सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु गरिएको छ।
भारतको पलियामा ४९ दिनदेखि क्वारेन्टिनमा रहेका एक सय २० नेपालीलाई गौरीफन्टा नाकाबाट भित्र्याउन सुरु गरिएको हो।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपाल र भारतका स्थानीय प्रशासनको सहमतिमा अलपत्र परेकाको उद्धारको काम भएको बताए ।
उनले केही भारतीयलाई उता पठाइएको र पारिबाट नेपालीलाई ल्याउने काम गरिएको जानकारी दिए।
धनगढी आएका नेपालीलाई कैलालीका भए स्थानीय तहमा पठाउने र बाहिरी जिल्लाका भए स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्लामा पठाइने जोशीले सेतोपाटीलाई बताए।
जिल्ला प्रशाशन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार आज भित्रिएकामध्ये कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ र डोटीका नागरिक बढी छन्।
यस्तै सुर्खेतका, दैलेखका, कास्की, सिन्धुली, रौतहट र सिन्धुलीका नागरिकसहित २ सय ५० बढी नागरिकलाई स्वदेश ल्याउन लागिएको हो।
सूचना अधिकारी जोशीले नेपालबाट ४ सय बढी भारतीयलाई भारत पठाइएको बताए।