कोरोना लकडाउनले सबभन्दा बढी असर तिनलाई परेको छ, जो दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँथे।
तिनैमध्ये पर्छन्, तराईको मुसहर बस्तीका स्थानीय र भारतबाट फर्केका कामदार। उनीहरूसँग न किनेर खाने ठाउँ छ, न आम्दानीको बाटो।
बिहान-बेलुकी हातमुख जोर्ने समस्यामा परेका यस्ता समूहका लागि वीरगन्जको गैरसरकारी संस्था 'सानो पाइला' ले नि:शुल्क भोजन शिविर सुरू गरेको छ।
लकडाउनको तेस्रो दिनदेखि नै यो संस्थाले 'फिडिङ नेपाल' अभियानअन्तर्गत भोकै रहेका व्यक्तिलाई नि:शुल्क खाना वितरण गर्न थालेको हो।
वीरगन्जबाट सुरू यो शिविर जनकपुर र सिरहामा पनि सञ्चालन भइहेको छ। साथै, वीरगन्जका कोरोना संक्रमित बिरामीका लागि जेठ ८ देखि खाना वितरण गर्दै आएको सानो पाइलाका प्रवक्ता जयकुमार साहले जानकारी दिए।
'आइसोलेसनमा राखिएका बिरामीलाई अस्वस्थ खाना दिइरहेको र त्यहाँको व्यवस्था राम्रो नभएको गुनासो आएपछि हामीले अस्पतालको अनुमतिमा खाना खुवाउन थालेका छौं,' उनले भने, 'कोरोना संक्रमित बिरामीलाई खाजा-खाना गरेर दिनको चारपटक दिने गरेका छौं।'
विश्व स्वास्थ्य संगठनले कोराना बिरामीलाई खुवाउनुपर्ने पौष्टिक आहार भनी तोेकेका खाना नै आफूहरूले दिइरहेको उनले बताए।
प्रदेश सरकारले पनि जनकपुरमा रहेका बिरामीका लागि खाना वितरणको जिम्मा यही समूहलाई दिएको छ। सन् २००६ मा सञ्चालनमा आएको 'सानो पाइला' ले अहिलेसम्म थुप्रै सामाजिक कार्य गरिसकेको छ।
पहिलोपटक वीरगन्जमा सुधार केन्द्रका रूपमा सञ्चालन भएको यो संस्थाले अनाथ बालबालिकालाई शिक्षा र स्वास्थ्य सेवा दिनुका साथै बेचबिखनमा परेका महिलालाई उद्धार गरी रोजगार दिइरहेको छ।
प्रवक्ता साहका अनुसार नेपालका २२ जिल्लामा 'सानो पाइला' टोली सक्रिय छन्। २०७२ को भुइँचालो बेला पनि गोरखा पुगेर त्यहाँका पीडितलाई उद्धार गरेको उनी बताउँछन्।
अहिले लकडाउनको समय उनीहरूले ६ जिल्लामा काम गर्ने योजना बनाएका छन्। त्यसमा मुख्य जोड वीरगन्जमा दिइरहेका छन्।
'वीरगन्जमा कोरोना त्रास बढ्दै गए पनि कमजोर व्यवस्थापनका कारण सरकारले मात्र सबै हेर्न सकेको छैन। यस्तो बेला हामीले सहयोगको हात बढाउन खोजेका हौं,' उनले भने, 'हामीले लामो समयदेखि वीरगन्जमा काम गरिरहेकाले यहाँको अवस्था र समस्या नजिकबाट नियाल्न पाएका छौं। यस्तो बेला सबभन्दा पहिला ध्यान दिनुपर्ने गरिब र बेरोजगारहरूको निम्ति व्यवस्थित खानपिन हो।'
लकडाउन सुरू भएयता यो संस्थाले २५ हजारभन्दा बढीलाई खाना खुवाइसकेको छ। पकाउने जिम्मा 'सानो पाइला' अन्तर्गतकै सुधार केन्द्रका व्यक्तिहरूले लिएका छन्।
'जसलाई समाजले बहिष्कार गर्यो र कुनै पनि कामका लागि योग्य देखेन, अहिले उहाँहरू नै खाना पकाएर बाँडिरहनुभएको छ,' साहले भने, 'सिरहाको दलित बस्तीमा त्यहाँका महिलाहरूले नै खाना पकाउन सहयोग गर्दै हुनुहुन्छ। हामीले मास्क, पन्जा र अन्य पिपिई साधन प्रयोग गरेर खाना पकाउने र वितरण गर्ने व्यवस्था गरेका छौं।'
संस्थाले बिरामी र विपन्न समुदायलाई मात्र नभई जोकोहीलाई पनि खाना उपलब्ध गराइरहेको छ।
'यहाँका मानिसलाई कोरोनाको भन्दा भोकमरीको डर छ। यस्तो बेला एक-दुई वर्ग छुट्टयाएर खाना दिँदा न्याय हुँदैन,' उनले भने, 'काम नभएर यहाँका गाडी र रिक्सा चालकहरू पनि भोकै परेका छन्।'
वीरगन्ज, जनकपुर र सिरहामा कसैलाई खानाको अभाव छ वा भोकै बस्न बाध्य छन् भने आफूहरूलाई सम्पर्क गर्न उनले आह्वान गरे।
बुढानिलकण्ठ स्कुलका पूर्वविद्यार्थीको मुख्य आर्थिक सहयोगमा यो अभियान सुरू भएको हो। तर, त्यतिले मात्र खर्च धान्न पर्याप्त नभएको साहले बताए। केही स्थानीयले ग्यास र खाद्यान्न सामग्री उपलब्ध गराइरहेका छन् भने कतिपयले विदेशबाट बैंक र अनलाइनमार्फत् सहयोग पठाइरहेका छन्।
भोकमा परेकाले तल दिइएको नम्बरमा सम्पर्क गरी सेवा लिन सक्छन्:
वीरगन्ज– ९८६०६४२१२३ र ९८११२८७१२८
जनकपुरधाम– ९८६०९७९३५९ र ९८००८२१४९२
सुन्दरबस्ती, सिरहा– ९८४२८३९३१५ र ९८६१३४८६०६