पाटनसँग मेरो नजिकको दोस्ती छ। संस्कृति र सम्पदाको रिर्पोटिङ मैले यहीँका मन्दिर र पोखरीबाट सुरू गरेकी थिएँ। दुई वर्षको अन्तरालमा यहाँका केही गल्ली र केही मान्छेसँग मेरो दोहोरो सम्बन्ध गाँसिएको छ।
लकडाउनमा मैले सबभन्दा बढी 'मिस' गरेको यहाँका गल्लीहरू हुन्। ती मान्छेसँगको भेटघाट हो। र, हप्तादिनमा पुग्ने रैथाने खाजाघरहरू हुन्।
लकडाउनको ५० औं दिनमा मैले घरबाट निस्केर सहर चहार्ने मौका पाएको थिएँ। पिँजडाबाट मुक्त पन्छीझैं म पाटनका तिनै गल्लीहरूमा पुगेँ।
दरबार स्क्वायरमा पहिलेजस्तो रौनक थिएन। मान्छेका स्पर्श र चहलपहल ती सम्पदाहरूले पनि 'मिस' गर्दा हुन्!
सुनसान दरबार स्क्वायर छिचोल्दै स्वठः पुग्दा 'मास्टर बाजे' सँग भेट भयो। मास्टर बाजे, अर्थात् रामप्रसाद अमात्य पाटनका मठ-मन्दिरबारे कथा सुनाउँछन्। रिपोर्टिङकै क्रममा मेरो उनीसँग चिनजान भएको थियो।
कान कम सुन्ने मास्टर बाजेले यसबीच 'हेयरिङ-एड' लगाउन थालेछन्। पहिले उनीसँग कथा सुन्दा एउटै प्रश्न बारम्बार सोध्नुपर्थ्यो। एउटा मन्दिरको कथा जान्न थप तीन-चार वटा मन्दिरको नालीबेली सुन्नुपर्थ्यो। अहिले उनीसँग दोहोरो संवाद सजिलो भएछ। अब उनी प्रश्नकर्ताको प्रश्न राम्ररी नसुनेर एकोहोरो कथा सुनाउँदैनन् होला!
आजकल त बाजेले पनि कथा सुन्नेहरू 'मिस' गर्दा हुन्!
बाजेलाई भेटेपछि म गोल्डेन टेम्पल, नागबही लगायत ठाउँ डुल्दै पाटनको कुमारी बहाः (रत्नाकर महाविहार) पुगेँ।
पहिले म हप्तादिनमा एकचोटि त्यहाँ पुगिरहेकी हुन्थेँ। कुमारी र कुमारीका परिवारसँग चिनजान पनि रिपोर्टिङले नै गराएको थियो। बढीजसो म बहालका गुठीयार र बाजेहरूसँग गफ चुट्छु। हिँड्दाहिँड्दै थाक्दा त्यतै कतै आराम गर्छु। कहिलेकाहीँ कुमारीले झ्यालबाट बोलाउँथिन्, म माथि उक्लिन्थेँ।
यसपालि बहाः सुनसान थियो। कुमारी घर बन्द। माथि पूजा भइरहेको रहेछ। तल एक जना मात्र चिनेका गुठीयार भेटिए। मलाई देखेपछि उनले सोधे, 'तपाईं किन आउनुभएको?'
मलाई यो प्रश्नले झस्कायो। पहिले लामो समयको अन्तरालमा बहाः पुग्दा बाजेहरू सोध्थे, 'धेरै दिनपछि आउनुभयो त।'
मैले कुनै जवाफ दिन सकिनँ। सोधेँ, 'यहाँ केको पूजा भइरहेको?'
लकडाउनका कारण गुठीपूजा सरेको रहेछ। 'लकडाउन खुल्ने निश्चित छैन, पूजा त गर्नै पर्यो,' उनले भने।
'रातो मच्छिन्द्रनाथको जात्रा पनि त तपाईंहरूले गर्नैपर्छ रे होइन?'
