मर्दी पदमार्गको फरेष्ट क्याम्प (कोकार)मा काम गर्ने ३६ वर्षीय हरि राईले घरमा पैसा पठाउन नपाएको दुई महिना बढी भयो।
लकडाउन भएपछि उनले घरमा पैसा पठाउन त पाएका छैनन् नै, पाउनुपर्ने पैसा पनि पाएका छैनन्। उनको घरमा २ वर्षको छोरा, श्रीमती र आमा छिन्। उनी हिउँदमा पदमार्गमा काम गर्ने र बर्खामा घरमै खेतीपाती लगाउन जाने गर्थे।
‘यसपालि घर जान पाइने हो कि होइन, थाहा छैन’ राईले सेतोपाटीलाई भने, ‘अब त बर्खा लाग्यो, खेती लगाउने बेला पनि भयो।’ लकडाउनमा उनी फरेष्ट क्याम्पमै भलिबल मैदान बनाइरहेका छन्।
संखुवासभाको सिलिङचोङ गाउँपालिका ३ ताम्कुका हरि अन्नपूर्ण क्षेत्रमा कहिले टाढापानी त कहिले घोरेपानीमा निर्माणसम्बन्धी काम गर्छन्।
अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने छोमरोङमा होटल बनाउने काम सकिएपछि उनी फरेष्ट क्याम्पमा काम गर्न आएका थिए। १४ वर्षकै उमेरमा पहिलो पटक यस उच्च पहाडमा काम गर्न गाउँकै साथीहरूसँग आएका थिए, हरि।
२०५७ सालदेखि उनी प्राय: सधैं २ हजार मिटरभन्दा माथि होटल बनाउनेलगायत पूर्वाधार निर्माणको काममा खटिएका छन्। कहिले काठको काम त कहिले ढुङ्गा निकाल्ने काम।
‘जहिले जे काम पाइन्छ, त्यही गर्ने हो’, हरिले भने।
यसक्रममा हरिले पदमार्गका होटलमा कुक काम पनि गरेका थिए। तर उनलाई खाना बनाउने काम मन परेन। त्यसो त कुकभन्दा अरु पूर्वाधारका काम गर्दा धेरै पैसा आउने उनको अनुभव छ। अहिले उनले दैनिक १ हजारदेखि १५ सयसम्म ज्याला पाउँछन्। बेलामौकामा साना कामको ठेक्का लिने र साथीभाइसँग मिलेर दिनरात खटिन्छन्।
पैसा कमाउनका लागि विदेश जाने क्रम बढेका बेला उनलाई पनि विदेश जान मन लाग्यो। पदमार्गमा होटल बनाउने काम छाडेर उनी २०६५ मा दुबई गए। दुबईमा उनले स्काफोल्डिङको काम गर्थे। महिनामा ३५ हजार जति तलब हुन्थ्यो। दुई वर्ष बसेपछि उनी दुबईबाट स्वदेश फर्के।
त्यसपछि अझ धेरै पैसा कमाउन पाइने हल्लाहरूका बीच उनी पनि इराक हानिए। इराकको एक होटलमा कुकिङमै उनले काम पाएका थिए। नजिकै ग्यास प्लान्टको खतरा थियो। त्यतिबेला उनले महिनामा ७० हजार तलब पाउँथे।
हरि पर्यटक भिसामा गएका थिए। उनी गैरकानुनी रूपमा इराक बस्न थाले। काम गर्न थाले, उनलाई नेपाल पैसा पठाउनै मुस्किल पर्यो। उनका नेपाली साथीहरू बग्दादमा थिए। उनीहरूकै नाममा उनले घरमा पैसा पठाए।
बाहिर दिनदिनै गोली चल्थ्यो। उनीहरू बाहिर निस्कन पाउँथेनन्। कहिलेकाहीँ पुलिस चेकिङमा आउँथे। त्यतिबेला उनलाई होटल सञ्चालकले लुकाउँथे।
‘कहिले होटलको छतमा त कहिले कार्टुनमा लुक्थें, कहिलेकाहीँ स्टोरमा गएर लुक्थें,’ उनले भने। पुलिस हप्तैपिच्छे आउने भएकाले उनलाई हप्तैपिच्छे लुक्नुपर्थ्यो।
इराकमा ३ वर्ष बसेर फर्किएपछि उनी फेरि विदेश जान चाहेनन्। फेरि सानैदेखि काम गरेको अन्नपूर्ण क्षेत्रतिर लागे। हिमालको फेदतिर हिउँद–बर्खा नभनी चिसोमा काम गर्न थाले।
लकडाउन भएपछि भने उनले राम्रोसँग काम गर्न पनि पाएका छैनन्।
काम गरिरहेको होटलमा सिमेन्ट, रडलगायत निर्माण सामग्री सकियो। त्यसपछि फरेष्ट क्याम्पका होटल सञ्चालकले भलिबल मैदान बनाउने काम दिएका छन्। यो मैदान बनाउन फरेष्ट क्याम्पका १२ वटै होटलले पैसा उठाएका छन्। त्यही पैसा मजदुरलाई भुक्तानी दिने होटल कोकारका सञ्चालक राम गुरूङले बताए।
हरिले काम त पाइराखेका छन्। तर उनको चिन्ता अर्कै छ। उनलाई यसपालिको बर्खामा घर जान पाउने कि नपाउने भन्ने एउटा चिन्ता छ भने अर्को चिन्ता घर पैसा पठाउन नपाउनु। काम गरेको पैसा झण्डै डेढ लाख बुझ्नै बाँकी रहेको हरिले बताए।
