स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थपिएका २७ जना कोरोनाभाइरसका संक्रमितमध्ये १ जना लमजुङका भनेर उल्लेख गर्यो। मन्त्रालयले ब्रिफिङका क्रममा संक्रमितको संख्या सार्वजनिक गरे पनि संक्रमित भनिएको परिवारलाई कुनै जानकारी दिएन।
कोरोनाभाइरस परीक्षण गर्दा कसैको रिपोर्ट पोजेटिभ आए संक्रमितलाई तत्काल अस्पताल लैजाने र स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गरेको छ।
मंगलबारको घटनामा भने सरकारले कुनै चासो दिएन। संक्रमितको परिवारलाई समेत जानकारी दिएन।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर लमजुङका १ जना संक्रमित भन्दै गर्दा लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्का पनि बेखबर थिए।
सेतोपाटीले मंगलबार सम्पर्क गर्दा उनले अहिलेसम्म लमजुङका कोही पनि संक्रमित नभएको बताएका थिए।
कोरोना रोकथामका लागि लमजुङ प्रशासनले जेठ ३ गतेदेखि जिल्ला ‘सिल’ गरेको थियो। सिल गरेकै समयमा जिल्लामा संक्रमित भेटिएको भन्नेबारे यकिन गर्न सिडिओ खड्कालाई पनि हम्मेहम्मे पर्यो। सोमबारमात्र लमजुङबाट ८ जनाको पिसिआर परीक्षण गर्न स्वाब पोखरा पठाएको थियो। उक्त परीक्षणको नतिजा आइसकेको थिएन।
लमजुङबाट पछिल्लो पटक पठाएको स्वाबको रिपोर्ट नआउँदै लमजुङमा १ जना संक्रमित भन्ने खबर फैलिसकेको थियो।
स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सम्पर्क गरेपछि मात्र उनले लमजुङको संक्रमित काठमाडौं निवासी भएको थाहा पाए। मंगलबार साँझ नै पोखरामा पिसिआर परीक्षण गर्न पठाएको ८ जनाकै रिपोर्ट नेगेटिभ आयो।
मंगलबार देखिएको लमजुङको संक्रमित तीन वर्षीय बालक हुन्। उनी अहिले काठमाडौं बस्छन्। संक्रमित बालक र उनका आमा बर्दिबास जान भनेर चैत ९ गते काठमाडौं बनस्थलीबाट हिँडेका थिए। उनको माइती बर्दिबास हो। बर्दिबासमा ती महिलाकी ९३ वर्षीया आमा बिरामी थिइन्।
आफू माइत जाँदा बालककी सानी हजुरआमा अर्थात् उनकी आमाकी सानिमा धादिङ थिइन्। उनीहरू धादिङ गएर बसे। लकडाउनका कारण बर्दिबास जान नसक्ने बुझेर त्यहीँ बस्न थाले। बालककी सानी हजुरआमा धादिङको गंगाजमुना ४ बुङ्दीस्थित हेल्थपोष्टमा काम गर्छिन्।
हेल्थपोष्टमा उक्त क्षेत्रमा विदेशबाट आएका ९ जनाको ‘आरडिटी टेष्ट’ गर्ने टोली आयो। गाउँपालिकाले नै हेल्थपोष्टमा उक्त परीक्षणका लागि ‘ल्याब’ ल्याएको थियो। सबैको नतिजा नेगेटिभ आयो।
संक्रमित बालक र आमासहित उनीहरू काठमाडौं फर्कन चाहे। उनीहरूसँगै धादिङको हेल्थपोष्टमा काम गर्ने सानीहजुरआमा र उनका छोरा पनि गरी ४ जना धादिङबाट काठमाडौं फर्किए। बनस्थलीमा लिएको कोठामा फर्किएपछि घरबेटी र छिमेकीले ‘एक पटक चेक गर्दा राम्रो’ भनेर सुझाव दिए। उनीहरूले नकार्न सकेनन्।
