सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरीको मृत्युको कारण कोरोना भए/नभएको एकीन हुन बाँकी छ।
टेकुमा स्वाब परीक्षणपछि उनको मृत्युको कारण कोरोनाभाइरस हो वा होइन भन्ने टुंगो लाग्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबारको नियमित पत्रकार सम्मेलनमा सुत्केरी महिला मृत्युको कारण कोरोना हो वा होइन पत्ता लागेपछि मात्र थप विवरण सार्वजनिक गरिने बताए।
ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्ज पछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन्।
सिन्धुपाल्चोक पुगेपछि उनको स्वास्थ्यमा समस्या देखियो। श्वासप्रश्वास सम्बन्धी समस्या बढेपछि जेठ १ गते उनलाई बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो।
‘उहाँले हामीलाई दुई दिनदेखि ज्वरो आएको, श्वासप्रश्वासमा समस्या भएको र खोकी लागेको बताउनुभएको थियो,’ बाह्रबिसे स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत निशान्ता शर्माले सेतोपाटीसँग भनिन्, ‘हामीले उहाँको छातीको एक्सरे गर्यौँ। औषधि दिएपछि स्वास्थ्यमा केही सुधार भयो। तर उहाँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले हामीले धुलिखेल अस्पताल रिफर गर्यौँ।’
बाह्रबिसे स्वास्थ्य केन्द्रले महिलाको र्यापिड टेस्ट गरेको शर्माले जानकारी दिइन्। ‘एन्टिबडी शरीरमा विकास हुन पनि ७ देखि १० दिन लाग्छ। उहाँ स्वास्थ्य केन्द्र आउँदा ९ दिन भएको थियो,’ शर्माले भनिन्, ‘त्यसैले पनि हुनसक्छ एन्टिबडी नेगेटिभ देखायो।’
तर आफूहरूले रिफर गरेको बिरामी धुलिखेल नपुगेपछि सोधपुछ अगाडि बढाएको शर्माले बताइन्।
‘मैले बिरामीको परिवारको नम्बर लिएको थिएँ। अस्पताल नपुगेको भनेपछि फोन गर्दा घरमा जानु भएको रहेछ’, शर्माले भनिन्, ‘साँझ प्रहरीलाई घर पठाएर एम्बुलेन्समा चढाएर धुलिखेल पठाउने व्यवस्था गर्यौँ।’
स्वास्थ्य मन्त्रालयले अस्पताल लैजादैँ गर्दा उनको मृत्यु भएको बताएको छ।
शर्माले सुत्केरीलाई घर लैजानुको कारणबारे थाहा नभएको बताइन्। ‘आर्थिक समस्या भएको भए रेडक्रसले नि:शुल्क एम्बुलेन्समा पठाउने जानकारी हामीले गराएका थियौँ,’ उनले भनिन्।
बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेका सचिव दुर्गा भण्डारीले सुत्केरी महिलाको परिवार जटिल आर्थिक समस्यामा नरहेको बताए।
मृतक महिलाका श्रीमान् नेपाली सेना छाडेर अहिले सेक्युरिटी गार्डको काममा लागेको उनको भनाइ छ।
‘परिवारमा सासु, श्रीमान्, एउटा छोरा थिए। भर्खरै अर्को नवजात शिशु भर्खरै जन्मिएको भनेर काठमाडौंबाट आउनु भएको हो,’ उनले भने, ‘सुत्केरीलाई धेरै गाह्रो भएपछि अस्तपाल लगिएको हो।’