ३ जना खटिएका छन्। यसका लागि प्रदेशबाट टिम मिलाएर आउने गरे पनि अस्पतालका तर्फबाट भने उनै प्राविधिकहरू निरन्तर खटिरहेका छन्।
कोरोनाभाइरस परीक्षणका लागि ल्याबमा खटिने र स्वाब संकलन तथा सामग्री व्यवस्थापनमा खटिने प्राविधिक तथा विज्ञहरूले अहिलेसम्म छुट्टी पाएका छैनन्। डेढ महिनादेखि निरन्तर काम गर्नुपर्दा स्वास्थ्य समस्या देखिएको प्राविधिक भण्डारीले बताए।
पोखरामा कोरोना परीक्षण गर्न सरकारले वीर अस्पतालमा कार्यरत जिनेटिक वैज्ञानिक श्रीराम बास्तोला, प्रदेशबाट मेडिकल ल्याब टेक्नोलोजिष्ट संगीता पौडेल, सुभद्रा दुलाल, अस्पतालका महेश्वर पोखरेल र सिर्जना देवकोटा खटिएका छन्। उनीहरू सुरूदेखि नै कोरोना परीक्षण गर्न ल्याबमा खटिएका छन्।
स्वाब संकलन तथा ल्याब सामग्री व्यवस्थापनमा प्याथोलोजिष्ट डा. मोनी सुवेदी, ल्याब टेक्निसियन शंकर भण्डारी र सन्दीप पोखरेल खटिएका छन्।
डेढ महिनादेखि ल्याबमा खटिँदा घर जान नपाएको र कामको लोड धेरै भएको भन्दै उनीहरूले आलोपालो गर्न माग गरेका छन्।
यसअघि ल्याब प्राविधिकहरूको समूहले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापा, निर्देशक डा. अर्जुन आचार्य, प्रदेशका प्रयोगशाला संयोजक डा. डुकबहादुर क्षेत्रीसँग यसबारे छलफल गरेका थिए। छलफलमा अस्पताल नेतृत्व सकारात्मक भएको र गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन पनि आलोपालो व्यवस्था गर्न तयार भएको उनीहरूले बताएका छन्।
‘हामीले छलफल गर्दा सबैजना सकारात्मक नै पायौं,’ प्रदेश प्रयोगशाला निर्देशक सुवेदीले भनिन्, ‘हामीलाई रिप्लेस गर्नेभन्दा पनि आलोपालो गर्न र छुट्टी बस्न भनेका छौं।’
ल्याबबाट २-४ दिन भए पनि रेष्ट गर्न पाउँ भनेर माग गरेको उनले बताइन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले ल्याब विज्ञ एवं टेक्निसियनको माग पूरा गर्ने बताए।
‘हामीले यसअघि नै उहाँहरूलाई छुट्टी दिनुपर्थ्यो,’ थापाले भने, ‘अब १४ दिन विदा दिने निर्णय गरेका छौं।’
उनले अन्यत्र खोलिएका कोरोना विशेष अस्पतालमा पनि ल्याब प्राविधिकलाई रेष्ट दिने गरेको बताए।
उपकुलपति डा. थापाले अहिले अस्पतालका तर्फबाट कोरोना परीक्षण गरेका २ जना ल्याब प्राविधिकका ठाउँमा अस्पतालकै अर्का प्राविधिकलाई खटाउने तयारी गरेको जानकारी दिए। गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री पुनले ल्याब प्राविधिकको माग तत्काल पूरा गर्ने प्रतिवद्धता जनाएको बताइन्।
‘हामीले तनहुँ र स्याङ्जामा कार्यरत २ जना ल्याब प्राविधकलाई बोलाएका छौं,’ पुनले सेतोपाटीलाई भनिन्, ‘उनीहरूलाई बोलाएर अहिले कार्यरत प्राविधिकलाई विदा दिन्छौं।’
उनले जिल्लाका स्वास्थ्यकर्मीलाई पनि स्वाब संकलन गर्ने तालिम दिने योजना बनाएको बताइन्।
अहिले गण्डकीका ११ जिल्ला अस्पतालमा १-१ जना प्राविधिकले स्वाब संकलन गर्ने तालिम पाएका छन्। अब जिल्लाका निजी स्वास्थ्य संस्थाका प्राविधिकलाई पनि तालिम दिने योजना बनाएको मन्त्री पुनले बताइन्।
ल्याबमा कार्यरत ५ जनामध्ये प्रदेश र अस्पतालका गरी ४ जना ल्याब प्राविधिकलाई छुट्टी दिने योजना रहे पनि ल्याबमै कार्यरत जिनेटिक वैज्ञानिक श्रीराम बास्तोलालाई छुट्टी दिनेबारे भने कुनै निर्णय भएको छैन। स्वास्थ्य मन्त्रालयले खटाएकाले उसैले उनका ठाउँमा अर्को विज्ञ पठाएर छुट्टी दिनुपर्छ।
स्वाब संकलन र ल्याब सामग्री व्यवस्थापनमा खटिएका प्राविधिकले पनि केही समयका लागि भए पनि छुट्टी दिन माग गरेका छन्।
‘हामी दुई महिनादेखि खटिएका छौं। २-४ दिन भएपनि रेष्ट गर्न पाउनुपर्यो,’ स्वाब संकलनमा खटिएका ल्याब टेक्निसियन शंकर भण्डारीले भने,‘केही दिन रेष्ट गरेर फ्रेस हुन पाउनु पर्यो।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोरोना परीक्षण गर्ने आरडिटी किट र पिसिआर टेष्ट गर्न आवश्यक सामग्री सकिन लागेको बताए। अस्पतालमा आरडिटी टेष्ट किट ८० वटा जति रहेको र पिसिआर टेष्ट गर्ने आवश्यक सामाग्रीबाट अब २ सय स्वाब मात्र परीक्षण गर्न पुग्ने सामाग्री रहेको उनले बताए।
छुट्टी मागेका ल्याब विज्ञ एवं प्राविधिकहरूले आफूहरू कोरोनाबाट भाग्न नखोजेको बताए।
‘अहिले परीक्षण कम भएको छ, रिपोर्ट पनि नेगेटिभ छ,’ प्राविधिक भण्डारीले भने, ‘हामी केही दिन रेष्ट गरेर फेरि ल्याबमै फर्कन्छौं।’