सीमापारि क्वारेन्टिनमा रहेका साढे ७ सय नेपालीलाई गौरीफन्टा नाकाबाट स्वदेश ल्याइएको छ।
शुक्रबार र शनिबार गरी ७ सय ५८ जनालाई ल्याइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।
भारतको रामपुर, महाराष्ट्र लगायतका ठाउँमा क्वारेन्टिनमा रहेका ३४ जिल्लाका नेपालीलाई स्वदेश ल्याइएको हो। त्यस्तै ९ सय ५० जना भारतीय देशबाहिर गएका छन्।
उनीहरु सबैको आरडीटी परिक्षण गरी स्वदेश भित्र्याइएको जोशीले बताए। नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा दुई दिन अलपत्र परेकाको उद्धार भएको हो।
उनले उद्धारको काम अहिलेलाई रोकिएको जानकारी दिँदै नाका पूर्ण रुपमा बन्द रहेको बताए । शुक्रबार पारिबाट ल्याइएका ३ सय ७१ जना नेपालीमध्ये ६१ जनाको स्वाव परिक्षणका लागि धनगढी प्रयोगशालामा लगिएको छ।
जिल्ला प्रशाशन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार शनिबार साँझ भित्रिएकामध्ये कैलालीका ८१, कञ्चनपुरका ५१, बझाङका ८३, बैतडीका २९, बाजुरा र डोटीका दुई/दुई जना रहेका छन्।
यस्तै सुर्खेतका २७, चितवनका १४, सप्तरीका ७, झापाका ११, तनहुँका ८, बाग्लुङका ७, दैलेखका ५, इलामका ५, काठमाडौंका ४, स्याङ्जाका ३, नवलपरासी ३, पश्चिम रुकुम ३, बाँकेका ३, बारा, उदयपुर दाङ र सिराहका २/२ जनालाई शनिबार स्वदेश ल्याइ सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाइएको छ।
यसैगरी गौरीफन्टा नाका हुँदै मकवानपुर, मोरङ, सुनसरी सिन्धुलीका एक÷एक तथा जनकपुरका २ जना नेपाल आएका छन् ।