महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका बिरामीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि भाडाको घरमा बस्ने र अस्पतालकै क्वारेन्टिनमा बस्ने स्वास्थ्यकर्मी पनि समस्यामा परेका छन्।
टिचिङमा संक्रमण देखिएपछि त्यहाँ काम गर्ने र वरिपरिका घरहरूमा बस्दै आएका स्वास्थ्यकर्मीलाई घरबेटीहरूले भन्न थालेका छन्-कि त अस्पतालमै बस्नुहोस्, कि अस्पताल नजानुहोस्। यसरी त हामीलाई पनि खतरा हुन्छ।
'धेरैजसो रेजिडेन्ट डाक्टरहरू यहाँभित्र क्वार्टर नपाएर वरिपरिका घरमा भाडामा बस्नुहुन्छ, अस्पतालको बिरामीलाई संक्रमण देखिएपछि घरबेटीहरू आत्तिएर उहाँहरूलाई त्यस्तो दबाब दिन थालेको गुनासा आएका छन्,’ टिचिङ अस्पताल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष अनुप उप्रेतीले भने।
१५/ १६ जना डाक्टरका घरबेटीहरू डराएर त्यस्तो दबाब दिन थालेको उनले बताए।
यीमध्ये एकलाई डेरामा जाँदा घरबेटीले दिनदिनै कोरोना जाँचेको कागज माग्न थालेको ती डाक्टरले सेतोपाटीलाई बताए।
‘टिचिङमा रहेका बिरामीमा कोरोना देखियो भन्ने सुनेपछि घरबेटीले हामीलाई तनाव दिन थाले,’ ती डाक्टरले भने, ‘घरबेटीले कोरोना परीक्षण गरेको हो भन्दै दिनदिनै सोध्छन्। रिपोर्ट देखाऊ भन्छन्।’
टिचिङ अस्पतालमा स्नातकोत्तर पढ्ने रेजिडेन्ट डाक्टरहरू तीन सयभन्दा बढी छन्।
रेजिडेन्ट डाक्टर भनेको अस्पतालमै बस्ने पढ्ने र काम गर्ने डाक्टर हुन्। अस्पतालमा जम्मा ४५ जनालाई बस्न पुग्ने आवास छ। अरू डाक्टरहरू नजिक घर भए घर जान्छन्, नभए वरिपरिका घरमा डेरा गरिबस्छन्।
टिचिङमा काम गर्ने डाक्टर/नर्स हो भन्ने चिनेकाहरूले पानीका जार समेत डेलिभरी गर्न छाडेको ती डाक्टरले बताए।
‘घरबेटीले कोठामा नआइदिए हुन्थ्योजस्तो गर्ने, पानी डेलिभरी गर्नेले अबदेखि गर्दिनँ भन्ने, हामीलाई अपराधीजस्तो व्यवहार गरियो,’ उनले भने, ‘बिरामीको उपचार गर्न दिनरात खटिएकालाई यस्तो व्यवहार गर्ने समाज देखेर दिक्क लाग्छ।’
टिचिङ अस्पतालमा एक जना सात वर्षे बिरामी र अर्को बिरामीलाई भेट गर्न गएका एक जनालाई कोरोना पोजेटिभ देखिएको छ। त्यो घटनापछि टिचिङमा काम गर्ने डाक्टर र स्वास्थ्यकर्मीहरूप्रति कतिपय मानिसले संशयका साथ हेर्न थालेका छन्।
यसरी अप्ठ्यारोमा परेका डाक्टरहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे अस्पताल र सरकारले अहिलेसम्म कुनै पनि निर्णय नगरेको उप्रेतीले बताए।
टिचिङ अस्पतालका निर्देशक प्रेम खड्काले कोरोना संक्रमितको उपचार गर्दा सम्पर्कमा आएका डाक्टर-नर्स लगायत स्वास्थ्यकर्मीलाई अस्पतालले क्वारेन्टिनको व्यवस्था गरेको तर घरबेटीले बस्न नदिएका डाक्टरहरूको समस्या समाधान गर्न आफूहरूले नसक्ने बताए।
‘संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई राख्ने अस्पतालभित्रै क्वारेन्टिन बनाएका छौं। भोलिका दिनमा संक्रमित संख्या बढ्दा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि क्वारेन्टिन थप्ने ठाउँ हेरिरहेका छौं,' उनले भने, 'तर भाडामा बस्ने डाक्टरहरूको समस्या समाधान गर्न मैले सक्दिनँ। त्यो नेपाल सरकारले गर्ने काम हो।'
केही समयअघि टिचिङ अस्पताल नजिकै भाडामा बस्ने एक रेजिडेन्ट डाक्टरलाई प्रहरीले कुटेपछि स्वास्थ्य मन्त्रालयमा डेलिगेसन गएका उप्रेती सहितको टोलीलाई मन्त्री भानुभक्त ढकालले छिट्टै आवश्यक व्यवस्था मिलाइने बताएका थिए।
