बुधबार बेलुकासम्म वीरगन्जस्थित नारायणी अस्पतालबाट ९३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। निको हुनेमा चार महिने शिशुदेखि ७० वर्षसम्मका मानिस छन्।
अस्पताल बसाइक्रममा यीमध्ये कसैलाई पनि स्वास्थ्यमा खासै समस्या देखिएन। उनीहरू सामान्य रूपमा कोरोना संक्रमितलाई राखिने अस्पतालको आइसोलेसनमा बसे। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्याय भन्छन्, 'उहाँहरू कसैलाई पनि अक्सिजन दिनुपर्ने, आइसियू वा भेन्टिलेटरमा उपचार गर्नुपर्ने स्थिति आएन। सबै सामान्य अवस्थामै डिस्चार्ड हुनुभयो।'
उनले अस्पताल बसाइ क्रममा एक जना संक्रमितमा पनि ज्वरो, छाती दुख्नेजस्ता सामान्य लक्षणसमेत नदेखिएको बताए।
'केही संक्रमित मधुमेहका बिरामी हुनुहुन्थ्यो। उहाँहरूले पुरानै औषधी खानुहुन्थ्यो। तर थप समस्या नदेखिएकाले उहाँहरूलाई अरू औषधी दिनै परेन,' उनले भने।
अहिले नारायणी अस्पतालमा ९ जना संक्रमित उपचाररत छन्। उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर उपाध्यायले जनाए।
बाँकेमा पनि १२६ जना संक्रमित अहिले अस्पतालमा उपचाररत छन्। उनीहरूमा पनि कुनै लक्षण नदेखिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए।
'हामीले ७ देखि ७० वर्षका संक्रमितलाई अस्पतालमा भर्ना गर्यौं। तर उहाँहरू कसैलाई पनि अक्सिजन दिनुपर्ने वा आइसियूमा राखेर उपचार गर्नु परेन,' थापाले भने।
उनले खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसनमा रहेका केहीलाई भने छालामा एलर्जीको समस्या देखिएको बताए। त्यसबाहेक कुनै पनि आइसोलेसन वा क्वारेन्टिनमा रहेका संक्रमितमा समस्या देखिएको छैन।
नेपालमा बुधबार साँझसम्म ८८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। जसमध्ये पाँच जनाको मृत्यु भएको छ भने १८३ जना निको भएर घर फर्केका छन्।
अहिले पनि देशका विभिन्न अस्पतालको आइसोलेसन बेडमा ६९९ जना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये कसैलाई पनि अक्सिजन दिनु नपरेको, आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नु नपरेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले सेतोपाटीलाई बताए।
उनले भने, 'उहाँहरू कसैलाई पनि त्यस्तो गम्भीर समस्या देखिएको छैन। त्यस्तो भयो भने मन्त्रालयमा जानकारी आइहाल्छ।'
यसरी अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमण भएकाहरूमा गम्भीर स्वास्थ्य समस्या नदेखिनुमा दुइटा कारण हुनेसक्ने डाक्टर पोखरेल बताउँछन्।
पहिलो, अधिकांश संक्रमित कोरोनाको लक्षण नदेखिकनै आइसोलेसनमा आइपुगेका हुन्। उनीहरू कोरोनाको लक्षण देखिएर वा बिरामी परेर अस्पतालमा आएका होइनन्, संक्रमणको आशंकामा परीक्षण गर्दा कोभिड-१९ को पुष्टि भएका हुन्।
दोस्रो, समुदायमा कोरोनाको लक्षण देखिएर पनि अस्पतालसम्म नआइपुगेका बिरामी पनि हुन सक्छन्। उनीहरू जसै आइसोलेसनमा भर्ना हुने क्रम बढ्नेछ, उनीहरूमा गम्भीर समस्या देखिने वा अस्पतालनै भर्ना हुनुपर्ने, अक्सिजन दिनुपर्ने वा त्यो भन्दा गम्भीर परिस्थिति पनि आउन सक्छ।
'त्यसैले अहिले नै यही भनेर भन्न मिल्दैन,’ उनी भन्छन्।
संक्रमक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी पनि संक्रमण भर्खरै देखिन थालेकाले अहिले नै ढुक्क हुने अवस्था नरहेको बताउँछन्।
उनले भने, 'अमेरिकामा पनि सुरूमा यस्तै भएको थियो। तर मानिसहरू जब सिकिस्त बिरामी भएर अस्तपाल जचाउँन पुगे, तब मृत्युदर पनि ह्वात्तै बढ्यो।'