मेरो यो प्रश्नमा उनी चिन्तित सुनिए। रातो मच्छिन्द्रनाथको जात्रालाई वर्षकै लामो रथयात्रा मानिन्छ। करिब १४ सय वर्ष पुरानो इतिहास बोकेको यो जात्रामा रथयात्रा गराइने मच्छिन्द्रनाथलाई भारतको आसामदेखि ल्याइएको किम्बदन्ती छ।
किम्बदन्तीअनुसार गुरू गोरखनाथले आफूलाई कसैले भिक्षा नदिएको झोंकमा सम्पूर्ण नागलाई वशमा लिएछन्। नागलाई वशमा लिएपछि देशमा वर्षा भएन। अनिकाल लाग्यो। त्यसपछि भक्तपुरका राजा नरेन्द्रदेव, बाैध आचार्य बन्धुदत्त र ललितपुरका ज्यापु ललितले आसाम गएर गोरखनाथका गुरू मच्छिन्द्रनाथलाई ल्याएछन्।
नागमाथि बसेका गोरखनाथ आफ्ना गुरूलाई अगाडि देखेपछि दर्शन गर्न जुरुक्क उठेछन्। यही मौकामा नागहरू गोरखनाथको वशबाट मुक्त भए। त्यसपछि काठमाडौंमा वर्षा सुरू भयो र अनिकाल हरायो भन्ने भनाइ छ।
मच्छिन्द्रनाथको रथ ३२ हात (४८ फिट) अग्लो हुन्छ। यसमा ३२ वटा भगवान रहेका विश्वास गरिन्छ। रथ निर्माणमा संलग्न सूर्यमान डंगोलका अनुसार मच्छिन्द्रनाथलाई यहाँ ल्याउँदा ललितपुरमा वर्षभरि ३२ देवदेवीको जात्रा हुन्थ्यो।
मच्छिन्द्रनाथले जुक्ति लगाएर भनेछन्, 'युगअनुसार चल्नुपर्छ। वर्षमा यति धेरै भगवानको जात्रा गरेर हुन्न। म एक हात बराबर एक भगवानलाई अदृश्य रूपमा रथमा लिएर हिँड्छु।'
सबै देव-देवी उनको प्रस्तावमा सहमत भएछन्। मीननाथ भने झोंक्किए, 'तिम्रो अधिनायकवाद मलाई मन परेन।'
उनले रिसको झोंकमा मच्छिन्द्रनाथलाई बज्र प्रहार गर्न खोज्दा तंगालमा रहेको पञ्चबुद्धको चैत्यमा लाग्यो। पछि आफूले गल्ती गरेको महशुस गरेर मीननाथले माफी मागे।
मच्छिन्द्रनाथले पनि आफूसँगै मीननाथको रथयात्रा गराउने प्रस्ताव राखे। दुवैको सहमति भयो।
यही घटनापछि करिब १४ सय वर्षदेखि अनवरत चलिरहेको मानिने एक महिना लामो यो जात्रा यसपालि कोरोनाका कारण रोकियो। कुनै वर्ष जात्रा हुन सकेन भने मच्छिन्द्रनाथलाई बुंगमतीबाट भक्तपुर लगेर राख्नुपर्छ भन्ने कहावत पनि छ।
के अब साँच्चै मच्छिन्द्रनाथ भक्तपुर पुग्लान्?