'संक्रमणका बेला त्यहाँ काम गर्ने डाक्टरहरूलाई राख्न होटलको व्यवस्था गर्ने कुरा छ। म अस्पताललाई छिट्टै होटल खोज्नु भनेर लेख्दिन्छु,’ स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उदृत गर्दै उप्रेतीले भने।
अस्पताल निर्देशक खड्काले भने आफूहरूले खोजेको ठाउँमा दिन्छु भन्नेले पछि नदिएपछि अहिलेसम्म अग्रपङ्तिमा खटिने डाक्टरहरूलाई छुट्टै आवासको व्यवस्था गर्न नसकिएको बताए।
छुट्टै आवासको व्यवस्था नभएकाले नै कोरोनाको समयमा भाडामा बस्ने स्वास्थ्यकर्मीलाई समस्या भएको हो।
कोरोना संक्रमितको संख्या बढ्यो भने फ्रन्टलाइनमा उनीहरूले नै काम गर्नुपर्छ। उनीहरूकालागि सुरक्षित र अस्थायी आवास चाहिने उप्रेतीको जोड छ।
संक्रमितको उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई राखिने आइसोलेसन वा क्वारेन्टिनको समेत टिचिङ अस्पतालले राम्रो व्यवस्था गर्न सकेको छैन।
अस्पतालमा संक्रमित देखिएपछि ती बिरामीको स्वाब लिने, जाँच गर्ने डाक्टरहरूलाई राख्न अहिले अस्पतालका केही वार्डहरूलाई नै क्वारेन्टिनमा रूपान्तरण गरिएको छ।
कपिलवस्तुबाट जँचाउन आएकी ७ वर्षीया बिरामीलाई कोरोना देखिएपछि उपचारमा संलग्न डाक्टरहरूलाई अस्पतालका तीनै क्वारेन्टिनमा पठाइएको छ। तर अस्पतालका क्वारेन्टिनमा खाने लगायतको राम्रो सुविधा नभएकाले केही डाक्टरहरू घरमै क्वारेन्टिनमा बस्न थालेका छन्।
'संक्रमितको परीक्षणकाबेला सम्पर्कमा आएपछि अहिले म क्वारेन्टिनमा छु। अस्पतालको क्वारेन्टिन सुविधासम्पन्न भएको भए त्यहीँ बस्थें। त्यहाँ राम्रो नदेखेर घरमै आएकी हुँ,’ टिचिङकी एक डाक्टरले भनिन्।
होम क्वारेन्टिनमै बसेका अर्का डाक्टरले पनि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि क्वारेन्टिन वा होस्टलबारे अस्पतालले कुनै तयारी नगरेको बताए।
'मैले जाँचिरहेको बिरामीमा कोरोना देखिएपछि सुरूमा मैले अस्पतालसँग कुरा गरें। त्यहाँ डाक्टरका लागि छुट्टै होस्टल वा आइसोलेसन रूमको व्यवस्था भएको देखिएन। अनि म घरमा आइसोलेसनमा बसेको छु,' उनले भने।
सुरू/सुरूमा रेजिडेन्ट डाक्टरहरूलाई समस्या भएमा छुट्टै होस्टलमा राख्नुपर्ने माग उठेपछि अस्पतालले होटलहरूमा राख्छौं भनेको उनले बताए।
'रेजिडेन्टहरूलाई पहिल्यैदेखि होस्टल वा क्वार्टरको समस्या टिचिङ अस्पतालमा छँदैछ। यस्तो बेलामा त झन् अस्पतालले कोरोना संक्रमणको उपचारमा फ्रन्टलाइन काम गर्ने स्वास्थ्यकर्मीलाई अस्थायी भए पनि आवासको व्यवस्था गर्नुपर्ने हो,' उनले भने, 'रेजिडेन्ट डाक्टरहरू ३६ घण्टा खटिनुपर्छ त्यसरी खटिने डाक्टरलाई खान बस्नको सुविधा दिनुपर्ने हो। भाडाको कोठा वा घरमै पनि पठाउनु उचित हुन्न।'
दुई जना डाक्टर अन्तर्राष्ट्रिय होस्टलमा बसेका छन्। उनीहरूलाई हिजोसम्म नियमित खाना आउँदैनथ्यो।
'हिजोसम्म त हामीलाई यहाँ खाना पनि आउन्नथ्यो हामीले साथीभाइलाई भनेर आफैं मगाएका थियौं। आजदेखि भने खानाहरू आएको छ,' होस्टलमा बसेका एक डाक्टरले भने, 'उता वार्डमा क्वारेन्टिन बसेका डाक्टर नर्सहरूलाई भने खाना, पानीको सुविधा नै छैन भनेर उहाँहरूले हामीलाई सुनाइरहनुभएको थियो।'
रेजिडेन्ट डाक्टर्स एसोशिएसनका अध्यक्ष उप्रेतीले पनि क्वारेन्टिनमा डाक्टरहरूले खाना पानी जस्ता आधारभूत सुविधासमेत नपाएको गुनासो आएको बताए।