सोमबार बेलुका दैलेखका एक जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसके पनि ती व्यक्तिलाई क्वारेन्टाइनमै राखिएको छ।
दैलेखको आठबीस नगरपालिका–१ साततलाका ३५ वर्षीय युवकलाई कोरोना भएको पुष्टि भए पनि सोही ठाउँको क्वारेन्टाइनमा राखिएको हो।
सुर्खेतको पिसीआर परीक्षण गर्दा सोमबार बिहान कोरोना संक्रमण देखिएको थियो। सुर्खेतमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागि स्वाब नेपालगञ्ज पठाइयो। त्यहाँबाट कोरोना संक्रमण पुष्टि भएको हो।
ती युवासँगै अहिले ३९ जना मानिस क्वारेटाइनमा बस्छन्। उनीहरू सबै एकै दिन भारतबाट आएका हुन्। आठबीस–१ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको छ।
आठबीस–१ का वडाध्यक्ष पर्वसिंह बिकले हालसम्म कोरोना संक्रमित व्यक्तिलाई क्वारेन्टाइनबाट बाहिर ल्याउन नसकिएको बताए।
‘पुष्टि भएको त हिजै हो, तर को हुन् भन्ने पनि खुलाइएको छैन,’ उनले भने, ‘नखुलाइएपछि पुष्टि भइसक्दा पनि सबैलाई सँगै राखिएको छ, जिल्लामा भनिसकेका छौं। तर कुनै जवाफ आएको छैन।’
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले भने संक्रमित व्यक्तिलाई मंगलबार बेलुकासम्म क्वारेन्टाइनबाट सिफ्ट गरिने बताए।
‘अहिले तयारी भइरहेको छ, आज बेलुकासम्म सदरमुकाम सिफ्ट गरिसक्ने कुरा छ,’ डा. पन्तले भने।
उनका अनुसार दैलेख सदरमुकाममा ३४ बेडको आइसोलेसन अस्पताल तयार पारिएको छ।
कोरोना संक्रमण देखिएका आठबीसका ती व्यक्तिलाई सदरमुकाममा रहेको आइसोलेसनमा राखिने उनले जानकारी दिए।
दैलेखका ती संक्रमित व्यक्ति कर्णालीकै पहिलो कोरोना भाइरस संक्रमित व्यक्ति हुन्।
जेठ १ गते भारतको आग्राबाट नेपाल आएका उनी आफ्नो गाउँमा रहेको क्वारेन्टाइनमा बसेका थिए।
सोमबार पिसीआर गर्दा उनमा कोरोना पुष्टि भएको हो।
आठबीस नगरपालिकाका मेयर खड्कराज उपाध्यायका अनुसार उनीसँगै एउटै बसमा ४८ जना भारतबाट आएका थिए।
तीमध्ये ८ जना दैलेखको ठाँटीकाँध गाउँपालिका र १ जना चामुण्डा विन्द्रासैनी नगरपालिकाका हुन्।
ठाँटीकाँधका ८ जनालाई सम्बन्धित गाउँपालिकाले क्वारेन्टाइनमा राखेको भए पनि सोमबार छोडिसकेको मेयर उपाध्यायले जानकारी दिए।