कवि श्रवण मुकारुङले ७३ औं कविता वाचन गरेपछि फेसबुकमा पोस्ट गरे, 'यो संसारसित उज्यालोका मात्र दुईवटा स्रोत छन्- एउटा सूर्य र अर्को कविता। यात्रा जारी छ।'
मुकारुङले कोरोना लकडाउनसँगै 'क्वारेन्टाइनबाट कविता शृंखला' सुरू गरेका थिए। यसमा उनी नाम चलेका पुराना कविदेखि नयाँ क्षमतावान प्रतिभाका कविता वाचन गरेर फेसबुकमा सेयर गर्छन्। नेपालका मात्र नभई अन्तर्राष्ट्रिय कविहरू रविन्द्रनाथ टैगोर, बेर्तोल ब्रेख्त लगायतका रचना पनि सुनाउँछन्।
उनी कहिले त दिनकै दुइटासम्म कविता सेयर गर्छन्। अहिलेसम्म करिब ८० वटा सुनाइसकेका छन्।
'यो कविता अभियान र टाइम-पास दुवै हो। कविताले मानिसलाई राहत, थेरापी र मनोरञ्जनको काम गरोस् भनेर यो शृंखला चलाएको हुँ,' उनले सेतोपाटीसँगको टेलिफोन वार्तामा भने, 'आफूले पनि समय गुजार्दै कविताबाट आनन्द लिन पाइरहेको छु।'
उनी कविता सुनाइरहँदा पृष्ठभूमिमा भावमिल्दो संगीत बजाइरहेका हुन्छन्। कहिले आफैं गितार बजाउन कस्सिन्छन्। गितारसँगै बाँसुरी, हार्मोनियम लगायत बाजाहरू उनलाई बजाउन आउँछ। संगीत र बाजाको मोह काका बुलु मुकारुङले जगाइदिएको उनी बताउँछन्।
'हाम्रो परिवार पहिलेदेखि नै संगीतमा अगाडि थियो। काकाले पहाड घर भोजपुरमा बाजाहरू ल्याउनुहुन्थ्यो। उहाँले बजाएको छेउमा बसेर हेर्दै सिकेँ,' श्रवणले भने।
उनी शृंखलाको निम्ति आफूले सम्झिएका र पढ्दा राम्रो लागेका कविता सुनाउँछन्। राम्रा कविका पनि सबै कविता राम्रा हुँदैनन्, प्रायः ६-७ वटा राम्रा कविताले नै कविलाई परिचित बनाउने उनको भनाइ छ।
श्रवणको यो भनाइ उनकै हकमा पनि लागू हुन्छ।
उनलाई आज पनि धेरै मानिस 'बिसे नगर्चीको बयान' कविताबाट सम्झन्छन्। यसबाहेक उनको 'अनाम योद्धा', 'शब्दको बयान', 'पुरानो मानिस' लगायत कविता चर्चित छन्। 'माथि माथि सैलुंगेमा', 'तिमी तारे भीर म त लहरा' पनि उनका परिचित गीत रचना हुन्।
मुकारुङका अनुसार पछिल्ला कविताले 'सबाल्टर्न' अर्थात् पछाडि परेका, दुःखमा भएका र आवाजविहीनहरूको आवाज बन्ने काम गरेको छ। गद्य कविताले धेरै फड्को मारेको भए पनि छन्द कवितामा नयाँपन आउन नसकेको उनी बताउँछन्।
लकडाउनमा धेरै मान्छे कविता लेखिरहेका छन्। यस्तो अन्यौलको घडीमा कलाले मान्छेलाई सहारा दिने बताउँदै उनले भने, 'एउटा कुरा के पुष्टि भयो भने मानिसलाई केवल भौतिक सुखसुविधाले नपुग्दो रहेछ। ठूलो विपत्ति आउँदा मान्छेलाई राहत दिन, खुसी बनाउन कलाले नै महत्वपूर्ण भूमिका खेल्छ।'
उनले अगाडि भने, 'लकडाउनमा परेपछि मान्छेले त्यस्तै सहारा खोज्न थाल्यो। मनका कुरा भन्ने, पोस्ट गर्ने यो त कस्तो राम्रो कुरा हो नि। म त यसले नयाँ कविहरू जन्मिने सम्भावना देख्दैछु। लेख्दै, पोस्ट गर्दे जाँदा कविता पनि नशाजस्तै हुन्छ। राम्रो कवि जन्मिन सक्छ।'