मैले यसबारे भक्तपुरका संस्कृतिविद् ओम धौभडेलसँग कुराकानी गरेँ।
'यसको लिखित दस्तावेज छैन, भन्दै-सुन्दै आएको कहावत हो,' उनले विस्तार लगाए, 'मच्छिन्द्रनाथको भोटो घन्टाकर्णको दिनअघिसम्म देखाउन सकेन भने भक्तपुर ल्याउने भन्ने कुरा छ।'
उनले अगाडि भने, 'राष्ट्रिय स्तरबाटै सामाजिक दुरी बनाउने उर्दी जारी भएका बेला हिजोको कहावत लागू नहुन पनि सक्छ।'
जात्रामा व्यवधान आएको पहिलोपटक भने होइन। २०७२ को भुइँचालोपछि पनि जात्रा गर्न समस्या परेको थियो। त्यो बेला पनि भक्तपुरमा लग्ने कि भन्ने कुरा आएको धौभडेलले बताए।
'यसका लागि कसले जिम्मा लिने निर्क्यौल गरेर संगठित पहल गर्नुपर्छ। नत्र त प्रचारबाजी मात्रै हुन्छ,' उनले भने, 'आसामबाट त्यो बेला भक्तपुरका राजाको पहलमा ल्याइएको भए पनि कारणवश ललितपुरमा जात्रा भएको थियो। त्यही भएर ललितपुरलाई 'तिमीहरूले गर्न सकेनौ भने हामी लग्छौं' भन्ने चेतावनी हो।'
यता ललितपुरलाई भने चिन्ता छ, जात्रा रोकिएर आफ्नो प्रतिष्ठामा आँच आउला कि भन्ने। जात्रा गर्न नसकेर खिसिट्युरी होला कि भन्ने।
भक्तपुर आफैं पनि सहरको ठूलो जात्रा 'बिस्काः' मनाउन नपाउँदाको चोटमा छ।
बिस्काः भक्तपुरको मूल जात्रा मात्र होइन, लिच्छवि कालदेखि चलिआएको परम्परा हो। लिच्छविहरूले शासन गर्न थालेपछि विजयोत्सवका रूपमा यो जात्रा चलाएको स्थानीय विश्वास छ। बिस्काःमा ठड्याइने यःसि (लिंगो) लाई किराँतमाथि लिच्छविहरूको विजय प्रतीकका रूपमा लिइन्छ।
किराँतको पराजयपछि कम्तिमा दुई हजार वर्षदेखि चल्दै आएको यो जात्राले यसपालि कोरोनालाई जित्न सकेन। मान्छेको भीडभाडमा संक्रमण जोखिम बढ्ने भएकाले न लिंगो ठडियो न रथ यात्रा नै भयो।
आठ रात नौ दिनको यो जात्रामा रथयात्रा, जिब्रो छेड्ने लगायत विभिन्न उत्सव हुन्छन्। मूल परम्परा भने यःसि उठाउने र ढाल्ने हो। नयाँ वर्षको अघिल्लो दिन ल्योसिङखलमा य:सि ठड्याइन्छ भने वैशाख १ गते ढालिन्छ। यसपालि सबै उत्सव सम्भव नभए पनि भैरवको मन्दिरमा सुनको यःसि प्रतीकका रूपमा ठड्याइयो।
करिब चार सय वर्षअघि काठमाडौंका राजा प्रताप मल्लले बिस्काःकै समय पारेर भक्तपुरमा आक्रमण गर्दा पनि यो जात्रा रोकिएको थियो। त्यो बेला प्रताप मल्लका सेना आएर यःसिं उठाउन नपाइने भन्दै घेराबन्दी गरेका थिए। टौमडीबाट रथ तानिए पनि ल्योसिङखलसम्म पुगेन।
यसपटक भने महामारीका कारण जात्रा सम्पन्न भएन। बन्दाबन्दैको रथको काम रोकियो।
बिस्काःको सम्झना मेटाउन केही साना केटाकेटीले बाँसको लिंगो ठड्याए। केहीले कृत्रिम रथ पनि गुडाए। कतिपयले सामाजिक सञ्जालमा पुराना तस्बिर र भिडिओ हालेर चित्त बुझाए।
काठमाडौंको दुखेसो पनि उस्तै छ।
२०७६ सालको अन्त्यतिरै दुई ठूला जात्रा पहाँःचह्रे र सेतो मच्छिन्द्रनाथ रथयात्रा कोरोनाकै कारण काठमाडौंले 'मिस' गर्नुपर्यो।
पहाँःचह्रे जात्रा चैत १० देखि १२ गतेसम्म मनाइन्थ्यो। स्थानीय नेवारहरूले दसैंपछिकै ठूलो मान्ने यो पर्व सामाजिक दुरी कायम गर्ने अभियानमा हुन सकेन।
