जिल्ला प्रहरी कार्यालय कास्कीमा जेठ २ गते एउटा सूचना आयो। सूचनामा केही युवाहरू मिलेर आफ्नै साथीको हत्या गरी मकैबारीमा गाडिएको उल्लेख थियो।
सूचना पाएपछि शनिबार बिहान ६ बजे कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की आफ्नै कमाण्डमा प्रहरी टोलीसहित घटनास्थल पुगे।
युवकको शव गाडिएको भन्ने ठाउँमा पुगेर प्रहरी टोलीले उत्खनन् गरे। सूचनामा भनिएझैं मकैबारीमा करिब ४ फिट खनेपछि गाडिएको अवस्थामा एउटा शव फेला पर्यो। सडेको अवस्थामा फेला परेको उक्त शव पोखरा १४ समिनतारा निवासी २२ वर्षीय युवक विमल रानाभाटको थियो।
गाडिएको शव निकाल्दा जुत्ता समेत नखोलेको र कपडासहित सुताएर गाडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
प्रहरीले आफूले पाएको सूचनामा विमललाई स्थानीय ज्ञानबहादुर परियारले झण्डै १ महिनाअघि घनले हानेर हत्या गरेको जनाएको छ। बारीबाट निकालिएको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको कास्की प्रहरी प्रमुख एसपी कार्कीले बताए।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जना स्थानीय युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा १४ समिनताराका २१ वर्षीय ज्ञानबहादुर परियार, १८ वर्षीय संजय दर्जी, १८ वर्षीय कुमार परियार र बाग्लुङको गल्कोट घर भई अहिले पोखरा १४ समिनतारा बस्ने १९ वर्षीय सागर परियार रहेका छन्।
घटना भइसक्दा समेत मृतक विमलको परिवारलाई भने थाहा नै नभएको एसपी कार्कीले बताए।
‘शव भेटिएपछि मात्र उहाँलाई जानकारी भयो’, उनले भने, ’आजै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्ट मार्टम गरेर परिवारलाई शव बुझाइएको छ।’
मृतक विमलको घरमा आमा र बुबा मात्र रहेको र बुबा प्यारालाइसिस भएकाले हिँडडुल गर्न नसक्ने प्रहरीले बताएको छ।
कहिलेकाहीँ विमल घर छाडेर हिँड्ने र केही दिन हराउने गरेकाले परिवारले यत्तिका दिनसम्म खोजी नगरेको हुन सक्ने प्रहरीको अनुमान छ।
स्थानीयका अनुसार, मृतक विमल हत्या आरोपी ज्ञानबहादुरको घरमा गइराख्थे। ज्ञानबहादुर घरमा नभएको समयमा समेत उनी त्यहाँ गइरहन्थे। ज्ञानबहादुरको घरमा श्रीमती सहितको परिवार छन्।
‘आफू नभएको समयमा समेत विमल घर आएको भन्दै शंकै–शंकामा हत्या गरेको देखिन्छ’, कास्की प्रहरी प्रमुख एसपी कार्कीले आरोपीको बयान उद्धृत गर्दै सेतोपाटीलाई भने, ‘अनुसन्धान पूरा भएपछि सबै कारण थाहा हुन्छ।’
उनका अनुसार मृतक विमलले गाँजा र रक्सी जस्ता मादक पदार्थ सेवन गर्ने र ज्ञानबहादुरको घरमा जाने गरेका थिए ।
घटनाको अनुसन्धान सकिएपछि अदालतमा हत्या आरोपमा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको एसपी कार्कीले बताए ।