धनगढीस्थित सेती प्रादेशिक अस्पतालले एक वर्षयता बिरंग हेल्थ केयर प्रालिमार्फत विरामीलाई डायलासिस सेवा दिँदै आएको छ।
बिरंग हेल्थ केयरमा लकडाउनपछि डायलासिस गर्ने नयाँ नयाँ बिरामी थपिए। तर यहाँबाट डायलाइसिसको सेवा लिँदै आएका बिरामी भने नियमित हुन छोडे।
बिरंग हेल्थ केयरका दिपक भट्टका अनुसार सरकारी अस्पतालमा आउने बिरामीहरू धेरैजसो निम्न आय भएका हुन्छन्। लकडाउनका बेला अरूबेला जस्तो यातायात सुविधा हुन्न। ट्याक्सी वा एम्बुलेन्स रिजर्ब गरेर आउन पैसा पुग्दैन।
'लकडाउनका बेला मालाखेती भन्ने ठाउँका एकजना बिरामीले त डायलासिस समयमा नहुँदा ज्यान गुमाउनु पर्यो,' उनले भने।
नियमित डायलासिस गर्ने मध्येकी एक हुन् डडेल्धुराकी मन्दरी साउद।
उनले उपचारका लागि पहिलोपटक घर छोडेको वर्ष दिन बढी भयो। अचेल धनगढीको बोराडा 'डी' मा डेरा गरी बस्छिन्।
अघिल्लो वर्ष असोजमा उनलाई शरीर काप्ने र पेट दुख्ने समस्याले सताउन थालेको थियो। पहिले त परिवारले धामी बोलाएका थिए तर सञ्चो भएन।
त्यसपछि उपचार गर्न उनी श्रीमानसँग भारतको नयाँ दिल्ली गइन्। त्यहाँको अस्पतालमा जाँच गर्दा दुवै मिर्गौलाले काम गर्न छोडिसकेको थाहा भयो। एउटा त अपरेशन गरेर फाल्नुपर्यो। उनको दोस्रो मिर्गौलाले पनि राम्ररी काम गर्दैन।
अहिले उनी हप्तामा दुई पटक डायलासिसका लागि सेती प्रादेशिक अस्पतालमा जानुपर्छ। त्यसैले उनी धनगढीमा डेरा खोजेर बस्न थालेकी हुन्। तर अब डेरामा बस्न पनि हम्मे भएको छ। लकडाउनका कारण अस्पताल पुग्न उस्तै सास्ती छ।
उनीसँगै बस्दै आएका श्रीमान घरको रेखदेख र अँधिया दिएको बाली उठाउन भन्दै एक महिनाअघि घर गए। घर जान ट्रकमा चढ्नुअघि उनले मन्दरीलाई ६ हजार रूपैयाँ दिएका थिए।
अहिले नेपालगञ्जकी नन्द लकडाउनका कारण घर जान नपाएपछि मन्दरीसँगै बसेकी छन्। श्रीमानले दिएको पैसाले दुवैजनालाई एकमहिना त पुग्यो।
त्यो पैसा पनि सकियो। बिहान बेलुका हातमुख जोर्न सरकारले दिएको राहतले पुगेको छ। उनी बिरामी भएपछि २० वर्षीय छोरा ११ कक्षाको पढाई आधुरै छोडेर पैसा कमाउन हिंडेका थिए।
भारतमा मजदुरी गरी कमाएको पैसाले आमाको उपचार धान्ने आधार बनेको थियो। तर अहिले लकडाउन भयो छोराले पैसा पठाउन पाएका छैनन्।
'भैँसी पालेकी थिएँ दुधघ्यु बेचेर परिवार चल्थ्यो,' उनले भनिन्, 'विरामी भएपछि पैसा खर्च भयो। आफू केही गर्न सक्दिनँ। लकडाउनपछि छोराले पैसा पठाउन पनि सकेको छैन। उपचार अब कसरी गर्ने मलाई केही थाहा छैन, पीर मात्रै पर्छ।'
हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने उनलाई औषधिको लागि मात्र पनि मासिक पाँच हजार चाहिन्छ। डायलासिस भने निशुल्क हुन्छ।
उनी राम्ररी हिँड्न पनि सक्दिनन्। लकडाउनले अस्पताल पुग्न पनि उनलाई अप्ठेरो भएको छ ।
'पहिले डेराबाट अस्पतालसम्म पुग्न अटो रिक्सा चढ्थेँ अहिले चल्दैन,' उनले भनिन् 'अस्पताल जान पर्यो भने म हिँड्न सक्दिन। अटो बुकिङ गर्नुपर्छ। रातिको समयमा अप्ठेरो पर्यो भने एम्बुलेन्स बोलाउनुपर्छ। एम्बुलेन्सलाई पैसा दिनुपर्यो।'
उनको डेरादेखि अस्पताल करिब ५ किलाेमिटर टाढा छ। आज मात्र अस्पताल पुग्न १ हजार रुपैयाँमा अटो रिक्सा बुकिङ गर्नुपरेका बताउँछिन्।
गाउँतिर भए कसैसँग मागेर काम चल्थ्यो तर शहरमा उनको आफ्नो कोही छैन।
कमजोर भएका बेला छोराछोरी र परिवारसँगै हुन मन हुन्छ।
कञ्चनपुरका कर्ण चन्द डायलासिसका लागि पत्नीलाई लिएर हप्तामा दुई दिन धनगढी आउँथे। लकडाउनका बेला उनी एकपटक मात्र आउन सकेका छन् ।
महेन्द्रनगरबाट गाडीमा आउन उनी १ सय ४० रुपैयाँ भाडा तिर्थे।
अहिले लकडाउनले सार्वजनिक यातायात बन्द छ।
उनलाई सेती प्रादेशिक अस्पतालसम्म पुग्न आजभोलि एम्बुलेन्स वा पास भएको ट्याक्सी रिजर्भ गरेर आउनुपर्छ।
शुक्रबार अस्पताल पुग्दा १ हजार ७ सय रूपैयाँमा लाग्यो। गत साता ट्याक्सी पनि नपाएपछि आउन जान ५ हजारमा एम्बुलेन्स बुकिङ गर्नुपरेको उनले बताए।
लकडाउनका बेला डायलाइसिस सेवा त पाइएको छ तर अस्पतालसम्म पुग्न समस्या हुने गरेको बताउँछन् विरामी।
सरकारले दुवै मिर्गौला फेल भएका विमारीलाई आजीवन निःशुल्क डायलासिस सेवा दिने गरेको छ।
तर सेवा लिन अस्पताल पुग्न नसक्ने बिरामीले ज्यानै गुमाउनु परेको छ, त कतिपय परिवारबाट टाडिनु परेको छ।
'पैसा हुनेहरू त आउँछन्, सक्नेले ऋण लिएर पनि आउँछन् तर नसक्नेले ज्यान गुमाउनु पर्ने अवस्था छ,' बिरंगका मेनेजर भट्टले भने।
भट्टका अनुसार अत्यावश्यक डायलासिसका ५५ जना विरामी धनगढीमा सेवा लिने गरेका छन् ।
अरूबेला भारतका विभिन्न शहरमा डायलासिस गराउनेहरू पनि यतिबेला धनगढी नै आउन थालेका छन्। जसले अस्पतालमा डायलासिस गर्ने बिमारीहरु बढेका छन्।
'एम्बुलेन्समा आउन जाने खर्चमा सहुलियतको व्यवस्थाका लागि अस्पताल प्रशासन वा सम्बन्धित स्थानीय तहले मद्दत गरे हुन्थ्यो,' भट्टले भने।