सोमबार एकैदिन कपिलवस्तुका १० जना व्यक्तिमा कोरोना संक्रमण देखियो। तीमध्ये ८ जना भारतसँग सीमा जोडिएको यशोधरा गाउँपालिकाका छन्।
उनीहरू सबै गएको दश दिनबीचमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ। गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयका अनुसार आठैं जना भारतको मुम्बाईबाट आएका हुन्।
उनीहरूमध्ये केही मात्र सिधै क्वारेन्टाइनमा गएको पाइएको छ। बाँकीलाई भने स्थानीयको सहयोगमा क्वारेन्टाइनमा ल्याइएको अध्यक्ष पाण्डेयले बताए।
यसरी लुकिछिपी आउने क्रम अहिले पनि रहेको उनी बताउँछन्। ‘भारतले नेपालीहरूलाई लिएर दशगजामा छोडिदिन्छ। फेरि यता नेपालले प्रवेश गर्न दिँदैन’ अध्यक्ष पाण्डेयले सेतोपाटीसँग भने, ‘त्यसैले केही व्यक्तिहरू लुकिछिपी छिर्ने गरेका छन्।’
उनले सीमा क्षेत्रमा २ सय मिटरको दुरीमा सुरक्षाकर्मी बसे पनि मानिसहरू उनीहरूलाई छलेर गाउँ पस्ने गरेको बताए। धेरैजसो मानिसहरू रातको समयमा प्रवेश गर्ने गरेको उनी बताउँछन्।
‘भारतबाट लुकिछिपी दौडेर नेपाल आउँछन्। यता नेपाल प्रहरीले देख्यो भने समातेर दशगजामै पुर्याइदिन्छन्’ उनले भने, ‘सरकारको ठोस नीति नहुँदा सीमा जोडिएका क्षेत्रमा जोखिम बढ्दैछ र जनताले पनि दुःख पाएका छन्।’
उनले अहिले पनि दशगजा क्षेत्रमा गाउँपालिकाका ३ सय बढी मानिस पाल टाँगेर बसिरहेको बताए। ती सबै भारतको विभिन्न ठाउँमा श्रम गर्ने मजदुरहरू छन्। सीमा क्षेत्रमा लुकिछिपी छिर्ने क्रमले संक्रमणको स्थिति भयाभह हुने भन्दै सरकारले ठोस नीति लिनुपर्ने उनको भनाइ छ।
सरकारले भने संक्रमणको जोखिम औंल्याउँदै सीमा क्षेत्र थप कडाइ गर्ने नीति लिएको छ। जसले गर्दा हजारौं मानिसहरू सीमा क्षेत्रमा अलपत्र परेका छन्। अहिले सीमा क्षेत्रमा झन्डै २१ सय बढी मानिसहरू क्वारेन्टाइनमा छन्। यस्तै नेपालतर्फ पनि एक हजार भारतीय नागरिक सीमामा अड्किएका छन्।
गृहमन्त्री रामबहादुर थापाले संक्रमण लम्बिएको कारण नेपालीलाई पनि स्वदेश ल्याउने समय लम्बिएको बताए। सोमबार राज्य व्यवस्था समितिमा मन्त्री थापाले सीमामा रहेकाहरूलाई स्वदेश ल्याउन सरकारले नयाँ ढंगबाट सोचिरहेको बताए।
‘यसअघि पनि केही मानिसलाई सहजीकरण गरेर सीमाबाट स्वदेश ल्यायौं। फेरि त्यो संख्या बढेको छ। सरकारले नयाँ ढंगबाट सोच्छ,’ उनले भने।
भारतसँगको सीमा क्षेत्र र विदेशमा नेपालीहरू अलपत्र परेको भन्दै राज्य व्यवस्था समितिले त्यस्ता मानिसलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ। मन्त्री थापाले विदेशबाट नेपाल आउने संख्या ठूलो हुनसक्ने भन्दै त्यसको लागि सरकारले सम्बन्धित मुलुकहरूसँग कुरा गरिरहेको बताए।
उनले प्रधानमन्त्री केपीशर्मा ओलीले समेत खाडी राष्ट्रका प्रतिनिधिसँग कुरा गरेको भन्दै सरकार आफ्ना नागरिकलाई ल्याउनका लागि काममा अघि बढेको जनाए।
उनले संक्रमणको जोखिम यथावत रहेको भन्दै सीमा क्षेत्रमा थप कडाइ गर्नुपरेको बताए। सीमाबाट लुकिछिपी छिर्ने क्रमले संक्रमणको जोखिम बढेको छ।
मन्त्री थापाले सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्न २२ हजार शसस्त्र प्रहरी बल परिचालन भएको जनाए। यस्तै १२ सय भन्दा बढी चेकपोस्ट स्थापना गरेको भन्दै उनले दीर्घकालीन समाधानको लागि ५ सय स्थायी पोस्ट खडा गर्ने पनि बताए।
उनले भारतसँग द्वीपक्षीय कुरा भएको भन्दै त्यहाँ भएका नेपालीलाई भारतले व्यवस्थापन गर्ने र यहाँ भएका भारतीयको नेपालले व्यवस्थापन गर्ने सहमति भएको बताए। ‘तर पछिल्लो समय सीमामा रहेकाहरूलाई लिएर नयाँ सुझावहरू पनि आएका छन्। सरकारले पनि त्यसको लागि नयाँ ढंगबाट सोच्छ,’ उनले भने।