पहाँःचह्रेमा अजिमा दिदी-बहिनी लुमरी अजिमा, कंग अजिमा र तेबहाल अजिमाको खटजात्रा हुन्छ। यसलाई कतिले 'पासा चह्रे' पनि भन्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना र पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डरअनुसार चौधौं दिनलाई भनिन्छ।
यो जात्रामा अजिमा दिदी–बहिनीहरूको खट जुधाएर एकअर्कालाई आदर र सम्मान प्रकट गरिन्छ। तीनै खटबाट चिलाख साटासाट हुन्छ। जात्रामा असनका घर–घरबाट चटामरी फाल्ने चलन छ। चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ।
त्यस्तै, चैत १९ देखि चैत २१ सम्म मनाइने सेतो मच्छिन्द्रनाथ (आर्यवलोकितिश्वर) रथयात्रा पनि कोरोना भाइरसका कारण स्थगित भयो।
सेतो मच्छिन्द्रनाथ जात्राको पहिलो दिन जमलबाट असनसम्म रथ तानिन्छ भने दोस्रो दिन असनबाट हनुमानढोका र तेस्रो दिन हनुमानढोकाबाट लगन पुर्याएर रथयात्रा टुंगिन्छ।
जनविश्वासअनुसार राजा यक्ष मल्लको शासनकालमा कान्तिपुरका जनता पवित्र नदीमा नुहाएर स्वयम्भूनाथ आउँथे। यसले मरेपछि स्वर्ग जान पाइन्छ भन्ने विश्वास थियो।
एकपटक यमराज (मृत्युका भगवान) लाई स्वयम्भूको शक्ति थाहा पाउन मन लागेछ। यहाँ आउने क्रममा राजा यक्षले उनलाई तान्त्रिक गुरूको सहायताले वशमा लिएछन् र अमर हुने वरदान मागेछन्।
यमराजले आफ्नो मुक्तिका लागि आर्यवलोकितिश्वरको प्रार्थना गरे। उनको प्रार्थनाले खुसी भएर सेतो वर्णका भगवान पानीबाट देखा परे। मुक्तिको बदलामा भगवानले कालिमाटी र बागमती नदी भेटिने ठाउँमा मन्दिर स्थापना गर्न माग गरे। त्यसैलाई आज 'जनबहाल' भनिन्छ भने मच्छिन्द्रनाथलाई 'जनबहादेः' (जनबहालका देवता) पनि भनिन्छ।
'जनबहादेः लाई करुणाको देवता मानिन्छ। सबैको कल्याण गर्ने हिसाबले मन्दिरबाट टाढा भएकालाई भगवान आफैं दर्शन दिन रथयात्रा गरेर टोलटोल पुगेको विश्वास छ,' काठमाडौंकी रैथाने एलिना तामाकारले भनिन्।
संस्कृति र सम्पदामा चासो राख्ने एलिना 'बाखं न्यने वा' (कथा सुन्न आउनुहोस्) समूहकी सदस्य हुन्। समूहले पुरानो पुस्ताबाट कथा सुनाउँदै, अभिलेख राख्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयत्न गर्दै आएको छ। प्रत्येक महिना हुने बाखं श्रृंखला लकडाउनकै कारण रोकिएको छ।
एलिनाका अनुसार यी दुई प्रमुख पर्वबाहेक लकडाउनले आउँदै गरेको सिठी नखः र देः पूजा (देवाली पूजा) पनि असर गर्ने देखिन्छ। त्यस्तै, सापारु (गाई जात्रा), गठेमंगल लगायतलाई पनि असर गर्ने छ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार यसबीच जात्रा रोकिए पनि त्यही साइतमा विधिवत् पूजा गरिएको छ। पछि क्षमा पूजा गर्नुपर्ने उनी बताउँछन्।
'जात्रा मनाउन नपाउँदाको दुःख एकातिर, कोरोनाको चिन्ता अर्कोतिर,' उनले भने, 'यस्तो अवस्थामा जोखिम मोलेर पनि त भएन। समय नै यस्तो छ।'
काठमाडौंले मुख्य पर्वहरू 'मिस' गर्ने क्रम फागु (होली) बाटै सुरू भएको थियो। पूर्णिमाको दिन फागु मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरूआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ।
अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु) फागु खेल्न छुट पाइन्छ। भक्तपुरमा पनि यही दिनबाट फागु सुरू हुन्छ।