घर पैसा पठाउन १ दिन हिँडेर पोखराको हेम्जा पुग्नुपर्ने उनले बताए। बैंक वा सहकारी मार्फत उनले संखुवासभास्थित परिवारलाई पैसा पठाउने गरेका छन्।
उनले भने, ‘काम पाउँदा त कुनै कुनै महिना ५० हजारसम्म कमाइ हुन्छ।’
लकडाउनमा उनले झण्डै १५ दिन जति त काम पनि गरेनन्। चिसो ठाउँ भएकाले कहिलेकाहीँ बिरामी हुन्छन्, उतै औषधी खाएर निको हुन्छन्।
हरिको गाउँबाट मात्र अहिले ९ जना फरेष्ट क्याम्पमा काम गर्दैछन्। उनको जिल्ला संखुवासभाबाट मात्र २० जना छन्। उनीहरूको समूहले फरेष्ट क्याम्प नजिकै खानेपानीको टंकी बनाउने जिम्मा लिएको छ। भलिबल ग्राउण्ड र ४ वटा होटलको काम पनि थाँती छ। तर उनीहरूलाई अहिले सिमेन्टको अभाव छ।
लकडाउनका बेला पदमार्गमा काम गर्ने कतिपय मजदुर घर फर्किएका छन्। झण्डै ५० कामदार रहेको फरेष्ट क्याम्पबाट गोरखा, उदयपुरलगायत जिल्लाका २५ जना बढी लकडाउनमा घर फर्किएका छन्। तर हरिको समूह भने फर्किएन।
लकडाउनकाबीच हरिकै समूहमा मिसिन पुगेका छन्, बाग्लुङ काठेखोला गाउँपालिका ७ का ४३ वर्षीय तेजेन्द्र थापा मगर। उनलाई यो चिसोमा काम गर्न मन लागेको छैन। तर बाध्यता छ। पोखरामा मजदुरी गर्ने तेजेन्द्र लकडाउनमा पोखरामै झण्डै डेढ महिना कोठामा थुनिएर बसे। काम नगरी बस्न उनको मनै मानेन।
लकडाउनमै काम गर्न पाइन्छ भनेर साथीहरूले सुनाएपछि उनीहरू पोखराबाट निस्किए। कहिल्यै नगएको लेक जान तयार भए। वैशाख १८ गते पोखराबाट सराङकोट हुँदै हिँडेरै फरेष्ट क्याम्प पुगे। प्रहरी चेकजाँच छल्दै हिँडेर फरेष्ट क्याम्प पुग्न उनलाई पोखराबाट दुई दिन लाग्यो।
उनी अहिले भलिबल मैदानमै खटिएका छन्। उनको मजदुरी यात्रामा अहिले जस्तो निराश कहिल्यै थिएन।
घरबाट निस्केर काम गर्न दिल्ली जाँदा उनी जम्मा १८ वर्षका थिए। बाग्लुङदेखि कुस्मासम्म हिँड्नुपर्थ्यो। त्यतिबेला गाडी चल्न मोटरबाटो बनेको थिएन। पछि भारतको मेघालयमा उनले कोइला खानीबाट कोइला निकाल्ने काम गर्न थाले।
कोइलाखानीमा ३ हजार फुटसम्म सुरूङभित्र जानुपर्थ्यो। काम निकै जोखिमपूर्ण थियो। उनीहरूले निकालेको कोइला केही भारतमै रेल उद्योगहरूमा खपत हुन्थ्यो त केही अर्को देश निर्यात हुन्थ्यो।। खानीबाट जति कोइला निकाल्न सक्यो, उति फाइदा हुन्थ्यो। दिनहुँको हिसाब गरेर हप्तैपिच्छे कोइला निकालेको पैसा पाउँथे।
एकदिनमै २ हजारदेखि २ हजार ५ सय भारुसम्म कमाउँथे। बीचमा घर आए, विवाह गरेर श्रीमती उतै लगे। झण्डै १२ वर्ष मेघालय बसेपछि कोइलाखानी बन्द भयो। तीन छोरासहित तेजेन्द्रको परिवार घर फर्कियो, घर आएपछि छोरी जन्मिइन्।
बाग्लुङबाट उनीसँगै गएका ३ जना साथी उतै विहे गरेर बसे। उनीहरूले कोइलाखानी फेरि खुलेको खबर गरे। तर लुकीछिपी कोइला निकाल्ने काम भइरहेको थियो। उनी पनि यसरी नै लुकेर ३ महिना कोइला निकाले।
‘सधै लुकेर बस्नुभन्दा घरै जान ठिक ठानें, फर्किएपछि गाउँमै एक वर्ष बसें, त्यसपछि मात्र पोखरा झरेर मजदुरी गर्न थालेको हुँ’ उनले भने।
फरेष्ट क्याम्पमा खाएर दिनको १ हजार दिने सर्तमा उनी काम गर्न गएका हुन्।
भवन बनाउने, सिमेन्ट, ढलानको काममा रुचि राख्ने तेजेन्द्र गोरखामा ७ महिना बसेर भूकम्पपीडितको घर बनाउने काम गरेका थिए। कामको खोजीमा जहाँ गएपनि अहिले फरेष्ट क्याम्पमा बस्न उनलाई निकै गाह्रो भइराखेको छ।
‘दिनहुँ पानी पर्छ, उत्तिखेरै बादलले छोप्छ’, उनी भन्छन्, यस्तो जाडोमा बसेर कसरी काम गर्ने।’
कहिले लकडाउन खुल्ला र घर जान पाइला जस्तो भएको छ तेजेन्द्रलाई। अब गाउँ गएर खेतबारीमा काम गर्ने उनको इच्छा छ।