गाडीमा हतियार भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएका कैलालीको गोदावरी नगरपालिका १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) धरौटीमा रिहा भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको टोलीले गत चैत २५ गते भारतीय डिएल ३ सिसिआर ३९९७ नम्बरको गाडीबाट प्वाइन्ट टु–टु एसएलआर एक थान र एअरगन एक थान बरामद गरेको थियो।
कञ्चनपुरका डिएसपी रबिन्द्र पौडेलले सशस्त्र प्रहरीले उक्त गाडीमा दुई थान बन्दुक, १४ ओटा गोली र एक सय ९६ गोटा छर्रा बरामद गरेको जानकारी दिए ।
गाडीबाट नगद र चेकहरु समेत बरामद भएको उनले बताए। अदालतले प्रहरीलाई प्रक्राउ गर्ने अनुमति दिएपछि वैशाख १४ गते शाही प्रहरीसमक्ष उपस्थित भएका थिए।
अनुसन्धानपछि प्रमाणसहित अदालतमा मुद्दा पेश गरिएको डिएसपी पौडेलले बताए। वडाध्यक्ष शाहीबिरुद्ध कञ्चनपुर प्रहरीले हात हतियार खरजना अन्तर्गत मुद्दा दायर गरेको थियो।
थुनछेक आदेशपछि कञ्चनपुर जिल्ला आदालतले वडाध्यक्ष शाही र उनका सहयोगीलाई धरौटीमा रिहा गरेको हो।
जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले शाहीलाई २५ हजार र उनका सहयोगी रमेश शाहीलाई एक लाख धरौटीमा रिहा गरिएको बताए।