दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी उपाध्यक्षले सोही पालिकाका अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन्।
उपाध्यक्ष पुष्पा अवस्थीले अध्यक्ष नरेन्द्रसिंह धामीविरुद्ध आर्थिक अनियमितता र मनपरी गरेको भन्दै छलफल सहित निकासको माग गरी उजुरी दिएकी हुन्।
अवस्थीले सेतोपाटीसँग जिल्ला प्रशाशन कार्यालयलाई लिखित जानकारी दिएको बताइन्। अध्यक्षले कर्मचारीलाई एकलौटी चलाउन खोजेको, भ्रष्टाचार गरेको र समन्वय नै नगरेको भन्दै उनले तीन दिनभित्र छलफल गराइदिन प्रशाशनलाई अनुरोध गरेको बताइन्।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता र राष्ट्रपतिको मालिकार्जुन मन्दिर भ्रमणका लागि विनियोजन गरिएको रकमभन्दा दोब्बरका बिलहरू बनाएको, कोरोना भाइरसको नियन्त्रणका लागि बैठकबाट विनियोजित र अन्य गरी ६४ लाख बराबरको खर्च बिलहरू सन्तोषजनक नरहेको उनले पत्रमा उल्लेख गरेकी छन्।
अध्यक्षले क्वारेन्टिनमा रहेकाको व्यवस्थापन, दिर्घरोगीलाई औषधि वितरण गर्नेजस्ता काममा पक्षपात गरेको उनले आरोप लगाएकी छन्। त्यस्तै
कोरोनाको नाममा काम गरेको भन्दै भत्ता खाएको, जिल्लाबाहिर रहेका नागरिकलाई मद्दत गर्न नसकेको, विदेशमा अलपत्र परेकालाई फिर्ता ल्याउन नमानेको आरोप उनले लगाएकी छिन्।
गाउँपालिकाबाट वितरण गरिएको राहतमा पनि पारदर्शिता नभएको, भाडामा लिएर प्रयोग गरिरहेको गाडी पनि मनोमानी चलाउन खोजेको उनको आरोप छ।
विभिन्न आठ बुँदामा छानबिनको माग गरेकी उपाध्यक्षले तीन दिन भित्र छलफल गरी निकास नदिए अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत र लेखापालको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिएकी छन्।