किम्बदन्तीअनुसार फागु पर्वलाई कृष्णलीलाको चीरहरणसँग जोडेर हेरिन्छ।
वृन्दावनका गोपिनीहरू पोखरीमा निर्वस्त्र नुहाउन डुबुल्की मारिरहेका बेला कृष्णले उनीहरूका सबै वस्त्र रूखमा झुन्ड्याइदिन्छन्। गोपिनीहरूले आइन्दा त्यसरी ननुहाउने विलाप गरेपछि बल्ल लुगा फिर्ता पाउँछन्।
गोपिनी र कृष्णको यो प्रसंग नै फागुको चीर गाड्ने परम्परासँग जोडिएको हिन्दु महासंघका अध्यक्ष राजन मानन्धर बताउँछन्।
उनका अनुसार वसन्तपुरमा ठड्याइने चीरका ध्वजा गोपिनीका रंगिविरंगी वस्त्रका प्रतीक हुन् भन्ने मान्यता छ।
अष्टमीको दिन उभ्याइने चीरलाई पूर्णिमाको साइत पारेर घिसार्दै टुँडिखेल लगेर जलाइन्छ। त्यस क्रममा चीरको ध्वाजा लुछाचुँडी हुन्छ। त्यस ध्वजाले केटाकेटीको रुन्चे र अन्य रोग निको हुने धार्मिक मान्यता छ।
टुँडिखेलबीच चीर जलाएपछि फागु पर्व अन्त्य हुन्छ। चीर जलाएपछिको खरानी हारालुछ गरेर विभूतिका रूपमा घर लैजाने परम्परा छ।
पहिले इन्द्रचोक, भेडासिंतिरका मारवाडी साहु त्यो खरानी लिन मरिहत्ते गर्थे। उनीहरूले भोलिपल्ट त्यही खरानीको होली खेल्ने मानन्धरको भनाइ छ।
'तराईमा होलीलाई असत्यमाथि सत्यको विजयका रूपमा मनाइन्छ। त्यही भएर काठमाडौंमा चीर जलाएको भोलिपल्ट तराईमा होली खेलिन्छ,' मानन्धरले भने, 'तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाउनुको सार्थकता यही कुराले प्रस्ट्याउँछ।'
पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दहनको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।
सरकारले कोरोना भाइरसविरूद्ध सतर्कता अपनाउन '२५ जनाभन्दा बढी भेला नहुनू' भन्ने सूचना जारी गरेपछि यो पटकको फागु प्रभावित बनेको थियो। तै पनि फागु खेल्नेहरूले मास्क लगाएरै खेलेका दृश्य देखिन्थ्यो।
लकडाउनको अवधि लम्बिँदै दुई महिना नाघेको छ। कहिले खुल्ने हो निश्चित छैन। खुलेपछि पनि सामाजिक दुरी कायमै रहला। यस्तो स्थितिमा भीडभाड हुने भएकाले काठमाडौं उपत्यकाका धेरै जात्रा प्रभावित हुन सक्छन्।
जात्राबाहेक काठमाडौंले अरू पनि थुप्रै चिज मिस गरेको छ। तीमध्ये फिल्म हल, रंगमञ्च लगायत क्षेत्र अन्तिममा खुलाउने सरकारले बताएको छ। स्कुल, कलेज लगायत शैक्षिक क्षेत्र पनि ढिला खुल्नेछन्। त्यसैले केही स्कुल अनलाइन शिक्षातर्फ जुटेका छन्।
लकडाउन खुल्ला र सामान्य जीवनमा फर्किउँला भनेर सोच्नुभन्दा यो समय त भोग्ने हो, सामना गर्ने हो। त्यसबीच 'मिस' गर्नुपर्ने त धेरै कुरा छन्।
भन्नेहरू भन्छन्– विगतलाई बिर्सिदेऊ, वर्तमानमा रमाऊ र भविष्यको चिन्ता नलिऊ।
तर समय यस्तै छ। हामी विगतका क्षण सम्झँदै लकडाउनको समय काटिरहेका छौं। सामाजिक सञ्जालका भित्ता पुराना फोटा र सम्झनाले भरिएका छन्। कोरोनाको त्रासले वर्तमानमा रमाउने त कुरै भएन। त्यही पनि मन भुलाउन रचनात्मक गतिविधिप्रति मान्छेहरू अभिप्रेरित छन्।
अनि भविष्य?
सबभन्दा बढी चिन्ता यसैको छ। तै पनि सामान्य जीवनमा फर्किने आसमा सरकारको आदेश पालना गर्दै बसेका छौं।
सबै समयको कुरा न हो। यो समय पनि बितिजानेछ।