गत शुक्रबार नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको घटनामा प्रहरीको संलग्नता देखिएपछि दुई सदस्यीय छानबिन समिति गठन भएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यस घटनामा प्रहरीको संलग्नता देखिएको भन्दै प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक बिष्णुप्रदीप बस्याल सम्मिलित छानबिन समिति गठन गरेको हो।
'प्रहरीको संलग्नता, ध्यान नपुगेको वा लापरबाही भएको भन्नेबारे अनुसन्धान गर्न छुट्टै छानबिन समिति गठन गरेको छु,' कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने,'अब यसमा संलग्नमाथि अनुसन्धान हुन्छ। प्रतिवेदन आएपछि कारबाही हुने/नहुने थाहा हुन्छ।'
शुक्रबार राति काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा उत्तम कार्कीलगायत केही युवाले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर उनीमाथि दुर्व्यवहार गरेका थिए।
कार्कीले गाडी चेक गर्ने युवालाई आफ्नो परिचयपत्र देखाए पनि उनीहरूले गाडीको खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो।
युवाहरूले निर्देशक कार्कीमाथि दुर्व्यवहार गरेका बेला प्रहरी पनि त्यहीँ खटेको थियो। स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार हुँदामसेत मुकदर्शक बनेको भन्दै त्यहाँ खटेका प्रहरीहरूमाथि अनुसन्धान हुने भएको हो।
कार्कीमाथि भएको उक्त दुर्व्यवहारको सामाजिक सञ्जालमा तीव्र विरोध भएको थियो।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको थियो। प्रहरीले घटनामा संलग्न उत्तम कार्कीलाई आइतबार पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिरहेको छ।
डिआइजी पोखरेलले उक्त घटनामा अन्य कोही व्यक्तिको संलग्नता देखिए उनीहरूलाई पक्राउ गरिने जानकारी दिए।