काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कार्यरत डाक्टर तथा नर्सहरूलाई हिजोआज बेग्लै तनाव छ।
काम सकेर कोठा फर्केका डाक्टर तथा नर्सलाई सधैंजसो घरबेटीले गेटमै रोकेर ‘कोरोना परीक्षणको रिपोर्ट देखाऊ, अनि मात्रै ढोका खोल्छु’ भन्छन्।
पिपिईलगायत स्वास्थ्य सामग्रीको अभाव त छँदैछ, त्यसमाथि घरबेटीले अनावश्यक तनाव दिएपछि वेचैन भएको टिचिङमा कार्यरत एक डाक्टरले सेतोपाटीलाई बताए।
टिचिङका आवासीय डाक्टर होस्टेलमा कोठा अभावले कोही अपार्टमेन्ट त कोही कोठा बहालमा लिएर बसेका छन्।
‘टिचिङमा रहेको विरामीमा कोरोना देखियो भन्ने सुनेपछि घरबेटीले हामीलाई तनाव दिन थाले,’ ती डाक्टरले भने, ‘घरबेटीले कोरोना परीक्षण गरेको हो भन्दै दिनदिनै सोध्छन्। रिपोर्ट देखाऊ भन्छन्।’
टिचिङमा उपचारका लागि ल्याइएकी एक ६ वर्षीया बालिका र अर्का एक विरामी भेट्न पुगेका ४६ वर्षीय एक पुरूषमा कोरोना देखिएको थियो। उनीहरूलाई आइसोलेसनमा राखेर उपचार गरिराखिएको छ।
कोरोना देखिएका विरामीको सम्पर्कमा नरहेका आफूहरूलाई घरबेटीले अनावश्यक तनाव दिँदा राम्रोसँग निदाउन नसकेको ती डाक्टरले बताए।
‘हाम्रो त पेशा नै विरामीको उपचार गर्ने हो। सुरक्षित भएर उपचार गरिन्छ,’ उनले भने, ‘हामी कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न छैनौं भने पनि घरबेटीले कुरा बुझ्दैनन्।’
टिचिङमा कार्यरत करिब दुई सय डाक्टर/नर्सहरू कोठा बाहलमा लिएर बसेका छन्। दिनरात नभनी उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्नेमा उल्टै घरबेटीले तनाव दिने गरेको उनले बताए।
‘घरबेटीले कोरोना परीक्षण रिपोर्ट मागेर हैरान गरेपछि हाम्रा दुई/तीन जना साथीहरू होस्टलमा बस्ने अरू साथीहरूसँग बस्न थाल्नु भएको छ,’ ती डाक्टरले भने, ‘हाम्रो यो समस्या कसलाई सुनाउने?’
यतिमात्र होइन यो व्यक्ति डाक्टर/नर्स हो भन्ने चिनेकाहरूले पानीका जार डेलिभरीसमेत नगरेको ती डाक्टरले बताए।
‘घरबेटीले कोठामा नआइदिए हुन्थ्योजस्तो गर्ने, पानी डेलिभरी गर्नेले अबदेखि गर्दिनँ भन्छ, हामीलाई अपराधीजस्तो व्यवहार गरियो,’ उनले भने, ‘विरामीको उपचार गर्न दिनरात खटिएकालाई यस्तो व्यवहार गर्ने समाज देखेर दिक्क लाग्छ।’
उनले टिचिङकै दुई सय जनाभन्दा बढी स्वास्थ्यकर्मीले यस्ताखाले समस्या र तनाव झेल्नुपरेको भन्दै सरकारसँग समस्याको समाधान खोज्न आग्रह गरे।
‘अस्थायी रूपमा हामीलाई बसोबासको व्यवस्थापन स्वास्थ्य मन्त्रालय वा सरकारले गरिदियो भने हामी तनावमुक्त भएर विरामीको उपचार र सेवामा जुट्न पाइन्थ्यो,’ उनले भने।
खालि रहेका होटलमा डाक्टर/नर्स/अस्पताल तथा ल्यावमा कार्यरत कर्मचारी राख्ने व्यवस्था सरकारले मिलाए आफूहरू तनावमुक्त भएर काममा खट्न सकिने उनको भनाइ छ।
‘घरबेटीले यस्ता तनाव दिन सक्छन् भनेर एक महिनाअघि नै हामीले अस्पतालमा भनेका थियौं। हाम्रो कुरा कसैले सुनेनन्,’ उनले भने, ‘कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई अन्य देशमा पनि यस्तै खाले तनाव दिइएको पाएपछि हामीले ध्यानाकर्षण गरेका थियौं। तर अहिले आफैं यो तनाव झेलिरहेका छौं।’
देशमा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेको र अन्यत्रका अस्पतालले विरामीको उपचारलाई प्राथमिकता नदिएकोले पनि टिचिङमा विरामी संख्या बढेको उनले बताए।
‘कोरोनाकै कारण देखाएर कतिपय अस्पतालले विरामीलाई गेटबाटै फिर्ता पठाइदिएका छन्। जसले टिचिङमा विरामीको संख्या बढ्दो छ। यस्तो बेला हामी विदा लिएर कोठामै बस्न मिल्दैन,’ उनले भने, ‘जतिसक्दो विरामीकै उपचारमा ध्यान दिनुपर्छ।’
स्वास्थ्यकर्मीलाई हौसला दिनु पर्नेमा निरूत्साहित गरिएको भन्दै उनले दु:ख लागेको बताए।
‘भोलि घरबेटी विरामी भए भने पनि उपचार गर्ने त यिनै चिकित्सकहरूले होला नि!, यस्तो गम्भीर विषय घरबेटीले किन नबुझेझैं गर्छन्?,’ उनले प्रश्न गरे।