सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रेमप्रसाद तुलाचन आइतबार प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे बोल्दै थिए।
छलफल आगामी वर्षको कार्यक्रमबारे भए पनि सांसद तुलाचनको विषय भने अनौठो थियो। उनले केही दिनअघि बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको आफूले महको महत्व संसदमा सुनाए।
उच्च हिमाली भेगमा पाइने मह खाए कोरोनाभाइरस संक्रमित निको हुने भन्दै एक जना धर्मगुरुले भनेपछि उनले परीक्षण गरी हेर्न प्रधानमन्त्रीकहाँ मह छाडेका रहेछन्।
‘मह परीक्षणबाट नतिजा राम्रो आएको खण्डमा नेपालको प्राकृतिक महले विश्वबजार ढाक्नेछ,’ सांसद तुलाचनले भने।
केही महिनादेखि संसारभरि कोरोनाभाइरसको महामारी छ। अहिलेसम्म सरूवा रोग विशेषज्ञ र भाइरोलोजिस्टले कोरोनाभाइरस के गर्यो भने निको हुन्छ भन्ने मेसो पाउन सकेका छैनन्। संसारका एकसेएक वैज्ञानिक कोरोनाविरूद्धको खोप बनाउन लागिरहेका छन्।
कुनै पनि वैज्ञानिक खोज/अनुसन्धानले मह खाए कोरोनाभाइरसबाट निको हुने प्रमाणित गरेका छैनन्।
वैज्ञानिक हिसाबले कुनै प्रमाण नै नभएको विषयमा सांसद तुलाचनले संसदमै किन कुरा उठाए त?
‘मलाई एक जना धर्मगुरुले मह खाए कोरोना निको हुन्छ भन्नुभएको हो। निको हुन्छ कि हुँदैन परीक्षण गरिदिनुपर्यो भनेर प्रधानमन्त्रीकहाँ मह पुर्याउन गएको हुँ,’ सांसद तुलाचनले सेतोपाटीसँग भने।
घरपालुवा मौरीको मह आफूले प्रधानमन्त्रीकहाँ पुर्याएको तुलाचनले बताए।
‘मुस्ताङकै दक्षिणी भेग, सम्धीको घरबाट ल्याएको मह परीक्षणका लागि दिएको हुँ,’ उनले भने।
हेर्नुस् भिडिओ:
प्रधानमन्त्रीलाई मह बुझाउन उनी वैशाख २६ गते बालुवाटार गएका थिए।
‘प्रधानमन्त्रीलाई भेट्न पाइनँ, अलि सञ्चो हुनु हुन्थेन त्यो बेला,’ उनले भने, ‘प्रधानमन्त्रीका स्वकीय सचिव राजेश (बज्राचार्य)जीलाई निवेदनसहित मह छाडेर आएको हुँ।’
मह शक्तिवर्द्धक भएकोले कोरोना ठिक हुन सक्ने भन्दै वैज्ञानिक विधिबाट परीक्षण गरी सत्यतथ्य पत्ता लगाउन आफूले प्रधानमन्त्रीकहाँ मह पुर्याएको तुलाचनले बताए।
‘प्रधानमन्त्री कार्यालयले त्यो मह स्वास्थ्य मन्त्री भानुभक्त ढकालकहाँ पठाउनुभएको भन्ने मलाई जानकारीमा छ,’ उनले भने, ‘परीक्षण भएको छ/छैन थाहा भएन।’
सांसद तुलाचनले मह परीक्षण गरिदिन माग गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोधार्थ निवेदनसमेत दिएको बताए।
‘धर्मगुरुले भने भन्दैमा मह जहाँ पायो त्यही खुवाउन पनि भएन,’ उनले भने, ‘मह बिष त होइन। शक्तिवर्द्धक हो। हानिकारक होइन। तर वैज्ञानिक तवरले परीक्षण हुनुपर्यो।’
मुस्ताङको घास भन्ने ठाउँबाट मह ल्याएको उनले बताए।
‘यो हिमाली भेगको फूल खाएको मह हो। उच्च हिमाली भेगको मह हो,’ उनले भने।
प्रधानमन्त्रीको सचिवालयले सांसद तुलाचनले दिएको महलाई परीक्षणका लागि स्वास्थ्य मन्त्रालय पठाइदिएको छ।
स्वास्थ्य मन्त्री ढकालका प्रेस सल्लाहकार माधव तिवारीले उक्त मह परीक्षणको प्रक्रिया पनि सुरू भइसकेको जानकारी दिए।
‘एक-दुई दिनअघि मह मन्त्रालयमा आएको थियो। मन्त्रीज्यूले विज्ञ समूहलाई परीक्षणको आवश्यक प्रक्रिया अघि बढाउन भनिसक्नुभएको छ,’ तिवारीले भने।
विशेषज्ञहरूले भने महले कोरोनाभाइरस निको हुने कुनै आधार नभएको बताएका छन्।
संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले अहिलेसम्म महले कुनै रोगसँग लड्न सघाउँछ भन्ने तथ्य नभएको बताए।
‘कहिलेकाहीँ रूघा लाग्दा मान्छेहरूले मह खाने गरेको र अलि सञ्चो भएजस्तो महसुस भएकोले त्यस्तो लागेको हुनसक्छ। तर यसले कुनै भाइरससँग लड्न सघाउँछ भन्ने मेरो अध्ययनले देखाउँदैन,’ सुवेदीले भने।