उनले नेपालमा थप परीक्षण गरेर समुदायस्तरमा व्यापक फैलिएको, नफैलिएकोबारे टुंगो नलाग्दासम्म हाम्रोमा भाइरसले कस्तो असर पार्छ भन्ने आँकलन गर्न नसकिने बताए।
लकडाउनका कारण धेरै मानिस घरै बसेकाले पनि समुदायमा भएका जेष्ठ नागरिक, दीर्घ रोगीहरू बाहिर सम्पर्कमा नपुग्ने भएकाले संक्रमणको असर नदेखिएको पनि हुनसक्ने उनको तर्क छ।
पछिल्लो दुई महिना नेपालको हावापानी पनि सफा भएको छ। यसले पनि केही सघाउ पुर्याएको हुनसक्ने उनको भनाइ छ। तर बाहिरको भाइरसभन्दा नेपालको कमजोर छ भनेर अहिले नै अनुमान गर्न उचित नहुने उनी बताउँछन्।
'अर्को भनेको हामी नेपालीको रोग प्रतिरोधात्मक क्षमता केही बढी भएकाले पनि संक्रमितलाई बढी असर नगरेको होला। तर यसमा पनि मलाई पूरै विश्वास छैन,' डा. सुवेदीले भने।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ। जसमा सिन्धुपाल्चोक, बारा, गुल्मी, बाँके र ललितपुरका एक-एक जना छन्।
चार जनामा भने मृत्युपछि मात्र कोरोना पुष्टि भयो। गुल्मी मदानेका पुरूषमा मात्र कोरोना पोजेटिभ देखिएपछि पछि मृत्यु भएको हो।
यीमध्ये सिन्धुपाल्चोक, गुल्मी र बाँकेका मृतकमा श्वासप्रश्वासको समस्या देखिएको थियो। ललितपुरमा बुधबार मृत्यु भएका बिरामी कलेजोका गम्भीर बिरामी थिए।
बाराका वृद्धमा भने ज्वरो र खोकीमात्र देखिएको परिवार स्रोतको भनाइ छ। सिन्धुपाल्चोककी मृतक भने ९ दिनकी सुत्केरी थिइन्। बाँकेका युवकले मृत्युअघि बान्ता पनि गरेका थिए।
अहिलेसम्मको स्थिति हेर्दा विश्वका अरू देशको तुलनामा नेपालमा कोरोना संक्रमितको मृत्युदर पनि एकदमै कम छ।
बिहीबार बिहानसम्मको तथ्यांक हेर्दा विश्वमा संक्रमितको मृत्युदर ६ प्रतिशत देखिन्छ। अर्थात, कोरोना भाइरस लागेका १०० जनामध्ये ६ जनाको मृत्यु भएको छ। फरक-फरक देशमा मृत्युदर फरक छ।
उदाहरणका लागि यो भाइरस सुरू भएको चीनमा यसको मृत्युदर ५.६ प्रतिशत थियो। अमेरिकामा संक्रमण धेरै भए पनि मृत्युदर चीनकै हाराहारीमा छ। अहिलेसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको मृत्युदर ५.८ प्रतिशत छ।
भारतमा भने विश्वको औसतभन्दा मृत्युदर झण्डै एक तिहाइमात्रै छ। बिहीबार बिहानसम्म भारतको मृत्युदर २.८ प्रतिशतमात्रै छ।
नेपालको कोभिड-१९ को मृत्युदर झनै कम छ। बुधबार साँझसम्म ८८६ जना संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ। यस हिसाबले हाम्रोमा मृत्युदर ०.५६ प्रतिशत मात्र छ। अर्थात संसारको औसतको दश प्रतिशतभन्दा पनि कम।
संक्रमण संख्या बढ्दै जाँदा गम्भीर बिरामी हुनेको संख्या र मृत्युदर पनि बढ्ने विज्ञहरूको भनाइ पक्कै महत्वपूर्ण छ। तर भारतको मृत्युदरले हाम्रा लागि केही सुखद संकेत भने गर्छ।
भारतमा संक्रमित संख्या ८२७ पुग्दा १९ जनाको मृत्यु भएको थियो भने एक हजार पुग्दा २७ जनाको मृत्यु भएको थियो। अर्थात संक्रमित संख्या एक हजार हुँदा मृत्युदर २.७ प्रतिशत थियो। बिहीबार संक्रमितको संख्या साढे एक लाख पुग्दा पनि मृत्युदर २.८ प्रतिशतमात्रै छ।
यसरी भारतमा संक्रमण एक हजारबाट डेढ लाख पुग्दासम्म कोरोना भाइरसबाट हुने मृत्युदरमा खासै परिवर्तन भएको छैन। हाम्रोमा पनि संक्रमण बढ्दै जाँदा मृत्युदर अहिलेजस्तै स्थिर रहन सक्छ।
तर यो निष्कर्षमा पुग्न हतार गर्ने बेला भने होइन। झनै लापरबाही गर्ने बेला त पक्कै हैन।
आउने दिनहरुमा लकडाउन खुकुलो हँदै जाँदा मुख्य रूपमा वृद्धवृद्धा र दीर्घ रोग भएकाहरूलाई संक्रमणबाट जोगाउन सक्यौं भने मृत्युदर पक्कै कम गर्न सकिन्छ।