सरकारले विदेशमा अलपत्र नेपालीलाई ल्याउने निर्णय गरेपछि उनीहरूलाई कहाँ राख्ने भन्ने अन्यौल कायमै छ।
विदेशबाट आउनेलाई क्वारेनटिनमा राख्ने र उनीहरूको कोरोना परीक्षण गर्न समस्या हुने भएकाले सरकारले उनीहरूलाई ३ वटा महानगरमा राख्ने जनाएको छ।
‘सरकारले हामीले मात्र राख्न नसक्ने भयौं, काठमाडौं, पोखरा र भरतपुरले ५-५ हजार राखिदिनुपर्यो भनेका छ,’ पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने, ‘हामीले होटल खोज्दैछौं।’
पोखरा महानगरले विदेशबाट आउने नागरिक राख्न होटल एसोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चलका अध्यक्ष विकल तुलाचनसँग यसबारे छलफल गरेको छ। छलफलमा हान पश्चिमाञ्चल अध्यक्ष तुलाचनले क्वारेनटिनको मापदण्ड पुगेका होटल खोज्न महानगरलाई आग्रह गरे।
मेयर जिसीले २ देखि ३ हजार रुपैयाँ प्रतिव्यक्ति खर्च लाग्ने गरी होटल खोजिने बताए।
‘हामीलाई ५ हजार बेड चाहिएको छ,’ उनले सेतोपाटीसँग भने, ‘यसरी होटल क्वारेन्टिनमा बस्नेले खर्च आफैं बेहोर्नुपर्छ।’
उनले होटललाई क्वारेन्टिन बनाएर राख्दा बस्नेलाई पनि सुविधा हुने र संक्रमण फैलिन नसक्ने बताए।
हान अध्यक्ष तुलाचनले होटललाई क्वारेन्टिन बनाउन दिने कि नदिने सर्वाधिकार होटल सञ्चालकसँग नै रहने बताए।
‘होटल खोज्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी र क्वारेन्टिनको जिम्मा लिने सेना नै तातिनु पर्ने अवस्था छ,’ उनले भने,‘हामीले होटल सञ्चालकलाई दबाब दिन मिल्दैन।’
महानगरले बनाएको क्वारेन्टिनमा बस्नेको खर्च भने अहिलेसम्म महानगरले नै बेहोरेको छ। पोखरा महानगरमा अहिले २ ठाउँमा गरी १ सय ४८ जना अटाउने क्वारेन्टिन छन्। यी क्वारेन्टिनमा अहिले ५८ जना बसिराखेका छन्।
क्वारेन्टिनमा बस्नेलाई अहिले १ छाक सादा खानाको १ सय ४० रुपैयाँका दरले कुटी रिसोर्टबाट क्वारेन्टिनमा खाना पुर्याउने गरेको छ। पोखरा महानगरको वडा नम्बर ८, १३ र १८ नम्बरमा भने आफैं खाना बनाएर मजदुरलाई खुवाउने गरेको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए।
यसबाहेक भारत र अन्य देशबाट पोखरा भित्रिने नागरिकलाई राख्नका लागि सबै ३३ वटै वडामा क्वारेन्टिन बनाउन थालेको छ। प्रत्येक वडामा कम्तिमा ५० जना अटाउने गरी क्वारेन्टिन बनाउन लागेको महानगरका उपमेयर मञ्जुदेवी गुरूङले बताइन्।
यसरी महानगरका सबै वडामा गरी १६ सय ५० जना अटाउने क्वारेन्टिन बनाउन लागेको उनको भनाइ छ। महानगरले वडालाई क्वारेन्टिन बनाउन प्रतिबेड २ हजार ५ सय रुपैयाँ खर्च दिने जनाएको छ। १६ सय ५० वटा बेड बनाउँदा ४१ लाख २५ हजार खर्च लाग्छ।
पोखरा महानगरले लकडाउनपश्चात झण्डै ३३ हजार विपन्न तथा मजदुरका परिवारलाई राहत वितरण गर्दा ३ करोड २५ लाख बढी खर्च भइसकेको छ। यस्तै, अहिले सञ्चालनमा रहेका क्वारेन्टिन, उनीहरूको खर्चलगायत गर्दा ४ करोड बढी खर्च भइसकेको महानगरका सूचना अधिकारी पौडेलले बताए।