राजश्व प्रशासनका क्याडर लक्ष्मण अर्याल स्वास्थ्य मन्त्रालयको सचिव बनेका छन्।
प्रधानमन्त्री कार्यालयबाट सरूवा गरेर अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।
लामो समय राजश्व प्रशासन सम्हालेका अर्याल इमान्दार नैतिकवान सचिवका रूपमा चिनिन्छन्।
ठूला व्यापारिक घरानाका नक्कली भ्याट बिल छानबिन गरेका अर्यालले एनसेलसँग पुँजीगत लाभकर उठाउन राजश्व विभाग प्रमुखका रूपमा भूमिका खेलेका थिए। त्यस्तै काठमाडौं महानगरपालिकाको सुधारमा समेत अर्यालले भूमिका खेलेका थिए।
‘सचिव अर्यालको कार्यक्षमता र स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै छनौटका आधारमा उनलाई स्वास्थ्यमा लगिएको हो,’ प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक सदस्यले सेतोपाटीसँग भने।
सहसचिवबाट सचिवमा बढुवा भएपछि अर्याल गण्डकी प्रदेशको प्रमुख सचिव भएर पोखरा गएका थिए। त्यसपछि उनी योजना आयोगमा सरूवा भए। पछिल्लो पटक उनी प्रधानमन्त्री कार्यालयमा सचिव थिए। प्रधानमन्त्री कार्यालय आएपछि कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर निर्माण गर्दा उनले संयोजनको काम गरेका थिए।
अर्थ मन्त्रालयमा राजश्व महाशाखा प्रमुख रहेर काम गरेका उनी अर्थ सचिवको प्रतिस्पर्धामा पनि थिए। तर अर्थमन्त्री युवराज खतिवडाले शिशिर ढुंगानालाई अर्थ सचिवका रूपमा छाने।
अर्याललाई अर्थ मन्त्रालयमा पूर्वअर्थ सचिव रामेश्वर खनालले ‘ग्रुम’ गरेका क्याडरका रूपमा चिनिन्छ।
पूर्वअर्थ सचिव खनालले अर्याल कोरोना महामारी सुरूभएलगत्तै नै स्वास्थ्य मन्त्रालय पठाउनु पर्ने मानिस भएको बताए।
'सिएमसिसीको सिष्टम बनाउन पनि उसले काम गर्यो। तर एक महिनापछि त्यहाँ राखेनन् उसलाई। अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पठाउनलायक मान्छे हो ऊ,' उनले भने, 'भ्याट छलीको त्यत्रो अनुसन्धानमा कसैको दबाब र प्रभावमा नपरी काम गरेको थियो। अहिले कोरोना महामारीको यस्तो अवस्थामा उसले राम्रो व्यवस्थापन गर्न सक्छ भन्ने मलाई लाग्छ।'
अहिलेको स्वास्थ्य सचिवजस्तो चाहिने हो अर्यालमा त्यो गुण भएको उनले बताए।
'व्यवस्थापनको क्षमतासँगै अहिलेको स्वास्थ्य सचिवमा इमान्दारी पनि आवश्यक हुन्छ। लक्ष्मणमा दुवै गुण छन्,' उनले भने।
सरकारले यस वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। नयाँ बजेटको कार्यान्वयनका लागि सरकारले अर्याललाई जिम्मेवारी दिन लागेको हो।
स्वास्थ्य मन्त्रालयका हालका सचिव यादव कोइरालाको कामसँग सरकार सन्तुष्ट थिएन। कोरोना भाइरससँगको लडाइँको बीचमा उनलाई स्वास्थ्यबाट हटाएर प्रधानमन्त्री कार्यालय तानिएको हो।
कोइरालाको कर्मचारीसँग झर्कने र हकार्ने शैलीको आलोचना भएको थियो। इमानका हिसाबले कोइरालालाई कसैले खोट नलगाए पनि व्यवस्थापकीय क्षमता र काम फच्चे गर्ने जाँगर धेरै नभएको भनेर उनको आलोचना हुने गरेको थियो।
स्वास्थ्य मन्त्रलायका कर्मचारीसमेत कोइरालाप्रति रूष्ट थिए। कहिल्यै स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित भएर काम नगरेका कोइरालाले स्वास्थ्य क्षेत्रको जटिलता नबुझेको आरोप कर्मचारीको थियो। उनीमाथि मन्त्रीलाई समेत आफ्नो इशारामा चलाएको आरोप कर्मचारीले लगाउँदै आएका थिए।