कविता ठट्टा र चानचुने कुरा नभएकाले रहर गर्दैमा सबै कवि नबन्ने उनी बताउँछन्। यसका लागि ठूलो साधना चाहिन्छ। आफैंले पनि चार दशक लामो साधना गरिसके। तै पनि उनलाई अझै राम्रो कविता लेख्न बाँकी नै छ भन्ने लाग्छ।
'यो त एउटा मूर्तिकारले मूर्ति बनाउनुजस्तै हो। वा, कुमालेले माटोको भाँडा बनाएजस्तो। जति अभ्यास गर्यो त्यति राम्रो हुन्छ,' उनी भन्छन्, 'यस्ता ठूला घटना र विपत्तिले नयाँ श्रष्टा जन्माउन सक्ने सम्भावना बढ्छ। पहिलो र दोस्रो विश्वयुद्ध, प्लेग लगायत महामारीले पनि धेरै साहित्यकार जन्माएको थियो।'
यसै समय चर्चामा आएको प्रधानमन्त्रीको कवितालाई भने उनी गुणस्तर नभएको कविता मान्छन्। यसले सामान्य मानिसलाई कविता त यस्तो पनि हुँदो रहेछ भन्ने भ्रम छर्न सक्ने उनको तर्क छ।
साहित्यमा लागेका नेताहरू बिपी कोइराला, चीनका माओ-त्से-तुङ, भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयी लगायतलाई सम्झँदै उनी भन्छन्, 'प्रधानमन्त्री भएर जे लेख्दा पनि हुन्छ भन्ने सोच्नुभएन। बरू लेख्नै आउँदैन भने यस्तो समय त देशका कवि-लेखकहरूले कहाँ दुःख पाइरहेका छन्, क्वारेन्टाइनको समय खान पाइरहेका छैनन् कि भनेर पो हेर्नुपर्यो।'
नेता र राजनीतिको प्रसंग आएकाले मैले सोधेँ, 'तपाईं भने कवि भएर राजनीतिमा लाग्नुभयो नि?'
'त्यो एउटा ठूलो समय थियो। २०६२-६३ को जनआन्दोलन भनेकाे महत्वपूर्ण ऐतिहासिक घडी हो। त्यो समय राजनीति गरौं कि भनेर आएको थिएँ, तर त्यो मेरो क्षेत्र होइन रहेछ,' उनले भने, 'जसरी एउटा कवि, लेखकले राजनीतिलाई हेर्छ, सोच्छ, बुझ्छ, त्योभन्दा धेरै फरक हुने रहेछ। हामी कोमल हृदय भएका साहित्यकारलाई बुझ्न गाह्रो हुने रहेछ राजनीति।'
सुशील कोइरालाको पालामा राजनीतिमा लागेका मुकारुङ कांग्रेसबाट समानुपातिक उम्मेदवार पनि भएका थिए। कोइरालाको निधनपछि त्यति सक्रिय नभएको उनले बताए।
'राजनीतिमा सबैखाले मान्छे हुन्छन्। त्यहाँ धेरै ठूलो राजनीतिक प्रतिस्पर्धा हुँदो रहेछ। विस्तारै मलाई मेरो क्षेत्र त साहित्य नै हो, लेखन नै हो भन्ने महशुस भयो,' उनले भने।
साहित्य भने प्रतिस्पर्धाको क्षेत्र नभएको मुकारुङको धारणा छ। यहाँ आफ्नो परिचय आफैं बनाइन्छ। अर्को कमजोर भएर आफू राम्रो हुने क्षेत्र नभई स्वयं राम्रो हुने क्षेत्र हो। साहित्यमा आ–आफ्नो पहिचान बनाइने बताउँदै उनी भन्छन्, 'यहाँ आफैंसँग प्रतिस्पर्धा हुन्छ।'
उनी कवितालाई मानिसले व्यक्त गर्ने सबभन्दा माथिल्लो तहको भाषा मान्छन्। बुद्धका वाणी, वेदका ऋचा, बाइबलका पद सबै कविता भएकाले उनी यसलाई साहित्यको उत्कृष्ट विधा भन्छन्। मान्छेले कविताबाट नढाँट्ने र उसलाई लागेको अन्तिम सत्य भन्ने उनी बताउँछन्।
