कर्णालीमा पहिलोपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। दैलेखको आठविसकोट नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।
सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो।
सोमबार बेलुका नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ नै देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए।
‘यहीँ पोजेटिभ देखिएको थियो, तै पनि पहिलो भएकाले कन्फर्म गर्न नेपालगन्ज पठाएका हौं। त्यहाँबाट पनि पोजेटिभ नै देखियो,’ आचार्यले सेतोपाटीसँग भने।
कर्णालीमा फेला परेका यी पहिलो कोरोना संक्रमित व्यक्ति जेठ १ गते भारतबाट आएका थिए। रोजगारीका लागि गएका उनी भारतको आग्राबाट आएको आठविस नगरपालिकाका मेयर खड्कराज उपाध्यायले जानकारी दिए।
उनी आठविस नगरपालिका–१ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन्। उनीसँग ३९ जना उक्त क्वारेन्टाइनमा रहेको मेयर उपाध्यायले जानकारी दिए।
मेयर उपाध्यायका अनुसार उनीसँग एकै बसमा ४८ जना भारतबाट आएका थिए । तीमध्ये ८ जना दैलेखको ठाँटीकाँध गाउँपालिका र १ जना चामुण्डा विन्द्रासैनी नगरपालिकाका हुन्। ठाँटीकाँधका ८ जनालाई सम्बन्धित गाउँपालिकाले क्वारेन्टाइनमा राखेको भए पनि सोमबार छाडिसकिएको छ।
चामुण्डाका एक जनाका बारेमा भने आफूलाई जानकारी नभएको उपाध्यायले जानकारी दिए।
‘अहिले संक्रमण देखिएका व्यक्ति भारतबाट आएका हुन्, उनीसँग एकै बसमा ४८ जना यता आएका थिए,’ मेयर उपाध्यायले भने, ‘तीमध्ये यहाँका ३९ जना सबै यहीँ क्वारेन्टाइनमा छन्, अरू चामुण्डा र ठाँटीकाँधका हुन्।’