एक महिना बढी समय बितिसक्दा पनि कोरोना विशेष अस्पताल तोकिएको टेकु अस्पतालमा थप आइसियू जडान कार्य सकिएको छैन।
देशमा कोरोना संक्रमणको जोखिम औंल्याउनेबित्तिकै सरकारले टेकु अस्पतालमा २० वटा आइसियू बेड र ५ वटा भेन्टिलेटर सञ्चालनमा ल्याउने भनेको थियो।
अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लकडाउनका कारण समयमै आइसियू सञ्चालनमा ल्याउन नसकेको बताए। ‘सामग्रीहरू कुनै वीरगन्ज र कुनै भैरहवाबाट ल्याउनुपर्ने हुँदा समय लाग्यो,’ उनले भने।
अब अक्सिजन भर्ने काममात्र बाँकी रहेको भन्दै उनले एक हप्ताभित्र आइसियू र भेन्टिलेटर सञ्चालनमा आउने दाबी गरे। बेडहरू जडान गर्ने कार्य सबै सकिएको उनले जनाए।
अहिले अस्पतालमा तीन वटा आइसियू र दुइटा भेन्टिलेटर छन्। थप १७ वटा आइसियू र ५ वटा भेन्टिलेटर सञ्चालनमा ल्याउने भनिएको हो।
गत वैशाखको दोस्रो साता टेकु अस्पतालबाट दुई जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका थिए। जसमा एकजना काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र युएईबाट आएका धादिङका एक युवक छन्।
उनीहरू वैशाख ६ र १० गते अस्पतालबाट डिस्चार्ज भएका हुन्। दुई जना संक्रमितको उपचार सुरु भएलगत्तै थप संक्रमित बढ्न सक्ने भन्दै अस्पतालमा २० वटा आइसियू सञ्चालनमा ल्याउने गरी काम अघि बढेको थियो।
तर संक्रमित डिस्चार्ज भएको महिना दिन पुग्न लाग्दा समेत आइसियू र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन। अब भने एक हप्ताभित्र जसरी पनि सञ्चालनमा ल्याउने अस्पतालको दाबी छ।
नेपालमा सुरुआती समयमा देखिएका कोरोना संक्रमिको उपचार जिम्मा नै टेकु अस्पतालले पाएको थियो। गत माघ ९ गते पुष्टि भएका पहिलो कोरोना संक्रमित युवक पनि टेकु अस्पतालबाटै उपचारपश्चात डिस्चार्ज भएका थिए।