गत शुक्रबार उनीहरू ४ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिनभर लाइन बसेर स्वाब परीक्षण गर्न दिए। रिपोर्ट पोजेटिभ भए मोबाइलमा म्यासेज आउने प्रयोगशालाका अधिकारीहरूले जानकारी गराए। उनीहरू घर फर्किए। मंगलबार स्वास्थ्य मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्दासम्म उनीहरूको मोबाइलमा कुनै म्यासेज आएन।
मंगलबार लमजुङका १ जना संक्रमित भन्ने समाचारसँगै लमजुङका प्रमुख जिल्ला अधिकारीले खोजेर ३ वर्षीय बालकलाई कोरोना संक्रमण भएको पत्ता लगाएका थिए। यता, परिवारलाई भने मंगलबार रातिसम्म कसैले जानकारी दिएका थिएनन्।
स्वाब परीक्षणमा दिँदा स्थायी ठेगाना मागेपछि संक्रमित बालकका आमाले घर लमजुङ भएको बताएकी थिइन्। उनीहरू दसैंमा मात्र लमजुङस्थित घर गएका थिए। बालकका बुबा दोलखास्थित जलविद्युत आयोजनामा इञ्जिनियर छन्।
संक्रमित बालककी सानी हजुरआमाको मोबाइल मंगलबार साँझसम्म अफ थियो। उनीसँग रातिमात्र सम्पर्क भयो।
‘तपाईंको परिवारलाई कोरोना संक्रमण भएको हो?,’ भनेर सोध्दा उनी आश्चर्यमा परिछन्। स्वाब परीक्षण गर्न दिए पनि अहिलेसम्म ‘रिजल्ट’ नआएको उनले बताइन्। उनले संक्रमित भनिएका बालक स्वस्थ रहेको र कुनै पनि लक्षण नदेखिएको बताइन्।
भोलिपल्ट अर्थात् बुधबार बिहानसम्म स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट पनि उनीहरूलाई केही खबर आएन।
बालकका आमा छोरा र मामा आफ्नो रिपोर्ट माग्न बिहान ७ बजे टेकु गए। कार्यालय नखुलेको भन्दै प्रयोगशालाका कर्मचारीले साढे ८ बजेसम्म त्यतिकै राखिदिए। कार्यालय खुलेपछि उनीहरू ४ जनामध्ये ३ जनाको रिपोर्ट दियो। तीनै जनाको रिपोर्ट नेगेटिभ थियो। बालकको रिपोर्ट पोजेटिभ देखिएकाले पुन: परीक्षण गर्न स्वाब निकालियो।
कोरोना पोजेटिभ देखिएको लमजुङ स्थायी घर भएका ती बालकको नतिजाका आधारमा स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् जानकारी त गरायो तर बालक कहाँ छन्? कुन अवस्थामा छन्? भनेर बुझ्न चाहेन। संक्रमित भएपछि कहाँ राख्ने कसरी उपचार गर्ने भनेर समेत परिवारका सदस्यलाई भनेन।
संक्रमित भनिएका बालकका एक आफन्तले सेतोपाटीलाई भने, ‘कोरोना जाँचेर पोजेटिभ रिपोर्ट आएपछि पनि सरकारले कुनै वास्ता गरेन।’
आमासँगै र संक्रमित बालक बुधबार दिउँसो पाटनस्थित आइसोलेसनमा गएका छन्। बालकको पुन: परीक्षणका लागि प्रयोगशालाले स्वाब लिएको छ। बिहीबार रिपोर्ट आउने जनाएको छ।
संक्रमित भनिएका बालक र उनका परिवार आफैं सचेत भएर प्रयोगशाला गएका थिए। बालकका एक आफन्तले भने, ‘हामीलाई सरकारले वास्ता गरेन, हामी आफैं नगएको भए त थाहै हुने थिएन।’