भारतको एक क्वारेन्टाइमा मृत्यु भएका स्याङजाको हरिनास गाउँपालिका वडा नम्बर २ प्यारासिंङका ३५ वर्षीय देवबहादुर थापा (शंकर) को शव स्वदेश ल्याउने प्रक्रिया सुरू गरिएको छ।
रूपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले शव ल्याउने तयारी गरिएको बताए।
‘मृतकका आफन्तलाई आएपछि शव ल्याइन्छ,’ उनले सेतोपाटीसँग भने।
सुनौलीपारि भारतको नौतनवामा रहेको राजिव गान्धी पिजी कलेजको क्वारेन्टाइनमा रहेका थापाको शनिबार साँझ मृत्यु भएको थियो।
दिल्लीनजिकै अलिगढ भन्ने ठाउँमा रोजगारी गरी घर फर्केका थापा गत जेठ ५ गतेदेखि उक्त क्वारेन्टाइनमा बस्दै आएको प्रहरी उपरीक्षक थापाले सेतोपाटीलाई बताए।
मृतक थापा मिर्गौला र हर्नियाका बिरामी रहेको खुलेको उनको भनाइ छ।
शनिबार असजिलो भएपछि उनलाई भारतकै महाराजगञ्जस्थित एक अस्पतालमा लगिएको थियो।
परीक्षणपछि औषधि लिएर शनिबार साँझ उनी क्वारेन्टाइन फर्केका थिए। क्वारेन्टाइन फर्केको केही समयपछि उनको मृत्यु भएको हो।
थापा पाँच महिना पहिले मजदुरीका लागि भारत गएका थिए।
थापाको घर रहेको स्याङ्जा हरिनास गाउँपालिका-२ का वडाध्यक्ष पर्शुराम सिग्देलले छिटै घर फर्किने बताएका थापाको मृत्युको खबर आएको बताए।
‘शनिबार राति १० बजेतिर मृत्युको खबर आएको हो,’ उनले भने, ‘स्याङ्जा र रूपन्देही प्रशासनसँग समन्वय गरी शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ।’
थापासँगै उक्त क्वारेन्टाइनमा गाउँकै अर्का एक जना पनि रहेको वडाध्यक्ष सिग्देलले सेतोपाटीलाई बताए।
‘हाम्रो गाउँ सुनाखरीका लोकबहादुर थापा पनि त्यही क्वारेन्टाइनमा हुनुहुन्छ,’ उनले भने।
वडाध्यक्ष सिग्देलका अनुसार मृतक थापामा कोरोना नेगेटिभ देखिएको छ।
‘पिसिआर परीक्षणको रिपोर्ट शनिबार ९ बजेतिर आयो। कोरोना देखिएन। नेगेटिभ रहेछ,’ उनले भने।
थापाको शव तनहुँको दुलेगौडामा ल्याएर अन्त्येष्टि गर्ने तयारी रहेको उनले जानकारी दिए।
‘विदेशमै अन्त्येष्टि गर्न परिवारका सदस्य मानेनन्। दुलेगौडामा अन्त्येष्टि गर्छौं,’ उनले भने।
अध्यक्ष सिग्देलका अनुसार आइतबार शव नेपाल ल्याइनेछ।
थापाको परिवार न्युनवर्गीय हो। यसअघि उनी कतार गएर फर्केका थिए।
‘घरमा आमाबुवा, श्रीमती र दुई छोरी छन्,’ अध्यक्ष सिग्देलले भने।
थापाको परिवार नवलपरासीको चोरमारामा बस्ने कि भनेर तयारी पनि गरिरहेको थियो।
‘उहाँकी श्रीमती नवलपरासी रहेको भन्ने छ। हामी झिकाउँदैछौं,’ उनले भने।
थापाले शुक्रबार आफ्नी आमासँग कुराकानी गरेको वडाध्यक्ष सिग्देलले जानकारी दिए।
‘अघिल्लो दिन दिउँसो २ बजे आमासँग मोबाइलमा कुराकानी भएको रहेछ। म सञ्चै छु, छिटै आउँछु भनेका रहेछन्,’ अध्यक्ष सिग्देलले भने, ‘भोलिपल्ट मृत्युको खबर आयो।’
थापाको मृत्युको खबरपछि निरन्तर उनका घरमा जनप्रतिनिधि र गाउँले गइरहेको पनि उनले बताए।
‘शव नेपाल ल्याउने र परिवार तथा आफन्तमा समवेदना दिन गाउँपालिका अध्यक्ष र म निरन्तर उहाँको घरमा गइरहेका छौं,’ उनले भने।
शव नेपाल ल्याएपछि गाउँका दाइभाइ लिएर आफूहरू शव अन्त्येष्टिका लागि दुलेगौडा जाने उनले बताए।
‘कोरोना त देखिएन तैपनि सुरक्षित किसिमले अन्त्येष्टि गर्नुपर्नेछ,’ उनले भने।