'हामी गफ गर्दा त कतिपटक ढाँटिरहेका हुन्छौं। चिया खानुभयो भन्दा नखाए पनि खाइसकेँ भनिरहेका हुन्छौं। कवितामा भने यथार्थ पोखिन्छ,' उनी अर्थ्याउँदै भन्छन्, 'कवितामा अन्तिम सत्य भनिने हुनाले यो अन्तिम आवाज, समाज र राजनीति लगायतको अन्तिम निष्कर्ष हो। जसले ढाँट्छ त्यो कवि हुन सक्दैन। साँच्चैको कवि हो भने उसले ब्रह्मसत्य भनेको हुन्छ। त्यसमा रुपक, विम्ब र कल्पना जोडिएर आउलान्, तर सारमा जे भनिरहेको हुन्छ, त्यो नै कविताको विन्दु हो।'
धेरैले रुचाइरहेको 'क्वारेन्टाइन कविता श्रृंखला' बढीमा ८५ कवितामा सीमित गर्ने मुकारुङको सोच छ। त्यसपछि उनी गम्भीर लेखनतर्फ लाग्ने तयारीमा छन्। उनले भनेको गम्भीर लेखन खण्डकाव्यजस्तै लामा कविता हुनेछन्।
लकडाउन नहुँदो हो त मुकारुङ साहित्यिक गतिविधि, संगीतकार, कलाकार भेट्ने लगायत काममा व्यस्त हुन्थे। अहिले सामाखुसीमा श्रीमती र दुई छोरीसँग समय बिताइरहेका छन्। चौबीसै घन्टा परिवारसँगको सामीप्य महशुस गरिरहेका छन्। विशेष गरी छोरीहरूको आनीबानी र स्वभाव नजिकबाट बुझ्न पाएको उनी बताउँछन्।
'एउटी छोरी पाँच र अर्की एसइई दिनेवाला छन्। केटाकेटी सानै होलान् भन्ने सोचिन्थ्यो। उनीहरूलाई यति मात्रै थाहा होला भन्ने लाग्थ्यो, तर त्योभन्दा धेरै जान्नेसुन्ने भइसकेका रहेछन्,' उनले भने, 'ल्यापटप चलाउनेजस्ता प्राविधिक कुरामा निकै अगाडि रहेछन्। लामो समय घर बसेपछि मलाई उनीहरूको दायरा फराकिलाे हुँदै गएको बोध भइरहेको छ।'
पछिल्लोपटक उनी केही पुराना फिल्म पनि दोहोर्याएर हेरिरहेका छन्। चिनियाँ, इरानी र इरफान खानको निधनपछि उनका फिल्म खोजेर हेरेछन्। फिल्म 'बरान', 'द पोस्टम्यान इन द माउन्टेन', 'रोड होम' लगायत मन परेको बताउँदै भने, 'कुनै पनि राम्रो फिल्म छ भने त्यो कविताजस्तै हुन्छ। कुनै पनि सुन्दर चिज कविता हो।'
मुकारुङ आफैंले पनि दयाहाङ राईले सुरूमा अभिनय गरेको फिल्म 'अनागरिक' को स्क्रिप्ट लेखेका थिए। अहिले लकडाउनमा सामाजिक विषयमा केन्द्रित स्क्रिप्ट पनि लेखिरहेका छन्।
अहिले घरमा बस्दा मुकारुङको कवि मन प्रकृति, जनावर र वनस्पतितर्फ सजग हुन थालेको छ, 'घरवरिपरि परेवाहरू बस्छन्, उनीहरूप्रति चिन्तित छु। फूलहरू, बिरुवाहरू देख्दा ओहो! यो त बाँचेर जाओस् भन्ने भावना आउँछ।'
'अरू मानिसमा पनि यस्तो भावना सुरू भइसक्यो होला। मानिसहरूले छेउमा भएको रूख अब काटी हाल्दैनन् होला। कुनै जनावर देख्यो भने हानी हाल्दैनन् होला। चरा देख्यो भने मार्दैनन् होला। बोट, फूल पनि फुत्त उखेल्ने, चिमोट्ने गर्दैनन् होला।'
सरकार ठिकसँग नचल्ने हो भने मान्छेले फेरि मजबुर भएर विनाश गर्लान् भन्ने उनको चिन्ता छ, 'राज्य नै अनुशासनमा छैन। केही उपाय भएन भने त मान्छे फेरि ब्याक टु मंगलमान जस्तो भइहाल्छन् नि। मजबुरीको नाम महात्मा गान्धी भनिन्छ नि!'
क्वारेन्टाइनबाट विप्लव प्रतीककाे कविता ७३
Posted by श्रवण मुकारुङ on Thursday, May 14, 2020